भारतविरुद्धको ऐतिहासिक जितमा पाकिस्तानी मिडियामा हर्षोल्लास

काठमाडौँ । भारतले आइतबार पाकिस्तानसँग विश्वकप क्रिकेटमा पहिलो हार व्यहोर्‍यो । विश्वकपमा १२ भेटसम्म हराउन नसकेको पाकिस्तानले भारतलाई १० विकेटले हरायो । यो भारतले व्यहोर्नुपरेको सबैभन्दा ठूलो हारसमेत थियो ।

खेल सकिनासाथ मैदानमा धेरै बेरसम्म खेलाडीले खुसी मनाए भने सामाजिक सञ्जालमा तत्कालैदेखि पाकिस्तानलाई बधाई दिनेको ओइरो नै लाग्यो । भारतसँग पाकिस्तानको खेलले सधैँ चर्चा हुने गर्छ । त्यसमा पनि आइतबारको खेलमा पाकिस्तानले हात पारेको जित चर्चा गर्न योग्य नै भएको क्रिकेट विश्लेषकहरूको पनि भनाइ छ ।

पाकिस्तानमा जितको भव्य उत्सव भएको छ । पाकिस्तानका पूर्वक्रिकेट कप्तान समेत रहेका प्रधानमन्त्री इमरान खानले आफूले टीभीमा क्रिकेट हेर्दै गरेको तस्बिर राखेर पाकिस्तानी टीमलाई बधाई दिएका छन् । ट्वीटमा बधाई दिएका उनले बाबर आजम, मोहम्मद रिजवान र साहिन शाह अफ्रिदीलाई विषेश धन्यवाद दिएका छन् ।

ट्वीटरमा बाबरका पिताको भनिएको एक भिडियो पनि सार्बजनिक भएको छ । खेल हेरिरहेका उनी जित पछि खुशीले भक्कानिएका छन् ।

पाकिस्तानी मिडियामा भारतसँगको जितको हर्सोल्लास छाएको छ । एक्सप्रेस ट्रिब्युनले पाकिस्तानको ‘ऐतिहासिक जित’ भन्दै हेडलानइन बनाएको छ । उसले पाकिस्तानीहरूले ट्विटरमा देखाएको उत्साहको समेत समाचार बनाएको छ । यस्तै पाकिस्तानको अखबार डनले भारत पाकिस्तान खेल हुनुअगावै पाकिस्तानले जित्न सक्ने पाँच कारणबारे समाचार बनाएको थियो ।

समाचारमा पाकिस्तानले जित्न सक्ने पाँच कारणमा पहिलो कारण भनिएको थियो- दुबईको अन्तरराष्ट्रिय क्रिकेट रंगशालामा पाकिस्तानको अनुभव । पाकिस्तानले २५ खेल उक्त रंगशालामा खेलेको‚ तर भारतले नखेलेको उल्लेख गरिएको छ । दोस्रो कारण, बाबर र रिजवानको ओपनिङ साझेदारी । उनीहरूको जस्तो शक्तिशाली ओपनिङ साझेदारी भारतसँग नभएको डनले लेखेको छ । तेस्रो कारण, भारतीय टिममा महेन्द्र सिंह धोनी वा उनीजस्तै खेलाडीको अभाव । चौथो, भारतीय कप्तान विराट कोहोलीमा जित्नैपर्ने दबाब । पाँचौं, टी-ट्वेन्टी क्रिकेटमा केहि समयमात्रै दबदबा कायम राख्दा जित हुने हुनाले पाकिस्तान आशावादी ।

विजय भएपछि डनले भारतले हार्ने भनेर खिल्ली उडाए पनि पाकिस्तानले जितेको हेडलाइन बनाएको थियो । सन् १९९२ बाट सुरु भएको टी-ट्वेन्टी क्रिकेट विश्वकपमा पहिलोपटक भारतलाई हराएको भन्दै डनले धेरै समाचार बनाएको छ । पाकिस्तानका तमाम घरेलु समस्या बिर्सिएर जितको उत्सव मनाउन पाकिस्तानलाई बहाना भएको डनले लेखेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *