बेलायती मित्रहरूको सद्‌भाव र ऐक्यबद्धताबाट उत्साहित छु : प्रधान मन्त्री

काठमाडौँ – प्रधान मन्त्री शेरबहादुर देउवाले नेपालप्रति बेलायतले प्रदर्शन गरेको सद्भाव र ऐक्यबद्धताबाट आफू उत्साहित भएको बताएका छन् । ग्लास्गोमा भोलि हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय खाका संरचना महासन्धिको पक्षराष्ट्रको २६औँ सम्मेलन (कोप-२६) मा भाग लिने सिलसिलामा लण्डनमा रहेका उनले नेपालप्रतिको बेलायती सांसदहरूले देखाएको सद्भाव र शुभेच्छाबाट प्रोत्साहित भएको बताए ।

नेपालका लागि सर्वदलीय संसदीय समूह र बेलायत-नेपाल व्यापार तथा लगानी मञ्चले उनको सम्मानमा शनिबार आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्रीले कठिन समयमा पनि नेपाललाई साथ दिएकामा बेलायती सांसदहरूप्रति आभार व्यक्त गरेको लण्डनस्थित नेपाली दूतावासले जनाएको छ ।

विभिन्न अवसरमा बेलायतको संसद्‍मा नेपालप्रति व्यक्त गरेको सद्भाव र ऐक्यबद्धताबाट आफू उत्साहित भएको बताउँदै प्रधानमन्त्री देउवाले कठिन समयमा प्रस्तुत सद्भाव र ऐक्यबद्धताले नेपालका असल मित्रहरू रहेका विषयको सुखद स्मरण गराउने बताए ।

सर्वदलीय संसदीय समूहका अध्यक्ष वीरेन्द्र शर्मा, उपाध्यक्ष लर्ड शेख, लगानी मञ्चका अध्यक्ष लर्ड ल्याङकास्टर र सांसद क्याथरिन वेस्टले बेलायत-नेपाल सम्बन्धका विविध पक्षबारे मन्तव्य व्यक्त गरेका थिए ।

आजै प्रधान मन्त्रीले भूतपूर्व गोर्खा सङ्गठनका प्रतिनिधिहरूलाई भेट्नेछन् भने लण्डनस्थित नेपाली दूतावासका कार्यवाहक राजदूत रोशन खनालले आयोजना गर्नुहुने स्वागत समारोहमा उनी सहभागी हुने कार्यक्रम रहेको दूतावासले जनाएको छ । आजै प्रधान मन्त्री एडनबरा हुँदै अपराह्न स्कटल्याण्डको ग्लास्गो पुग्‍नेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *