मुख्यमन्त्री राईले भने- ‘हामी प्रदेशलाई नाम दिन्छौँ’

विराटनगर । प्रदेश नं. १ का नवनियुक्त मुख्यमन्त्री राजेन्द्र राईले प्रदेशको नामाकरण आफू नेतृत्वको सरकारले गर्ने दाबी गरेका छन् । मुख्यमन्त्रीको रूपमा शपथ ग्रहण गरेलगत्तै राईले भने, ‘हाम्रो प्राथमिकता नै नाम राख्ने र थप काम गर्ने हो । हाम्राे नीति यही नै रहन्छ ।’

राईले मन्त्रालयको संख्या बढाउने जानकारी पनि दिए । ‘गठबन्धनअनुसारको सरकार बनेको हुँदा निश्चय नै मन्त्रालयको संख्या बढाउनुपर्ने भएको छ । त्यो पनि हामी गर्छौँ,’ राईले भने, ‘र, त्यो आवश्यक्ता पनि हो । मन्त्रालयकाे संख्या बढाएरै भएपनि सरकार राम्ररी हाँक्छाैँ ।’

राईले यही महिनाभित्र विश्वासको मत लिनेसमेत बताए । विश्वासको मत कहिले लिनुहुन्छ ? भन्ने पत्रकारहरूको पश्नमा राईले भने, ‘कात्तिक २३ को सम्भावना बढी छ । त्यो दिन नभए २५ गतेसम्ममा यो हुनसक्छ ।’

प्रदेश नं. १ ले अहिलेसम्म नाम पाउन सकेको छैन । प्रदेशमा एमालेबाट दुईजना मुख्यमन्त्री फेरिए । शुरूमा मुख्यमन्त्री शेरधन राई थिए, त्यसपछि पुनः एमालेबाटै भीमप्रसाद आचार्य आए । उनीहरू दुवैजनाले प्रदेशको नामाकरण गर्न सकेनन् । त्यतिबेला राईलगायतका नेताहरूले व्यग्र आलोचना गरेका थिए ।

अहिले उनै राई नेतृत्वमा आएका छन् । योसँगै प्रदेश नामाकरणको विषयमा राईको परीक्षा शुरू भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *