राष्ट्रियसभाबाट बिदा हुनेमा एमाले सांसद धेरै (सूचीसहित)

काठमाडौँ । आगामी फागुन २० गतेबाट राष्ट्रियसभाका २० सदस्य (सांसद) बिदा हुँदै छन् । बिदा हुनेमा सबैभन्दा धेरै सांसद प्रमुख प्रतिपक्षी नेकपा एमालेका छन् । नेकपा एमालेका ८, नेकपा माओवादी केन्द्रका ४, नेकपा (एकीकृत समाजवादी) का ४, नेपाली काँग्रेसका ३ र मनोनीत एक सांसदका बिदा हुनेछन् ।

एमालेका सांसदहरू सुमनराज प्याकुरेल, परशुराम मेघी गुरुङ, कोमल वली, कविता बोगटी, चक्र स्नेही, नैनकला ओझा, रामलखन चमार र अगम वान्तवा राई बिदा हुँदै छन् । प्याकुरेल राष्ट्रिय सभामा एमाले संसदीय दलको नेता हुन् । गुरुङ विधायन व्यवस्थापन समितिका सभापति हुन् ।

माओवादी केन्द्रका, शशिकला दाहाल, दीनानाथ शर्मा, जीवन बुढा र खिमकुमार विक बिदा हुँदै छन् । दाहाल राष्ट्रिय सभामा उपाध्यक्ष छिन भने शर्मा राष्ट्रिय सभामा माओवादी केन्द्रका संसदीय दलका नेता हुन् ।

नेकपा एकीकृत समाजवादीमा रहेका ठगेन्द्रप्रसाद पुरी, शेरबहादुर कुँवर, उदया शर्मा पौडेल र शान्तिकुमारी अधिकारी पनि बिदा हुँदै छन् । यी चारै जना नेकपा एमालेका तर्फबाट निर्वाचित भएका थिए । एमाले विभाजन हुँदा चार जनाले नेकपा एकीकृत समाजवादी रोजेका हुन् ।

यस्तै, नेपाली काँग्रेसका राधेश्याम अधिकारी, तारादेवी भट्ट र दीर्घनारायण पाण्डे बिदा हुँदै छन् । अधिकारी राष्ट्रिय सभामा काँग्रेस संसदीय दलका नेता हुन भने भट्ट दिगो विकास तथा सुशासन समितिकी सभापति हुन् । अर्का मनोनीत सांसद रामनारायण बिडारी पनि बिदा हुँदै छन् ।

२०७४ साल फागुनमा भएको पहिलो निर्वाचनबाट निर्वाचित भएका ५९ सदस्यको गोला प्रथाबाट कार्यकाल तय गरिएको थियो । जसमध्ये २ वर्ष कार्यकालको गोला तान्नेहरू अघिल्लो वर्ष नै बिदा भएका थिए भने ४ वर्ष तान्नेहरू आगामी फागुन २० गतेबाट बिदा हुन लागेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *