१० औँ महाधिवेशनस्थलको निरीक्षण गर्दै अध्यक्ष ओली

चितवन । नेकपा (एमाले) का अध्यक्ष केपी ओलीले आज पार्टीको १० औँ महाधिवेशन स्थलको निरीक्षण र आवश्यक जानकारी लिने भएका छन्  महाधिवेशन आगामी मङ्सिर १०, ११ र १२ गते यहाँ हुँदैछ । अध्यक्ष ओलीले महाधिवेशन उद्घाटन सत्र हुने नारायणी नदी किनार र बन्द सत्र हुने सौराहाका सम्भावित ठाउँको निरीक्षण गर्ने कार्यक्रम रहेको छ ।

उद्घाटन सत्रको टुङ्गो लागे पनि बन्द सत्र होटलमा वा खुल्ला ठाउँमा गर्ने भन्ने विषयमा टुङ्गो लागेको छैन । ओलीले आज निरीक्षण गरेसँगै ठाउँको टुङ्गो लाग्ने एमालेका जिल्ला अध्यक्ष पार्वती रावलले जानकारी दिए । महाधिवेशनमा दुई हजार हाराहारी प्रतिनिधि हुने उनले बताए । ओली आज काठमाडौँबाट स्थलमार्ग हुँदै चितवन आउँदै छन्।

चितवन आएलगत्तै उद्घाटन स्थलको स्थलगत अवलोकन गर्ने कार्यक्रम रहेको छ । सो पश्चात् नेकपा (एमाले) भरतपुर महानगर कमिटीको प्रथम अधिवेशन उद्घाटन गरेर उनी महाधिवेशनको बन्द सत्र हुने सौराहा जाने कार्यक्रम रहेको रावलले जानकारी दिए। दुई दिनको चितवनको बसाईका क्रममा ओली माडीको अयोध्याधाम र नारायणी नदीमा क्रुजको अवलोकन गर्ने कार्यक्रम छ ।

पूर्वप्रधानमन्त्री समेत रहेका ओलीलाई बाटोका विभिन्न स्थानमा नेकपा एमालेका नेता कार्यकर्ताले स्वागतका कार्यक्रम राखेका छन् । यहाँको बसाईका क्रममा विभिन्न नेता कार्यकर्ता भेटघाट कार्यक्रम रहेका छन् । बुटवलमा हुने भनिएको महाधिवेशन अन्तिम चरणमा आएर चितवन सारिएको हो । रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *