किन अरु दलका नेता भेटिरहेको छ विवेकशील साझाको पाण्डे-दाहाल पक्ष ?

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र विवेकशील साझा पार्टीको मिलन पाण्डे पक्षबीच गत साता भेटघाट भयो । भेटमा संयोजक पाण्डेसँगै नेता केशव दाहाल, बागमती प्रदेश सभाका सदस्य रमेश पौडेल र नेता हरिश भट्टलगायत सहभागी थिए ।

त्यसअघि, यो पक्षले जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईलाई पनि भेटेको थियो । र, अरु दलका नेताहरुलाई पनि भेट्ने योजना बनाइरहेको नेताहरुले बताएका छन् । ‘अझै केही नेताहरूसँग भेटघाट गर्दैछौँ,’ एक नेताले मकालुखबरसँग भने, ‘तर, खाली राजनीतिक कुराकानीको लागि मात्रै भेटघाट गरेका हौँ र गर्नेछौँ ।’

अध्यक्ष नेपालसँगको भेटमा नेपालले आफ्नो पार्टीमा आउन आग्रह गरेको बताउने गरिए पनि पाण्डे पक्षले भने त्यसलाई अस्वीकार गरेको छ । भेटमा सहभागी नेता दाहाल भन्छन्, ‘यो खाली एउटा नियमित भेटघाटजस्तै थियो । पार्टी प्रवेश, एकता वा एउटै पार्टी बनाएर अगाडि बढ्ने कुनै कुराकानी नै भएन ।’ उनले थपे—‘राष्ट्रिय राजनीतिबारे केही कुराकानी भएपनि पार्टी प्रवेश, एकता वा एउटै पार्टीमा समाहित हुने विषयमा बातचीत भएन ।’

पाण्डे पक्षले नेपाललाई ‘नयाँ पार्टी बनाएँ भन्नुहुन्छ, कांग्रेस–एमालेभन्दा नयाँ के छ तपाईंको पार्टीमा ?’ भनेर सोधेको थियो । जवाफमा नेपालले आफू त्यही दिशामा अगाडि बढिरहेकाे बताएका थिए ।

विवेकशील साझा पार्टीमा अहिले दुई कित्ता छुट्टिएको छ । खासगरी अध्यक्ष रवीन्द्र मिश्रले मार्ग परिवर्तन नाम दिएर संघीयता र धर्मनिरपेक्षाबारे जनमत संग्रह गर्नुपर्ने प्रस्ताव सार्वजनिक गरेपछि पार्टीमा सैद्धान्तिक मतभेद देखिएको हो ।

दोस्रो चोटी पुनःएकता गरेर साझा र विवेकशील पूर्ववत् अवस्थामै फर्किने सम्भावनासमेत बढेको आकलनहरु भइरहेका बेला पाण्डे-दाहाल पक्षले विभिन्न दलका नेताहरुलाई भेट्ने क्रम थालेको हो । जसलाई अर्थपूर्णा रूपमा लिइएकाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *