सिकाइ क्षति कम गर्न कक्षाकोठामा आधारित द्रुत परीक्षण

कोभिडको कारणले करिब २० महिनादेखि समग्र शिक्षा क्षेत्र प्रभावित छ । शिक्षण सिकाइ नियमित हुने क्रम बिस्तारै सुरु हुँदै छ । विगत २० महिनाको अवधिलाई समीक्षा गर्ने हो भने, शिक्षण सिकाइ क्रियाकलापलाई निरन्तरता दिने, सिकाइका वैकल्पिक विधिहरूलाई प्रभावकारी बनाउने, सबै बालबालिकालाई वैकल्पिक सिकाइको पहुँचमा ल्याउने काममाभन्दा जेनतेन परीक्षा चलाउने र तिमी माथिल्लो कक्षामा गयौ भन्नेमा जोडबल देखियो । कोभिड अन्त्य भइसकेको छैन र अब अन्त्य नै हुन्छ त भन्ने विश्वसनीय आधार पनि छैनन् । यतिखेर समग्र शैक्षिक क्षेत्र सामान्य अवस्थामा जस्तै नै छ । बालबालिकाको सिकाइका लागि साँच्चिकै चिन्ता गरेको र त्यसका लागि प्रयास गरेको अवस्था कमैमात्र देख्न पाइन्छ । सबैका आ आफ्ना समस्या छन्, प्राथमिकता छन्, बालबालिकाको सिकाइ प्राथमिकतामा छैनन् ।

कोभिडको अवधिमा धेरै बालबालिका वैकल्पिक सिकाइमा जोडिन सकेनन् । जोडिएका बालबालिकाले पनि प्रभावकारी रूपमा सिक्न सकेनन् । केही प्रयासहरू नभएका पनि होइनन्‚ तर ती प्रयासहरूले सिकाइमा सार्थक रूपमा योगदान दिन सकेनन् र सबै बालबालिकालाई समेट्न सकिएन । समेटिएकाहरूलाई पनि प्रभावकारी रूपमा सिकाउन सकिएन । यसका थुप्रै कारण होलान्‚ त्यता नलागौँ । अबको शिक्षण सिकाइ शुरु गर्दा कोभिडको यो लामो अवधिमा बालबालिकाको सिकाइमा के कति थप भयो वा सिकाइ झन् कमजोर भयो त्यो जानकारी लिनु र त्यसका आधारमा विभिन्न रणनीति तय गरी अगाडि बढ्नु महत्त्वपूर्ण हुन्छ ।

कोभिडको अवधिमा धेरै बालबालिका वैकल्पिक सिकाइमा जोडिन सकेनन् । जोडिएका बालबालिकाले पनि प्रभावकारी रूपमा सिक्न सकेनन् । केही प्रयासहरू नभएका पनि होइनन्‚ तर ती प्रयासहरूले सिकाइमा सार्थक रूपमा योगदान दिन सकेनन् र सबै बालबालिकालाई समेट्न सकिएन ।

परिदृश्य हेर्दा लाग्छ, बालबालिकाहरूको सिकाइमा के कति क्षति पुग्यो र त्यसको परिपूर्ति कसरी गर्ने भन्ने चिन्ता लगभग हराइसकेको छ । विद्यालय खुलेको १५।२० दिन पनि हुन पाएको छैन, अधिकांश विद्यालयमा पढाइ छोडेर परीक्षा सुरु भएको छ । परीक्षा लिनु राम्रै होला, तर त्यो परीक्षाका सूचनाहरू कसरी प्रयोग गर्ने भन्ने महत्त्वपूर्ण हुन्छ । के अहिले भइरहेका परीक्षाले हरेक विद्यार्थीको सिकाइ क्षतिको जानकारी देला ? यी परीक्षा लिनुको प्रयोजन सिकाइ क्षतिको जानकारी लिनु हो ? अथवा यी परीक्षाका सूचनाबाट सिकाइ क्षति निकाल्न सकिएला ? के अहिलेका परीक्षाबाट क्षतिअनुसार वैयक्तिक शिक्षणका रणनीति तय गर्ने होला ? के अहिलेका परीक्षाबाट आधारभूत सिकाइ सुनिश्चित गर्नतर्फ लाग्न सकिएला ? अभ्यासहरू हेर्दा यो केवल गर्नुपर्ने काम भएकाले गरिएको छ, यसले सिकाइ सुधारमा योगदान गर्छ भन्ने आधार कमैमात्र छन् । पत्तिकारले गरेको विद्यालय अवलोकन, शिक्षकहरूसँगका अन्तरक्रिया, परीक्षाका ढाँचा, परीक्षापश्चात्का क्रियाकलाप, विद्यार्थीको सिकाइलगायत विभिन्न पक्षका अध्ययनले हाल सञ्चालन भइरहेका त्रैमासिक परीक्षाहरूले विद्यार्थीको सिकाइमा उल्लेखनीय योगदान गर्न सक्दैनन् । यी परीक्षालाई त्यसरी तयार गरिएको छैन ।

हरेक विद्यालयले आफ्ना बालबालिकाहरूको सिकाइस्तर कुन तहमा छ, त्यसको लेखाजोखा गर्नुपर्छ । सिकाइको प्रोफाइल बनाउनुपर्छ । कुन विद्यार्थीले के के सिके, सिकाउनुपर्ने विषय के के छुटे ? अघिल्लो कक्षाकै सिकाइ बाँकी छ कि ? सिकाइ क्षति कति भएको छ, त्यसको परिपूरण कसरी गर्ने ? यी विषयमा रणनीतिहरू तय गर्नुपर्छ र त्यसतर्फ ध्यान दिनु आवश्यक छ । पालिकाहरूले विद्यालयहरूलाई यो विषयमा सहजीकरण गर्नुपर्छ । बिदाहरू कटौती गर्न सकिन्छ कि ? बिदा कटौती गर्दा शिक्षकहरूलाई कसरी प्रेरित गर्ने ? अतिरिक्त समय शिक्षण सिकाइको व्यवस्थापन गर्न सकिन्छ कि ? अतिरिक्त समयको व्यवस्थापन कस्ता विद्यार्थीका लागि गर्ने ? अभिभावक परिचालन कसरी गर्ने ? शिक्षकहरूलाई परिचालन र प्रेरणाका लागि के गर्ने ? यी विषयमा पालिकाहरूले विशेष ध्यान दिनु आवश्यक छ । अन्यथा विद्यालय खुल्नेछन् । नियमानुसार पठनपाठन हुनेछ, नियमानुसार परीक्षा हुनेछ‚ तर कोभिडले पारेको शैक्षिक क्षति पूर्ति हुनेछैन‚ जसले भविष्यमा समेत दीर्घकालीन असर पार्नेछ ।

भौतिक रूपमा विद्यालयको शिक्षण सिकाइ भर्खर सुरु हुँदै गरेको अवस्थामा औपचारिक त्रैमासिक परीक्षालाई भन्दा कक्षाकोठामा आधारित द्रुत परीक्षण (Rapid Classroom Assessment) सञ्चालनमा जोड दिनु आवश्यक छ । यस्तो परीक्षणमा शिक्षकहरूले पूर्णतः अनौपचारिक तवरबाट हरेक विद्यार्थीको सिकाइ अवस्था पहिचान गर्नका लागि न्यूनतम सिकाइ सक्षमताको मात्र मापन गर्ने गरी छोटा, लिखित, मौखिक, गृहकार्य, कक्षाकार्य, परियोजना कार्य, समूह कार्यहरूको प्रयोग गर्न सक्छन् । हरेक विद्यालयले कक्षाकोठाको पठनपाठनलाई नियमित रूपमा सञ्चालन गर्दै कक्षाकोठामा आधारित द्रुत परीक्षणमार्फत बालबालिकाहरूको सिकाइ अवस्था पहिचान गर्ने र सोहीअनुसार शिक्षण सिकाइका रणनीतिहरू तय गर्नुपर्छ । यस्ता सिकाइ रणनीतिमा सिकाइस्तरअनुसारका विद्यार्थीलाई समूहकृत गर्न सकिन्छ । वैयक्तिक शिक्षण वा अतिरिक्त शिक्षण आवश्यक पर्ने विद्यार्थी पहिचान गर्न सकिन्छ । अभिभावकसँग सहकार्य गर्ने विषयहरू पहिचान गर्न सकिन्छ । हाम्रो विद्यालय शिक्षाको सिकाइ अवस्था यसै पनि कमजोर नै हो, यसमा कोभिडले अझ कमजोर बनाएको छ । यस अर्थमा अबको केही समय सिकाइमा मात्र जोड दिनु बढी सान्दर्भिक हुन्छ ।

परीक्षणमा शिक्षकहरूले पूर्णतः अनौपचारिक तवरबाट हरेक विद्यार्थीको सिकाइ अवस्था पहिचान गर्नका लागि न्यूनतम सिकाइ सक्षमताको मात्र मापन गर्ने गरी छोटा, लिखित, मौखिक, गृहकार्य, कक्षाकार्य, परियोजना कार्य, समूह कार्यहरूको प्रयोग गर्न सक्छन् ।

कक्षाकोठामा आधारित द्रुत परीक्षणमा हरेक विषय शिक्षकले आफूले शिक्षण गर्ने विषयको न्यूनतम सिकाइ सक्षमताहरू तय गर्नुपर्छ । अघिल्लो वर्षको र यो वर्षका कक्षागत र विषयगत न्यूनतम सिकाइ सक्षमताहरूङ्का लागि छोटा र विशिष्ट सिकाइको मापन गर्ने प्रश्नहरू तयार गर्ने र हरेक बालबालिकाहरूलाई ती प्रश्नबाट शिक्षण सिकाइ सञ्चालन भइरहेकै समयमा परीक्षण गर्दै उनीहरूको सिकाइ अभिलेखीकरण गर्ने र सोहीअनुसार सिकाइ रणनीति तय गर्न सकिन्छ ।

कक्षाकोठामा आधारित द्रुत परीक्षण सञ्चालन शिक्षकले आफ्नो विषयअनुसार तयार गरेका न्यूनतम सिकाइ सक्षमताको आधारमा मात्र गर्नेछन् । यसमा कुनै तोकिएको वा संरचनामा प्रश्नहरू हुनुपर्दैन । विशिष्टीकरण तालिका अनुसरण गर्नुपर्दैन । परीक्षा तालिका निकाल्नु पर्दैन । प्रश्न छपाइ गर्नुपर्दैन । शिक्षकले पाठ सुरु गर्नुअघि त्यो पाठ सिक्न आवश्यक पर्ने विद्यार्थीको न्यूनतम सिकाइ सक्षमता के हो त्यसका आधारमा लिखित वा मौखिक रूपमै पनि परीक्षा सञ्चालन गर्न सक्छन्‚ तर सबैभन्दा महत्त्वपूर्ण पक्ष‚ हरेक विद्यार्थीको अवस्थालाई अभिलेखीकरण गरेको हुनुपर्छ । धेरै विद्यार्थी भएको कक्षामा यो केही जटिल हुन सक्छ, त्यसका लागि २ जना शिक्षकले सहकार्य गरेर गर्दा सजिलो हुन्छ ।

साना बालबालिकाका लागि कक्षाकोठामा आधारित द्रुत परीक्षणमा गणित र भाषाका न्यूनतम सिक्नुपर्ने विषयहरूलाई छोटो तालिका वा कालो वा सेतोपाटीमा लेखेर एक एक जनालाई ती प्रश्नको उत्तर दिन लगाउँदै अभिलेखीकरण गर्न सकिन्छ । अक्षर, मात्रा, शब्द र वाक्य पठन क्षमता, पठनबोध, श्रुतीबोधजस्ता भाषिक सीप र सङ्ख्याको ज्ञान, जोड, घटाउ, गुणन भागलगायतका आधारभूत सीपहरूको परीक्षण गर्न सकिन्छ ।

कक्षाअनुसार माथिल्ला कक्षामा अलि औपचारिक हुन सक्छ‚ तर यसका लागि शिक्षकहरू आफैँले योजना बनाउनुपर्छ । यस्तो परीक्षाबाट प्राप्त सूचनाहरूलाई एकदमै मसिनो गरी विश्लेषण गरेर हरेक विद्यार्थीको अवस्था पहिचान गरी सोहीअनुसार शिक्षणको रणनीति तय गर्नुपर्छ । बालबालिकाकाको सिकाइका लागि स्थानीय सरकार, विद्यालय अभिभावक सबैको जिम्मेवारी रहेको हुन्छ । शिक्षक तथा विद्यालयले अभिभावकसँग सहकार्य गर्नुपर्छ भने विद्यालयले पालिकासँग आवश्यक सहयोग माग गर्नुपर्छ । पालिकाहरू पनि विद्यालय सञ्चालन गर्ने र भौतिक विस्तारका देखावटी कार्यक्रमबाट माथि उठी कक्षाकोठाको शिक्षण सिकाइलाई सुधार गर्नेतर्फ जोड दिनु आवश्यक छ । विद्यालयहरूलाई आवश्यक सहयोग उपलब्ध गराउने र शिक्षकहरूको क्षमता विकास तथा उत्प्रेरणाका कार्यक्रममा जोड दिनुपर्छ ।

विभिन्न कारण, अभाव र पूर्व तयारी नहुँदा वैकल्पिक सिकाइ पनि प्रभावकारी हुन सकेन‚ अर्थात् धेरैलाई यसमा समेट्न सकिएन । सामुदायिक विद्यालयका करिब २५ प्रतिशत विद्यार्थीहरू मात्र अनलाइनमा जोडिन सके । अन्य विभिन्न माध्यमका वैकल्पिक विधि सञ्चालनमा रहे पनि धेरैलाई समेट्न सकिएन । मनोवैज्ञानिक रूपमा शिक्षक, विद्यार्थी र अभिभावकमा वैकल्पिक माध्यमको शिक्षणको प्रभावकारिता न्यून रह्यो ।

कोभिडको पहिलो लहरले विद्यालय शिक्षाको करिब ८ महिना शैक्षिक गतिविधि अवरुद्ध भए । बिस्तारै लयमा फर्कन खोजेको शैक्षिक गतिविधिलाई कोभिडको दोस्रो लहरले पुनः अवरुद्ध पार्‍यो । अघिल्लो वर्षको कठिनाइबाट पाठ सिकेर तयारी गर्न सकेको भए दोस्रो लहरको बेला शिक्षण सिकाइ तथा कक्षा १० र १२ का परीक्षा अलिक सहज तरिकाले गर्न सकिन्थ्यो‚ तर हामीले त्यसो गर्न सकेनौँ ।

दोस्रो लहरले पनि लम्बाएको शैक्षिक सत्रलाई सहज रूपमा सकाउन दिएन । सोपश्चात् ४ महिनाजति भौतिक उपस्थितिमा शिक्षण सिकाइ हुन सकेन । विभिन्न कारण, अभाव र पूर्व तयारी नहुँदा वैकल्पिक सिकाइ पनि प्रभावकारी हुन सकेन‚ अर्थात् धेरैलाई यसमा समेट्न सकिएन । सामुदायिक विद्यालयका करिब २५ प्रतिशत विद्यार्थीहरू मात्र अनलाइनमा जोडिन सके । अन्य विभिन्न माध्यमका वैकल्पिक विधि सञ्चालनमा रहे पनि धेरैलाई समेट्न सकिएन । मनोवैज्ञानिक रूपमा शिक्षक, विद्यार्थी र अभिभावकमा वैकल्पिक माध्यमको शिक्षणको प्रभावकारिता न्यून रह्यो । भौतिक कक्षाको विकल्प रुचाइएन । भौतिक उपस्थितिमै कक्षा चलाउनुपर्ने निर्विकल्प अवस्था खोजेको देखियो ।

भौतिक रूपमा हुने शिक्षण सिकाइसँग अन्य विधिलाई तुलना गरेर त्यही परिमाण/मात्राको प्रभावकारिता खोजी गर्नु उपर्युक्त हुन त सक्दैन तर वैकल्पिक विधिको प्रयोग हुनुपर्ने जति पनि हुन सकेन, बनाउन सकिने जति बनाउन सकिएन, थप खोजीमा लाग्न सकिएन । कक्षामा आए पढाइन्छ‚ नत्र के गर्नु भन्नेजस्ता मसिना आवाजहरू पनि सुनिए । असोजको पहिलो हप्ताबाट विद्यालयहरू क्रमशः खुल्दै गएका छन् । शहरी क्षेत्रका ठूला विद्यालयहरू तिहारपछि खुल्दै छन् । दसैँअघि र दसैँपछि खुलेका विद्यालयहरूको पठनपाठन सुरु भइसकेको छ ।

दसैँअघि विद्यालय खुलेका केही पालिकाहरूले घटस्थापनापछि २-३ दिन विद्यालय सञ्चालन गर्ने रहर गरे‚ तर सङ्घीय शिक्षा नियमावलीका दफामा भएका बिदासम्बन्धी बुँदाले अप्ठ्यारो बनायो । कोभिडले पढाइ प्रभावित भएको छ १-२ दिन थप पढाउने भन्ने भावना जागृत हुन सकेन । यसले खास गरी २ वटा प्रश्नहरू उब्जाएको छ । पहिलो प्रश्नमा शिक्षाको अधिकार पालिकालाई भए पनि त्यसको कार्यान्वयन गर्न कठिन हो कि ? दोस्रो प्रश्नमा पुरानै सङ्घीय नियमावली (संशोधन वा नयाँ जारी हुन नसकेको) विपरीत पालिकाहरूले कुनै काम गर्न नसक्ने हुन् त ?

हामी सबै सरोकारवालाहरू बालबालिकाको सिकाइका लागि जिम्मेवार बनौँ । कोभिड फेरि पनि त आउन सक्छ, तयारी गरौँ, जे जति समय छ, सिकाइमा जोड दिऊँ । औपचारिक परीक्षामा भन्दा कक्षाकोठामा आधारित द्रुत परीक्षणका विधि अपनाऊँ ।

वास्तवमा विद्यालयको नियमित पठनपाठन गर्ने दायित्व विद्यालयहरूको हो । विद्यालयहरू आफैँले हामी २-३ दिन भएपनि थप पढाउँछौँ भनेर स्वतःस्फूर्त रूपमा भन्नुपर्नेमा पालिकाहरूले पहल गर्दा समेत किन विद्यालय चल्ने अवस्था सिर्जना (केही विद्यालयहरूले गरे) हुन सकेन भन्ने पक्ष अझ महत्त्वपूर्ण र चोटिलो बनेको छ ।

गत सातामात्र प्रदेश २ को एउटा जिल्लामा ७ महिनासम्म विद्यार्थीले पाठ्यपुस्तक प्राप्त नगरेको समाचार प्रकाशन भएको थियो । यस्तै लुम्बिनी प्रदेशको कुनै एक जिल्लाको नगरपालिकाभित्र सञ्चालित एक विद्यालयमा शिक्षक नभएर पठनपाठन हुन नसकेको र त्यसको विरोधमा विद्यार्थीले विद्यालयमा ताला लगाएको समाचार प्रकाशन भएका थिए । यस्ता परिदृश्यले हाम्रा कामका शैली, जबाफदेहिता र जिम्मेवारीबाेधलाई उदाहरणका रूपमा प्रस्तुत गरेका छन् । यस्तो अवस्थाको अन्त्यका लागि हामी सबै सरोकारवालाहरू बालबालिकाको सिकाइका लागि जिम्मेवार बनौँ । कोभिड फेरि पनि त आउन सक्छ, तयारी गरौँ, जे जति समय छ, सिकाइमा जोड दिऊँ । औपचारिक परीक्षामा भन्दा कक्षाकोठामा आधारित द्रुत परीक्षणका विधि अपनाऊँ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *