संसद् : १६ दिनपछि बस्याे, १८ दिन स्थगित भयाे

काठमाडौँ । प्रतिनिधि सभाको बैठक १८ दिनका लागि स्थगित भएको छ । बिहीबार बसेको प्रतिनिधि सभाको बैठकमा सभामुख अग्निप्रसाद सापकाेटाले गजेन्द्रबहादुर हमालले उद्योगमन्त्रीबाट दिएको राजीनामाबारे राष्ट्रपतिको कार्यलयबाट प्राप्त पत्र वाचन गरेर सुनाएका थिए ।

यस्तै प्रधान मन्त्री शेरबहादुर देउवाको तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन पेश गरेका थिए । त्यसलगत्तै सभामुख अग्निप्रसाद सापकोटाले सांसदहरूको अनुपस्थितिको सूचना स्वीकृतिका लागि प्रस्तुत गरे ।

सांसद झलनाथ खनाल, कर्मा घले र प्रदीप गिरी बिरामी भएर १३ वटा बैठकमा अनुपस्थित भएको सूचना सभामुखले प्रस्तुत गरेपछि सभाले स्वीकृत गरेको छ । यसपछि सभामुख सापकोटाले बैठक १८ दिनका लागि स्थगित भएको जानकारी सदनलाई गराए । यसअघि बैठक असाेज २५ गते बसेकाे थियाे ।

बैठकमाले प्रमुख प्रतिपक्षी दल एमालेले भने नाराबाजी कायमै राखेको थियो । गत भदौ २३ गतेयता नै संसद्‌मा नाराबाजी गर्दै आएको एमालेले आज पनि नाराबाजी कायमै राखेको थियाे ।

एमालेले नाराबाजी कायमै राखेपछि सभामुख सापकोटाले पुरानै शैलीमा पुरानै विषय स्मरण गराए । यद्यपि एमाले सांसदहरूले नाराबाजी गर्न छाडेनन् । एमालेले खासगरी खासगरी माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीलाई संसद्‌मा प्रवेश नदिनुपर्ने बताउँदै आएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *