प्रधान मन्त्री देउवा आज स्वदेश फर्किँदै

काठमाडौँ । प्रधान मन्त्री शेरबहादुर देउवा संयुक्त अधिराज्य (बेलायत)को ग्लास्गोमा भएको संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि (कोप-२६) को पक्षको २६औँ सम्मेलनको वल्र्ड लिडर समिटमा भाग लिई आज बिहीबार स्वदेश फर्कँदै छन् ।

यही नोभेम्बर १ र २ मा आयोजित सम्मेलनमा २० सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै देउवा यही कात्तिक १२ गते लण्डन प्रस्थान गरेका थिए । प्रधान मन्त्री नेतृत्वको टोली बुधबार स्थानीय समय दिउँसो १.५५ बजे इडेनवर्गबाट कतार एयरवेजको उडानबाट दोहा हुँदै बिहीबार बिहान काठमाडौँ आइपुग्नेछ । वन तथा वातावरणमन्त्री रामसहायप्रसाद यादव कोप-२६ मा सहभागी रहेकाले उनी बाहेक भ्रमण टोलीमा रहेका अन्य सबैजना स्वदेश फर्किँदै छन् ।

स्वदेश फर्कनुअघि प्रधान मन्त्री देउवाले स्कटल्याण्डको इडेनवर्गस्थित रोयल बोटानिकल गार्डेनको अवलोकन गरी उनको सम्मानमा आयोजित स्वागत समारोहलाई सम्बोधन गर्नुको साथै सो गार्डेनमा रहेको नेपाली बगैँचामा भोजपत्रको बिरुवा रोपेका थिए । पाँचौँ पटक प्रधान मन्त्री भएपछि प्रधान मन्त्री देउवाको यो पहिलो विदेश भ्रमण हो ।

भ्रमणका क्रममा प्रधान मन्त्री देउवाले नेपालका लागि सर्वदलीय संसदीय समूह (एपीपीजी-एन) र बेलायत-नेपाल व्यापार तथा लगानी मञ्चले लण्डनमा आयोजना गरेको स्वागत कार्यक्रममा सहभागी भई सम्बोधन गरेका थिए । त्यहाँ रहँदा प्रधानमन्त्री देउवासँग बेलायत-नेपाल समाजका प्रतिनिधि, गैर आवासीय नेपाली सङ्घ र बेलायतमा बसोबास गर्ने नेपाली समुदायका प्रतिनिधिसँग भेटघाट भएको थियो ।

प्रधान मन्त्री देउवाले नोभेम्बर १ मा कोप-२६ को औपचारिक उद्घाटन समारोहमा सहभागी भई वल्ड लिडर समिटलाई सम्बोधन गरे । प्रधान मन्त्री देउवाले भ्रमणका क्रममा विभिन्न राष्ट्र र सरकार प्रमुख तथा अन्य विशिष्ट व्यक्तिसँग द्विपक्षीय भेटवार्ता पनि गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *