ब्लग

निश्चल अनुरागी भर्सेस लेजिबोन

सम्झनाहरू सँगालिँदै र छुट्दै जाने कुरा रहेछन् । आज भोगेको कुरा भोलि सम्झना भइजान्छ । जीवनमा केही स्वर्णिम समय हुँदो रहेछ । जुन भोगेको समयमा खास्सै केही लाग्दैन‚ तर केहीपछि अनमोल बन्न पुग्छ । ती पलहरू आफूसँग हुँदैनन् । केवल सम्झना हुन्छ । त्यही सम्झना सम्झँदै मात्र पनि मन पुलकित हुन्छ । अनि केही सम्झनाहरू धेरै जनासँग मिल्ने पनि रहेछन् । ठ्याक्कै उस्तै नहोलान्‚ तर उस्तै उस्तै धेरैका भोगाइ हुने रहेछन् ।

स्कुल पढ्दाताका रेडियो खुब सुनिन्थ्यो । गोरखापत्रदेखि रसरङ्गसम्म पत्रिकाहरू भेटेजति पढिन्थ्यो । उपनाम वा साहित्यिक नाम वा ‘निकनेम’ राख्ने चलन उग्र थियो । रेडियो सुन्यो, जसको पनि उपनाम हुने । साहित्यिक पत्रिका पढ्यो, सबैको उपनाम हुने । उपनाम पनि खतरा-खतरा । सागर, अतृप्त, प्यासी, असफल, अकेली, प्रिया, मुसाफिर, अनुरागी, यात्री, मुस्कान, स्मृति, परदेशी, गगन, क्षितिज, दिनदुखी, अभागी, के के हो के के… । हामी पनि के कम । उपनाम (नीकनेम) त राख्नै पर्‍यो भनेर कक्षामा लास्ट बेन्चतिर बस्ने केटाहरूले सल्लाह गर्‍यौँ । टङ्केले ‘असफल’ राख्यो । बिरेले ‘एकल यात्री’ रोज्यो । रिम्केले ‘दुर्लभ’ मन परायो भने राजेन्द्रले ‘राज सान’ । अर्जुनले सुरुमा ‘प्रशान्त’ राख्याथ्यो, पछि के मूड चलेछ कुन्नी, प्रशान्त ‘निश्चल अनुरागी’ मा रूपान्तरित भयो ।

सबैले उपनाम राखे, मलाई भने सुहाउँदो भेटिएन । केटाहरूले दुनियाँथरि पत्रिकामा नाम खोजे । रेडियो सुनेर नाम टिपे । कुनै चित्त बुझेन । अन्तिममा नाम जुर्‍यो ‘लेजीबोन’ । कापीमा नाम होइन, उपनाम लेख्न थालियो । नजिकका साथीहरूले उपनामले नै बोलाउन थाले । अझ उपनामको पछाडि सर थपेर बोलाउँदा त झन् बबाल सुनिन थाल्यो । असफल सर, अनुरागी सर, राज सर, लेजी सर… । ९ कक्षा पढ्दै गर्दा हो, अर्जुनलाई कक्षाकै एउटी नानीमा मन बसेछ । अब जिग्रीको मन बसेसी अरू केटाहरूलाई ‘आँखा लाउलास् नि मुलाहरू’ भनेर सचेत गराउनै पर्‍यो । गराएँ । उत्तिखेरै केटाहरूले ‘भाउजू’ उपनाम दिए ती नानीलाई । साथीको लप परेसी सकेसम्म स्कुल हाप्न खाज्ने हामी रेगुलर स्कुल जान थाल्यौँ । कैलाश डाँडातिर बसेर मुरली फिराउने काम कम हुँदै गयो । सल्यान्टारतिर साइकल सिक्न जानी काम ठप्पै भयो । बाग्पाइले, अँधेरी खोलातिर पौडी खेल्न जानी काम त झन् एकादेशको कहानी भइगयो । जे होस्- साथीको लपले हामीलाई सुधार्‍यो । पढाइ नि सुध्रियो । तर सधैँ एकोहोरो माया मात्र गरेर भएन, अब त प्रपोज हान्न पर्छ यार, भनेर एकदिन अर्जुनलाई उक्साएँ ।

सबैले उपनाम राखे, मलाई भने सुहाउँदो भेटिएन । केटाहरूले दुनियाँथरि पत्रिकामा नाम खोजे । रेडियो सुनेर नाम टिपे । कुनै चित्त बुझेन । अन्तिममा नाम जुर्‍यो ‘लेजीबोन’ । कापीमा नाम होइन, उपनाम लेख्न थालियो । नजिकका साथीहरूले उपनामले नै बोलाउन थाले । अझ उपनामको पछाडि सर थपेर बोलाउँदा त झन् बबाल सुनिन थाल्यो । असफल सर, अनुरागी सर, राज सर, लेजी सर… ।

‘ह्या हुन्न, हेडसरलाई भन्दिई भने तनाप हुन्च’ – अर्जुन बोल्यो । ‘चप्पलले हानी भने त झन् बेइज्जत हुन्छ’ बीरेले थप्यो । ‘ह्या भन्दैन के ! केटीको नि मनै हो । उसले नि तिमीलाई मन पराउँछे । हन्ड्रेड पर्सेन्ट हो’ मैले अलि कडै स्वरमा जवाफ दिएँ । हुँदैन भनेसी हुँदैन‚ भनेर अर्जुन बाटो लाग्यो । अर्जुनलाई मनाउन सकिएन । नमानेपछि भोलिपल्ट त्यही कुरा निकालेर जिस्क्याएँ । पर्सीपल्ट, निकोपर्सीपल्ट… यो काम लगभग १०-१५ दिन चल्यो ।

एकदिन के मूड चलेछ कुन्नी, ‘ल म प्रपोज हान्चु’ भनेर जिग्री तात्तियो । ‘ल गजप भो’ भनेर केटाहरूलाई सुनाएँ । लभलेटर लेख्नलाई लामो खाले कापी किनियो । अर्जुनले तीन रात लाएर चिट्ठी लेख्यो । एकदुईटा चल्तीको इङ्ग्लिस कविता मैले नि सिकाइदिएँ । मोहन सरको स्टेशनरी पसलबाट रोजेश हमाल र विपना थापा भा’को पोस्ट कार्ड किनेर लेराइयो । घरबाट बाउको पर्फ्यूम चोरेर ल्याएर चिट्ठीमा छर्दिएँ । चिट्ठी हरररर बसायो । बास्नाले झण्डै-झण्डै अर्जुनलाई हाच्छ्यूँ नै आयो । पछि भातको माडले चिट्ठीको खाम टालेसी चिट्ठी तयार भयो । चिट्ठी त तयार भयो । तर दिने कसले ? ‘जसले लेख्यो, उसले दिने नि !’ मैरले भनें । ‘त्यस्तो हुँदैन, बिचमा हुलाकी चाहिन्छ ।’ राण्डेले जवाफ फर्कायो । उसो भए कसले दिने त ? केटाहरूबीच सल्लाह भयो । केटाहरूले लास्टमा मैँलाई झोसे । म त सक्दिनँ भनेको, साथीका लागि त्यति गर्दैनस् भनेर दबाब बढाए । हुन त अर्जुनलाई दिनदिनै् उक्साउने मै थिएँ ।

स्कुलमा केटाहरूलाई लभ लेटर काण्डमा अफिस कोठामा लगेर केरकार गरेको झलझली याद आयो । धारापानीको चमन भन्ने भाइ त त्यही लभलेटर काण्डपछि स्कुल नै छोडेर ईन्डिया गएको थियो । पछि ईन्डियामा रोड एक्सिडेन्टमा परेर बित्यो भन्ने खबर आयो । त्यो खबर सुनेपछि सबैभन्दा बढी बेचैन हेडसर देखिन्थे । शायद ! पश्चात्तापमा जल्दै थिए होलान् ।

अब चिट्ठी त दिनैपर्‍यो, दोस्तको मायापिरेमको कुरा जो छ । तर दिने कसरी ? यसै विषयमा फेरि एकपाली उपनामवालाहरूको बैठक बस्यो । लास्टमा दसैँको शुभकामना आदान-प्रदान कार्यक्रमको दिन चिट्ठी दिने भन्ने कुरा भयो । ‘ल ओके डन’ भनेर घरतिर लागियो । शुभकामना आदान-प्रदान कार्यक्रमको दिन आइपुग्यो । अरू केटाहरूमा छुट्टै रौनक थियो, आफूलाई भने पेट पोलेर आपत् । कार्यक्रम सुरु भो । कोहीले गीत गाए, कोहीले मादल बजाए, आफ्नो भने यसै कान ताते । बेलाबेलामा अर्जुनले ‘दियौ त’ भनेर सोधेको सोध्यै फेरि !

कार्यक्रम सकियो । सबै घर जाने सुरसार गर्न थाले । म भने टोलाएर बसिराथें, केशव सरले ओइ स्टेजको टेबल बोक्न आइज भनेर बोलाउनू भो । केटाहरू कुन सड्को घर टाप हानिसकेछन् । म भने टेबल बोक्नमा परेँ । काँधमा टेबल, पाइन्टको पछाडिपट्टी गोजीमा अर्जुनको चिट्ठी जस्ताको तस्तै थियो । मन लागिनलागी टेबल बोकेर अफिस कोठातिर जाँदै थिएँ, भाग्यले ‘भाउजू’ अफिस कोठामै रहिछिन् । वरिपरि कोही नाइँ । मौका यही हो भनेर ‘सुन त’ भनेर फ्यात्त चिट्ठी हातमा राख्देर बेत्तोडले कक्षातिर हान्निएँ ।

किताब केटाहरूले लगिसकेका रहेछन् । सिधै गौँथली दिदीको पसल हुँदै चाँप डाँडातिर दौडिएँ । चाँप बोटनेर केटाहरू मलाई नै कुरेर बसिरारहेछन् । ‘दियौ ?’ अर्जुनले सोध्यो । ‘दिएँ !’ आवाज ठूलै आयो । त्यसपछि हर्ष-बढाइँ भयो । केटाहरूले मलाई झण्डै उचाले । त्यै खुसीयालीमा अर्जुनले तीन पोका रुचि चाउचाउ किन्यो । नुन, घ्यू, खुर्सानी सब हालेर मोलेर खाइयो । मीठै भो ।

दसैँ आयो ।
अष्टमीमा चैनपुर कोट जात्रा गइयो । बिस्नेलाई चैं हजुरबाले जान दिनुभएन । टीका लाइयो । पिङ खेलियो । मासु खाइयो । मगर गाउँमा साथीहरूसँग मिलेर सुँगुर लखेटियो । गुरुङ गाउँ पसेर पाडोको मासु दापियो । बाटो छेउको कोदोको बाला बाँधेर मान्छे लडाइयो । समग्रमा दसैँ रमाइलै भो ।

दसैँ सक्कियो ।
तिहार आउन २-३ दिन बाँकी थियो । मतलब हामी दसैँ-तिहार बिदामा थियौँ । पढ्नलाई ९ कक्षामा पढे पनि ‘होमवर्क’ गर्ने चलन थिएन । त्यसैले हामीलाई ढुक्क थियो । जवाफ के आउला त ? सोचमग्न भएर अर्जुन बोल्यो । ‘अब तिमीजस्तो मान्छेले प्रपोज गरेपछि हन्ड्रेड पर्सेन्ट यास् आउँछ नि !’ मैले थप्दिएँ । ‘नो’ आयो भने ? अब ‘नो’ आए त्यसको आँखामा फुलो पर्‍या रहेछ भन्ठानूँला । मेरो जवाफले अर्जुन मुर्छा परेर हाँस्यो । हाँस्दा आँखा चिम्म भयो । उ हाँस्या देखेर म पनि हाँसेँ । एकछिन चर्को हाँसो चल्यो ।

‘हाँसो रोकिएलगत्तै महावाणी आयो- यो माया भन्नी चीज कडा हुँदो रै’च यार !

‘हो अनुरागी सर,’ मैले सही थाप्दिएँ । अर्जुन बसेको ठाउँबाट जुरुक्क उठेर धुलो टक्टक्यायो । अलि अलि धुलो र दुबोको झुर्का उडेर मेरो अनुहारतिर आइपुग्यो । धुलो सहन नसकेर म नि उठेँ । ‘बिहान हजुरआमाले भुट्या मकै छ, म गुन्द्रुकको अचार बनाम्ला, हाम्रो घर जाम् !’ अर्जुनले एकै सासमा भनी भ्यायो । जाम् भने जाम् त नि भनेर म अगाडि लागेँ । पछाडि-पछाडि अर्जुनले गीत थाल्यो –

तिमी हुन्छ भन जे सुकै सहुँला
यो मायाको सागर मिलेर तरौंला…
मैले पनि स्वर खापेँ ।

तिहार आयो ।
टीका लगाइयो । देउसी खेलियो । देउसी खेल्दा मैले र राण्डेले मादल बजायौँ । कोप्रे बिस्नेले झ्याली बजायो । अर्जुनले गीत थाल्यो । अरूले स्वर खापे । आँखा मात्रै जुधाजुध हुनेहरूले देउसीको बहानामा ढाँड जुधाए, हामीले बेला-बेलामा बत्तल जुधायौँ ।

तिहार सक्कियो ।
स्कुल जानी दिन आयो । पहिलो दिन पढाइ हुन्न भनेर गइएन । दोस्रो दिन अल्छी लागेर गइएन । स्कुल जान भनेर आको राण्डे र बिरे हाम्रै घरबाट फर्किए । तेस्रो दिनदेखि जाने सल्लाह भो । स्कुल त जाने‚ तर नानीको चप्पल खाइने पो हो कि भन्ने डरले पेट पोलिराथ्यो । धन्न केही रियाक्सन आएन । केटाहरूले ‘भाउजू लजाउनू भो’ भनेर लख काटे । मैले नि हो मा हो मिलाइदिएँ । तर कात्तिक गयो, मङ्सिर गयो, पुस गयो… भाउजूको तर्फबाट जवाफ आएन ।

‘किन आएनछ बुझिहेर त विरोध’ भनेर फेरि अह्रायो अर्जुनले । ‘अब केटी हो, केही समय त लागिहाल्छ नि’ भनेर अर्जुनलाई सम्झाएँ । तर माघ लागिसक्दा नि जवाफ नआएपछि ‘अब त जसरी नि सोध’ भनेर उसले आदेशै दियो ।

माघको महिना ।
शुक्रबारको दिन हाजिरीजवाफ प्रतियोगिता थियो स्कुलमा । अन्नपूर्ण सदनको तर्फबाट म, शेरमान र त्यही नानीलाई भाग लिन भनेर ओम सरले चुन्नुभएछ । म बस्दिनँ भन्दा सरले बस्, भाग लिनुपर्छ भनेर कराउनुभयो । हाजिरी जवाफ सुरु भयो । म टिम क्याप्टेन । साइडमा शेरमान र अर्जुनको प्रेमिका उर्फ भाउजू । म त्यसै त नर्भस थिएँ, झन् भाउजू नै साइडमा बसेपछि त वाक् आउला-आउला जस्तो भो ।

फस्ट भइ त हालियो । पुरस्कारमा अनुहारमा अबिर र ईगलवाला ‘बूककापी’ पाइयो । शेरमान र भाउजूले नि बूक कापी पाए । निधारमा रातो अबिरको टीका लाउँदा भाउजू बिछट्टै राम्री देखिइन् । अहिले भएको भए मोबाइलले फोटो खिच्थे हूँला । उता धौलागिरी सदनका धौलेहरूले ठुसुक्क परेर सादा कापीमा चित्त बुझाए ।

कार्यक्रम सुरु भयो ।
प्रश्नको जवाफ दिँदा विरोधको आवाज सानो भयो भनेर सरले भनेपछि अलि ठूलो स्वरले बोलेँ । हाजिरी जवाफ राम्रै हुँदै थियो । प्रश्नको सही जवाफ दिँदा बाहिर बसेका हाम्रा केटाहरूले १ मिनेटजति ताली बजाइदिन्थे । म झन् नर्भस । अन्तिममा अन्नपूर्ण सदनको- १९‚ धौलागिरी सदनको पनि १९ नै अंक भयो । बाँकी एउटा प्रश्न थियो । त्यो प्रश्नको सही उत्तर नदिएको खण्डमा धौलागिरीले प्रतियोगिता जित्ने कन्फर्म थियो ।

प्रश्न आयो – सबैभन्दा छिटो बढ्ने बिरुवा कुन हो ? ला…! मलाई त आउन्न, तिमीलाई आउँछ शेरमान ?
-आउँदैन दाइ ।
– अनि तिमीलाई नि ?‚ भाउजूसँग पहिलोपटक बोली मिसियो ।
– अँह ! भाउजूले मधुर स्वरमा जवाफ दिनुभयो । लु नआउने नै भयो, गयो खोलैखोला भनेर मन लागीनलागी सानो स्वरमा भनेँ – पास् !
‘सही जवाफ’ उताबाट ठूलो आवाज आयो । बाहिर दर्शक-दीर्घामा बसेका केटाहरूले लगभग २ मिनेट ताली बजाइदिए । हुटिङ लाइदिए ।
म अलमल्ल‚ अचम्म ! पास, भनेको मैले त ! कसरी सही जवाफ भयो ? कसरी ? हाउ ? हाउ ? हाउ ?

फस्ट भइ त हालियो । पुरस्कारमा अनुहारमा अबिर र ईगलवाला ‘बूककापी’ पाइयो । शेरमान र भाउजूले नि बूक कापी पाए । निधारमा रातो अबिरको टीका लाउँदा भाउजू बिछट्टै राम्री देखिइन् । अहिले भएको भए मोबाइलले फोटो खिच्थे हूँला । उता धौलागिरी सदनका धौलेहरूले ठुसुक्क परेर सादा कापीमा चित्त बुझाए ।

घर जानी बेलामा भाउजूलाई खुसुक्क सोधेँ – खै त जवाफ ?
यसपाली यति भनेर म भागिनँ । आँट बढिसकेको थियो । कुटाइ नै खान परे पनि साथीका लागि खाइदिम्ला भन्ने भइसक्याथेँ । पछि बाटोमा

अर्जुनले सोध्यो- सोध्यौ त ?
– सोधेँ ।
– के भनिन् त !
– लाज मानिन् ।

अन्ततः भाउजूको जवाफ आयो ।
चिट्ठीको बाहिरपट्टी लेखिएको थियो‚ मनदेखि – मुटुसम्म ।

चिट्ठी पाउनेबित्तिकै अर्जुनलाई दिएँ । केटाहरूलाई नि भाउजूले जवाफ दिनू भयो भनेर सुनाइदिएँ । सबैमाझ हर्षोल्लास छायो । भोलिपल्ट अर्जुन स्कुल आएन । मनमनै सोचेँ – केटो लजायो । अर्कोदिन पनि आएन । साथीभाइहरूमाझ गफ भयो – केटो डीप लपमा पर्‍यो अब । अर्को दिन नि नआएपछि बेलुकी अर्जुनको घर पुगेँ । ऊ आँगनको छेउमा झोक्राएर बसिरहेको रहेछ ।

मयाँले गलाएछ – मनमनै सोचेँ । के भयो यार ? किन स्कुल नआको ? भाउजूले के भन्नू भो ? – मैले सोधेँ ।
जिग्री त केही बोल्दैन । के भयो ? किन नबोलेको ? – मैले फेरि सोधेँ ।
अर्जुन केही नबोली बसेको ठाउँबाट उठेर धन्सारतिर गयो र एकछिनमा एउटा चिट्ठी हातमा बोकेर आयो । त्यो चिट्ठी भाउजूले दिएकै चिट्ठी थियो । लाऊ, आफैँ पढ भनेर मेरो हातमा चिट्ठी फाल्दियो । साथीको चिट्ठी पढौँ कि नपढौँ भयो ।
ह्या… ! जेसुकै होस् भनेर खोल्देको त सुरुमै लेखिएको छ ‘डियर विरोध’ ।

मलाई त भाउन्न भयो । वाक् आउला आउलाजस्तो भयो । कहाँको कुरा कहाँ पुगेछ । एकछिन त के भन्ने के नभन्ने तनाव भयो ।

मैले होइन, मैले केही गरेको छैन भनेर हजार बिन्ती गरेँ । तर अर्जुनले पत्याए पो ! पछि छानबिन गर्दा थाहा भयो, अर्जुनले चिट्ठीको अन्तिममा आफ्नो नामको साटो ‘निश्चल अनुरागी’ लेखेर मरेको रहेछ र भाउजूले निश्चल अनुरागी मलाई बनाएर मरिछिन् । यता जिउँदै मरेसरी भयो‚ मिस्टर लेजीबोन उर्फ विरोध । पछि भाउजूलाई भेटेर त्यो चिट्ठी मैले लेखेको होइन‚ अर्जुनले लेखको हो भनेँ । तर, उल्टै भाउजूले त – ‘पापी, मायालाई खेल सम्झिने अपराधी’ भनेर साफ थर्काइन् । यता अर्जुन मसँग बोल्नै छोड्यो । बोल्न छाडेमात्र त हुन्थ्यो, कक्षामा बस्नी बेन्च नै चेन्ज गर्‍यो । अनि पछि थाहा भयो, सबैभन्दा छिटो बढ्ने बिरुवा ‘बाँस’ रहेछ ।

प्रतिक्रिया

One thought on “निश्चल अनुरागी भर्सेस लेजिबोन

  1. महान लेख अनि पछि के भयो त भान्जा भनेर सोधेमा कथा सकियी भन्नू होला त्यसैले प्रस्न सोधिन लेखमा समाज र भावना समेटिएको छ ! नमन !!

Leave a Reply

Your email address will not be published. Required fields are marked *