भारतको अर्को हार, समुह चरणबाटै बाहिरिने खतरा

काठमाडौँ । युएइमा जारी टी-ट्वेन्टी विश्वकपको आयोजक भारत प्रतियोगिताको समुहचरणबाटै बाहिरिने खतरा बढेको छ । आइतबार भएको आफ्नो दोस्रो खेलमा न्युजिल्यान्डसँग ८ विकेटको फराकिलो हारपछि भारतको प्रतियोगिताको सेमिफाइनल संभावना अब गणितीय रुपमा मात्र बाँकी छ ।

यसअघि पहिलो खेलमा भारत पाकिस्तानसँग १० विकेटले पराजित भएको थियो । टस हारेर पहिले ब्याटिङ गरेको भारत २० ओभरमा सात विकेट गुमाएर मात्र ११० रन  बनाउन सक्यो । सातौं नम्बरमा ब्याटिङका लागि आएका रविन्द्र जडेजाको २६ रन सर्वाधिक रनका रुपमा रह्यो ।

हार्दिक पाण्डे २३ रनमा आउट हुँदा ओपनर केएल राहुल १८ तथा रोहित शर्माले १४ रन मात्र जोड्न सके। त्यस्तै थप दोहोरो रनको स्कोरका रुपमा ऋषभ पन्तको १२ रन रह्यो । कप्तान विराट कोहली केवल १७ बलमा ९ रन बनाएर आउट भए । न्युजिल्यान्डका ट्रेन्ट बोल्टले ३ विकेट लिंदा ईश सोधिले २ तथा टीम साउदी र एडम मिल्नेले एक एक विकेट लिए ।
न्युजिल्यान्डले भारत विरुद्ध ऐतिहासिक रुपमा सर्वाधिक फराकिलो जित निकाल्यो । उसले ३३ बल बाँकी छँदै २ विकेट गुमाएर लक्ष्य पुरा गर्यो  ।

१११ रनको लक्ष्य पछ्याएको न्युजिल्यान्डले राम्रो सुरूवात गर्‍यो । पहिलो विकेटका लागि २४ रनको साझेदारी भएपनि ओपनर डर्‍याल मिचहेलले ४९ रनको सानदार इनिङ खेले । उनले ३५ बलमा ४ चौका र ३ छक्का प्रहार गरेका थए । त्यस्तै ओपनर मार्टिन गुप्टिल २० रन बनाए । कप्तान केन विलियमसन ३३ रनमा नटआउट रहँदा डेभन कनवे २ रनमा अविजित फर्किए । न्युजिल्यान्डले केवल १४.३ ओभरमानै २ विकेट गुमाएर लक्ष्य पुरा गर्‍यो ।

टप अर्डर ध्वस्त
पाकिस्तानसँगको पहिलो खेलको एकहप्ता पछि खेल्दा पनि भारतीय टप अर्डर कमजोर सावित भयो । भारतले ४८ रन जोड्दा ४ विकेट गुमाएको थियो ।

साथमा ढिलो रन स्कोर उसको अर्को चुनौती बन्यो । तेस्रो ओभरमा नै ४ रनको अबस्थामा ओपनर इशान किशन आउट भए । किशन आउट भएको अर्को बलमा रोहित शर्माले जिवनदान पाए । एडम मिल्नेले सहज क्याच मिस गरे । यद्धपि उनले त्यसको फाइदा उठाउन पाएनन् । उनी १४ रनमा नै आउट भए । त्यसपछि कप्तान कोहलीपनि ९ रनको अबस्थामा आउट हुँदा भारतीय टप अर्डर तहसनहस भएको थियो ।

मैदानमा भारतीय टीम
२०१३ पछि दोस्रो पटक रोहित शर्मा प्लेइङ ११ मा रहेरपनि ओपनिङ गर्न आएनन् । त्यस्तै केएल राहुलले आफ्नो ५० औँ टी ट्वेन्टी अन्तराष्ट्रिय खेल खेले । पावर प्लेमा भारतको स्कोर २ विकेट गुमाएर ३५ रन रह्यो । भारतको आधा टीम ७० रनको अवस्थामा समेटियो । ११०/७ भारतको न्युजिल्यान्ड विरुद्ध टी ट्वेन्टी अन्तराष्ट्रियमा दोस्रो कम स्कोर हो । भारत विरुद्ध ट्रेन्ट बोल्टले टी ट्वेन्टी अन्तराष्ट्रियमा ५० विकेट पुरा गरे ।

१८ बर्षदेखिको पर्खाइ, पर्खाइमै सीमित
भारतले न्युजिल्यान्डसँगको आईसीसी इभेन्टमा २००३ यता कुनै जित निकाल्न सकेको छैन । पछिल्लो एकदिवसीय विश्वकपमा सेमिफाइनल (२०१९) तथा विश्व टेस्ट च्याम्पियनसिप फाइनल (२०२१) मा भारत न्युजिल्यान्डसँग पराजित भएको थियो ।

टी-ट्वेन्टी विश्वकपमा यसअघि दुबै टीमले दुई पटक एक अर्कासँग प्रतिस्पर्धा गरेका थिए । दुबै पटक न्युजिल्यान्ड बाजि मार्न सफल भएको थियो । यो तेस्रो  खेल पनि न्युजिल्यान्ड फराकिलो जित निकाल्न सफल भयो ।

अंक तालिका
समूह २ मा पाकिस्तान ३ जितका साथ शीर्ष स्थानमा छ । अफगानिस्तान ३ खेलमा २ मा जितसहित दोस्रो स्थानमा छ । न्युजिल्यान्ड २ खेलमा १ मा जितसहित तेस्रो स्थानमा छ । नामिबिया २ खेलमा १ मा जितसहित चौथो स्थानमा छ । समान २ खेल खेलेका भारत र स्कटल्यान्ड अंक विहीन हुँदै पाँचौ र छैटौ स्थानमा छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *