प्रदेश १ : मुख्यमन्त्री पदको छिनोफानो आज

मुख्यमन्त्री आचार्यलाई विश्‍वासको मत नदिने गठबन्धनको निर्णय

काठमाडौँ । प्रदेश नम्बर १ का मुख्यमन्त्री भीम आचार्यको विश्वासको मतको प्रस्तावमाथि आज छलफल हुँदै छ । त्यसका लागि मध्यान्ह १२:३० बजेका लागि प्रदेश सभा बैठक बोलाइएको छ ।

एमालेका १० जना प्रदेश सांसद् नेकपा (एस)मा लागेपछि एकल बहुमतमा रहेको एमाले विभाजित भई मुख्यमन्त्री आचार्य अल्पमतमा परेका हुन् । उनले विश्वासको मत जुटाउने सम्भावना कमजोर छ । यसअघिकै बैठकमा उनको विश्वासको मतसम्बन्धी प्रस्ताव टेबल भइसकेको छ । प्रदेश सभा सचिवालयले आजको बैठकको कार्यसूचीमा उक्त प्रस्तावमाथि छलफल र मत विभाजनको कार्यसूची तय गरेको छ ।

९२ सदस्यीय प्रदेशसभामा मुख्यमन्त्री आचार्यलाई विश्वासको मत प्राप्त गर्न कम्तीमा ४६ सांसद् संख्या आवश्यक हुन्छ । सभामुखसहित एमालेका ४१, कांग्रेसका २१, माओवादी केन्द्रका १५, एकीकृत समाजवादीका १०, जनता समाजवादी पार्टीका ३, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र राप्रपाका १र१ जना प्रदेश सांसद् छन् । एमालेका प्रदेश सांसद् गुलेफुन खातुन भने उच्च अदालत विराटनगरले किर्ते कागज मुद्दामा दोषी ठहर गरेपछि फरार छन् ।

आचार्यलाई विश्‍वासको मत नदिने गठबन्धनको निर्णय
प्रदेश-१ को विपक्षी गठबन्धले मुख्यमन्त्री भीम आचार्यलाई विश्वासको मत नदिने निर्णय गरेको छ । प्रदेशसभा बैठकको पूर्व सन्ध्यामा विराटनगरमा बसेको विपक्षी गठबन्धनको बैठकले नेकपा (एकीकृत समाजवादी)का नेता राजेन्द्र राईलाई नयाँ मुख्यमन्त्रीका रूपमा प्रस्ताव गर्ने निर्णय गरेको कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले जानकारी दिए ।

आलोपालो नेतृत्वको विषयमा पार्टीभित्र संघर्ष गरिरहेको र अहिले तत्काल केन्द्रीय गठबन्धनले गरेको निर्णयअनुसार नेकपा (एस)का नेता राजेन्द्र राईको नेतृत्वमा सरकार गठन गर्ने तयारी रहेको कार्कीको भनाई थियो । बैठकले विश्वास मतको प्रस्तावको विपक्षमा गठबन्धनका सबै प्रदेश सांसद्ले मतदान गर्ने र दलीय गठबन्धनको संस्कारलाई अझै मजबुत बनाएर अघि बढ्ने दुई बुँदे निर्णय गरेको प्रमुख सचेतक कार्कीले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *