विवेकशिल साझाको विवाद

मिश्रले राजावादी पार्टीको घोषणा गरेको पाण्डे पक्षको आरोप

काठमाडौँ । विवेकशील साझा पार्टीको संयोजक मिलन पाण्डे पक्षले अध्यक्ष रवीन्द्र मिश्रले दोस्रो पटक पार्टी फुटाएको बताएको छ । बिहीबार बसेको केन्द्रीय समिति बैठकले अध्यक्ष मिश्रको ‘मार्ग परिवर्तन’ को दस्ताबेज पारित गरेपछि पाण्डे पक्षले यस्तो बताएका हो । ‘उहाँ (मिश्र) ले दोस्रो पटक पार्टी फुटाउनुभयो,’ संयोजक पाण्डेलाई उद्धृत गर्दै केन्द्रीय सदस्य हरिश भट्टले भने, ‘एकता जोगाउन सकिएन ।’

भट्टले एकलौटी रूपमा गुटको बैठकले दस्ताबेजहरू पारित गरेर नहुनेसमेत बताएका छन् । ‘जूममा बैठक बोलाएर दस्ताबेज पारित भयो है भनेर हुँदैन,’ भट्टले भने, ‘यस्तो गुटबाट गरिएका कुनै पनि निर्णय मान्य हुँदैनन् । त्यहाँ ९१ जना नै भएपनि केही हुँदैन । पार्टीको वैधानिक बैठकले नै यस्तो पार्टीको निर्णयहरू गर्ने हो । गुटको बैठकले निर्णय गरेर हुँदैन । यो अवैधानिक हुन्छ ।’

०७७ मंसिरमा एकता भएको बेला ‘पूर्वसाझा पार्टीको अध्यक्ष एकतापछिको पार्टीको अध्यक्ष हुने र पूर्वविवेकशीलको अध्यक्ष एकतापछिको पार्टीको संयोजक हुने’ भन्ने सम्झौता/विधान भएको र उक्त सम्झाैतालाई कुल्चिँदै अध्यक्ष मिश्रले एकलाैटी बैठक राखेकाे टिप्पणी गर्दै भट्टले भने, ‘यहाँ त संयोजकको कुनै मञ्जुरीनामा नै छैन । यसरी एकलौटी काम कहिलेसम्म चल्छ ? यसरी पार्टी हुँदैन । हामीले रवीन्द्रजीलाई पनि धेरै पटक भन्यौँ । विधानले नै भन्छ, एकतर्फी रूपमा पार्टी चल्दैन । उहाँले आज जे गर्नुभयाे, त्याे राजावादी पार्टीकाे घाेषणा हाे । उहाँले पार्टीलाई राजावादी बनाउनुभयाे ।’

संयोजक पाण्डेले एकलौटी निर्णय गरेर मात्रै नहुनेसमेत बताएका छन् । गुटको बैठकबाट गरिएको निर्णयलाई निर्वाचन आयोगले मान्यता नदिने स्मरण गराउँदै पाण्डेले यस्तो बताएका हुन् । पाण्डेलाई उद्धृत गर्दै भट्टले भने, ‘निर्वाचन आयोगमा हामीले निवेदन दिइसकेका छौँ । प्रमुख आयुक्तज्यूले एकलौटी ढङ्गले गरिएको निर्णयलाई मान्यता दिँदैन आयोगले भनेर भन्नुभएको छ । याे खाली एउटा निर्णय मात्रै हाे । झाकाे मार्ने काम हाे ।’

अध्यक्ष मिश्रले गत साउन ११ गते संघीयता खारेज हुनुपने र धर्मनिरपेक्षताबारे जनमत संग्रह गर्नुपर्ने दस्ताबेज ल्याएका थिए । उक्त दस्ताबेजलाई काउन्टर दिँदै पाण्डेसँगै नेता केशव दाहाल, रञ्जु दर्शनालगायतका नेताहरूले अध्यक्ष मिश्रको दस्ताबेजको कटाक्ष गरेका थिए ।

त्यसपछि आन्तरिक सन्तुलन गुमाएको विवेकशील साझा अब फुटको संघारमा पुगेको छ । दोस्रो पटक गत मंसिरमा एकतामा बाँधिएका साझा पार्टी र विवेकशील पुनः पूर्ववत् अवस्थामा फर्किने सम्भावनासमेत उच्च बनेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *