कोप-२६ मा लिखित सम्बोधन:

उच्च उत्सर्जनमूलक परियोजना नियन्त्रण गर्नेछौँ : सी

काठमाडौँ । संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन (कोप २६) मा चिनियाँ राष्ट्रपति सी जिनपिङले सहभागिता जनाएनन् । जलवायु परिवर्तनको कारक हरितगृह ग्यास कार्बनडाइअक्साइड उत्पादनमा सबैभन्दा अघि रहेको चीनका राष्ट्र प्रमुखले भौतिक उपस्थिति नजनाउनु र छलफल नगर्नुलाई अन्य विश्व नेताहरूले राम्रो मानेका छैनन् ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले त ‘सी’ सम्मेलनमा नजानु ‘ठूलो गल्ती’ नै भएको औंल्याए । सम्मेलनमा सीले एक लिखित पत्र भने पठाए । उनले दस्ताबेजमार्फत भने सम्मेलनप्रति ऐक्यबद्धता जनाउँदै चीन ‘होस्टेमा हैंसे’ गर्न सधैँ तत्पर रहेको बताएका छन् ।

सीको लिखित संबोधन:

मित्रहरू !
विश्व नेताहरूको शिखर सम्मेलनमा सहभागी बन्न र जलवायु चुनौती समाधानका उपायबारे छलफल गर्न पाउँदा खुसी लागेको छ । हामीले कुरा गरेजस्तै जलवायु परिवर्तनका नकारात्मक प्रभाव बढिरहेकै छन् । त्यसकारण विश्वव्यापी रूपमा जलवायु परिवर्तन रोकथामको निम्ति काम गर्नु अपरिहार्य बनिरहेको छ । जलवायु परिवर्तनको कसरी सामना गर्ने र विश्व अर्थतन्त्र कसरी पुनःस्थापित गर्ने भन्ने चुनौती हामीले सामना गर्नैपर्ने हाम्रो समयको चुनौती हो ।

पहिलो त, हामीले बहुपक्षीय सहमतिलाई अघि बढाउनुपर्छ । जलवायु परिवर्तनजस्ता विश्वव्यापी चुनौतीहरू आइपर्दा पनि बहुपक्षवाद नै सबभन्दा सही उपाय हो । जलवायु परिवर्तनबारे संयुक्त राष्ट्रसङ्घीय कार्यक्रमसम्बन्धी सम्मेलन र पेरिस सहमतिले जलवायु परिवर्तनबारे अन्तर्राष्ट्रिय सहकार्यको लागि आधारभूत कानूनी आधार प्रदान गर्छ ।

ग्लास्गोमा भएको कोप–२६ लाई परिणाममुखी बनाउन विभिन्न पक्षबीच विद्यमान सहमतिलाई अझ बलियो बनाउनुपर्छ । आपसी विश्वास बढाउनुपर्छ र सहकार्यलाई अघि बढाउँदै काम गर्नुपर्छ ।

दोस्रो, हामीले मूर्त रूपमा काममा जोड दिनुपर्छ । कुनै पनि अवधारणा तब मात्र सही हुन्छ, जब हामीले त्यसलाई कार्यान्वयनमा ल्याउँछौँ । जलवायु क्षेत्रमा काम गरेर देखाउन सबै पक्षले आफ्ना प्रतिबद्धताको सम्मान गर्नुपर्छ । वस्तुगत लक्ष्य र दृष्टिकोण निर्धारण गर्नुपर्छ र आफ्नो देशको परिस्थितिअनुसार अधिकतम काम गर्नुपर्छ । विकसित देशहरूले आफुले मात्र गरेर पुग्दैन । तर, विकासशील देशहरूलाई पनि अझ काम गर्न सहयोग गर्नुपर्छ ।

तेस्रो, हामीले हरित सङ्क्रमणलाई गति दिनुपर्छ । हाम्रो ऊर्जा र स्रोतलाई रूपान्तरण गर्न र स्तरोन्नति गर्न विज्ञान र प्रविधिमा अनुसन्धानलाई अघि बढाउनु महत्त्वपूर्ण छ । साथै, हाम्रा औद्योगिक संरचना र उपभोग ढाँचामा परिवर्तन गर्नुपर्छ । हरित अर्थतन्त्र र समाजलाई प्रवर्द्धन गर्नुपर्छ । यसपछि विकाससँगै संरक्षणलाई समन्वय गर्ने नयाँ बाटोको खोजी गर्नुपर्छ ।

मित्रहरू,
मानिस र प्रकृतिको लागि जीवन भन्ने दृष्टिकोणबाट निर्देशित भएर चीनले पर्यावरणीय संरक्षणलाई प्राथमिकता दिँदै आएको छ । विकासमा हरित र न्यून कार्बनको बाटोलाई चीनले पछ्याउँदै आएको छ । हामीले हरित गृह, न्यून कार्बनयुक्त र समग्रताको आर्थिक प्रणालीलाई प्रवर्द्धन गर्नेछौँ । औद्योगिक संरचनागत अनुकूलनलाई प्राथमिकतामा राख्नेछौँ । बेतुकका ऊर्जामुखी र उच्च उत्सर्जनमूलक परियोजनामा हामी नियन्त्रण गर्नेछौँ ।

हामीले हरित गृह र न्यून कार्बन उर्जाको संक्रमणलाई गति दिनेछौँ । नवीकरणीय ऊर्जाको व्यापक विकास गर्नेछौँ र ठूल्ठूला वायु र प्रकाश ऊर्जाको केन्द्रका योजना विकास र निर्माण गर्नेछौँ । चीनले हालै दुईवटा निर्देशिका जारी गरेको छः सन् २०३० अघि कार्बन डाइअक्साइड उत्कर्ष र कार्बन शून्यताको पूर्ण र इमानदार कार्यान्वयनको लागि नयाँ विकासको दर्शन र कार्ययोजनाको लागि कार्य निर्देशिका । ऊर्जा, उद्योग, निर्माण र यातायातजस्ता प्रमुख विषय र कोइला, विजुली, फलाम तथा स्पात र सिमेन्टजस्ता प्रमुख क्षेत्रमा विशिष्ट योजना लागू गर्ने छौँ ।

विज्ञान प्रविधि, कार्बनलाई निस्क्रिय बनाउने, वित्तीय र कर व्यवस्था, वित्तीय अनुदानजस्ता सहयोगी नीतिमार्फत यो कदमलाई होस्टेमा हैँसे गर्नेछौँ । यी सबै नीतिले समष्टिगत रूपमा कार्बनको उत्कर्ष र कार्बन शून्यताको परिणाममा पु¥याउने ‘वन प्लस एन’ नीतिको ढाँचा बन्नेछ । जसमा प्रष्टतः समयतालिका, कार्ययोजना र आधारपत्र समावेश हुनेछ ।

प्राचीनकालमा चिनियाँहरू ‘सफल शासन मूर्त काममा निर्भर हुने’ कुरामा विश्वास गर्थे । मलाई आशा छ, सबै पक्षले जलवायु चुनौती संयुक्त रूपमा सामना गर्न सशक्त कदम चाल्नेछन् र हामी सबैको साझा घर पृथ्वीको संरक्षण गर्नेछन् ।

धन्यवाद ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *