वेस्ट इन्डिजको रोमाञ्चक जित, बंगलादेश बाहिरियो

काठमाडौँ । टी-ट्वेन्टी विश्वकपमा वेस्ट इन्डिजले पहिलो जित निकालेको छ । शुक्रबारको खेलमा बंगलादेशमाथि ३ रनको रोमाञ्चक जित हात पार्दै वेस्ट इन्डिजले सेमिफाइनलको गणितीय सम्भावना कायम राखेको हो । वेस्ट इन्डिजको यो तेस्रो खेलमा पहिलो जित हो । हारसँगै बंगलादेश भने प्रतियोगिताबाट बाहिरिएको छ ।

टस हारेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले ७ विकेट गुमाएर १४२ रनको मध्यम स्कोर तयार गर्‍यो । तर बंगलादेशी ब्याट्सम्यानले लक्ष्य पूरा गर्न सकेनन् । अन्तिम बलमा ४ रन चाहिएको अवस्थामा वेस्ट इन्डिजका ड्वेन ब्राभोले डट बल फालेपछि बंगलादेशको आसा समाप्त भयो ।

यद्धपि पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले आफ्ना स्टार खेलाडीका बाबजुत फेरि एकपट सामान्य प्रदर्शन मात्र गर्न सक्यो । ओपनर क्रिस गेल ४ तथा इभिन लेविस ६ रनमा आउट हुँदा रोस्टन चेसले केही समय धानेका थिए ।

तेस्रो नम्बरमा ब्याटिङ गरेका चेसले ४६ बलमा ३९ रन बनाए । वेस्ट इन्डिजलाई मध्यम स्कोरमा पुर्‍याउन निकोलस पुरनले विस्फोटक इनिङ खेले । उनले २२ बलमा ४४ रन बनाए । थप दोहोरो रनको स्कोरका रुपमा केरोन पोलार्ड १४ रनमा अविजित रहँदा ज्यासन होलडरले ५ बलमा १५ रन बनाउँदै क्रिजमै रहेका थिए।

बंगलादेशका लागि मेहेदी हसन, मुस्ताफिजुर रहमान तथा सोरिफुल इस्लामले समान २-२ विकेट लिए ।

१ सय ४३ रनको लक्ष्य पछ्याएको बंगलादेश पनि खराव ब्याटिङको सिकार भयो । उसका लागि लिटन दास र कप्तान महमुदुल्लाहले  पाँचौ विकेटका लागि ४० रनको साझेदारी गर्दै खेलमा बंगलादेशलाई फर्काए ।

तर लिटन दास ४४ रनमा ब्राभोको बलमा ज्यासन होल्डरद्धार बाउन्ड्रीमा क्याच आउट भएपछि बंगलादेश दबाबमा परेको थियो। यद्धपि कप्तान महमुदुल्लाहले अन्तिमसम्म आशा कायमै राखे। उनले २४ बलमा ३१ रन बनाए । तर अन्तिम बलमा भने उनले रन जोड्न सकेनन् ।

बंगलादेशका ओपनर मोहमद नइमले १७ रन बनाउँदा सकिब अल हसनले ९ रनमा आउट भए । त्यस्तै सोम्य सरकारले१७ र मुस्फिकुर रहमानले ८ रन बनाए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *