माधवप्रति योगेशको कटाक्ष:

‘एकीकृत समाजवादी अवैध गर्भधारणबाट बनेको हो’

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सचिव एवम् केन्द्रीय प्रचार विभाग प्रमुख योगेशकुमार भट्टराईले माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) अवैध सम्बन्धबाट बनेको दल भएको टिप्पणी गरेका छन् । आउँदो मंसिर १०-१२ मा सम्पन्न हुने दशौं महाधिवेशनको तयारी सम्बन्धमा विभागद्वारा आयोजित पत्रकार सम्मेलनमा भट्टराईले यस्तो बताएका हुन् ।

पत्रकार सम्मेलनमा प्रचार विभाग उपप्रमुख सूर्य थापाले महाधिवेशनमा नेपालका प्रमुख राजनीतिक दलहरूलाई निम्तो पठाउने जानकारी दिएका थिए । त्यसपछि एकीकृत समाजवादीलाई पनि बोलाउनुहुन्छ ? भन्ने प्रश्नमा विभाग प्रमुख भट्टराईले भने, ‘हामीले प्रमुख पार्टीलाई भनेका छौँ । कतिपय दलहरूको पहिचान र ठेगाना स्पष्ट छैन । कुनै कुनै दलहरू अवैध सम्बन्ध, अवैध गर्भधारणबाट बनेका दलहरू छन् । त्यस्ता राजनीतिक दलका नाममा बनेको समूहहरूलाई महाधिवेशनमा बोलाइरहनुपर्छ भन्ने लागेको छैन ।’

त्यसो त एमालेले ६२ भन्दा बढी राष्ट्रका कम्युनिष्ट राजनीतिक दललाई महाधिवेशनका लागि निम्तो पठाएको छ । विदेशी दलहरूलाई निम्तो पठाउँदा एकीकृत समाजवादीलाई भने नबोलाउने भएको हो ।

नेपालले एमाले फुटाएर आफ्नै नेतृत्वमा एकीकृत समाजवादी गठन गरेका हुन् । एमालेमा रहँदा नेपाल वरिष्ठ नेता थिए । पार्टी फुटाएर नयाँ दल बनाएपछि एमालेले यसको डटेरै सामना गरिरहेको छ । प्रतिनिधि सभामा समेत यही विषयलाई लिएर एमाले आन्दोलित छ । एमालेले नेपाललगायत एकीकृत समाजवादीका सांसदहरूलाई गैरसांसद भन्दै आएकाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *