अध्यक्षलाई कारबाही गर्न पाण्डे पक्षद्वारा अनुशासन आयोग गठन

काठमाडौँ । विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डे पक्षले पार्टी अध्यक्ष रवीन्द्र मिश्रलाई कारबाही गर्न अनुशासन आयोग बनाएको छ । शुक्रबार बसेको पाण्डे पक्षको बैठकले अध्यक्ष मिश्रलाई कारबाही गर्न आयोग बनाएको हो । सो विषयको जानकारी आजकै बैठकबाट प्रवक्ताको भूमिका पाएका हरीशप्रसाद भट्टले जानकारी दिए ।

बैठकले पार्टीमा अनुशासन उल्लंघन गर्नेमाथि छानबिन गरी दोषीलाई कारबाही गर्न आशुतोष तिवारी प्रमुख रहेको न्याय तथा सुशासन आयोग गठन गर्ने निर्णय गरेको प्रवक्ता भट्टले बताए । ‘पार्टीमा देखिएको यो सङ्कट र समस्याको सुरुवात पार्टी अध्यक्षले नै गरेको ठहर गर्दै यो बैठक पार्टी अनुशासन उलङ्घनका तमाम घटनाहरूलाई रोक्न, सुसंस्कृत राजनीतिको हाम्रो मुख्य अभिष्टलाई बचाउन र जो जोबाट अनुशासन उलङ्घनका घटनाहरू भएका छन्, सोमाथि छानबिन गरी दोषीलाई कारबाही गर्न पार्टी विधान दफा २९.२ बमोजिमको आशुतोष तिवारी प्रमुख रहेको न्याय तथा सुशासन आयोग गठन गर्ने निर्णय गरिएको छ,’ बैठकको निर्णयमा भनिएको छ ।

यस्तै आयोगलाई कार्यविधि बनाएर पछिल्लो पाँच महिनाको अनुशासन उल्लंघनका घटनाहरूको एक हप्ताभित्र अनुसन्धान गर्ने, अभिलेखन गर्ने र सोहीअनुसार कारबाही प्रक्रिया अगाडि बढाउने जिम्मेवारी दिइएको छ ।

यसअघि बिहीबार बसेको मिश्र पक्षको बैठकले ‘मार्ग परिवर्तन’ को दस्ताबेज पारित गरेको थियो । त्यसपछि थप चिढिएको पाण्डे पक्षले यस्तो आक्रामक निर्णय गरेको हो । योसँगै विवेकशील साझा पार्टी दोस्रो पटक फुट्ने सम्भावना बढेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *