एमसीसी पास हुन्छ : प्रधान मन्त्री देउवा

काठमाडौँ । प्रधान मन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) संसद्बाट प्रक्रिया पूरा गरेर पास हुने बताएका छन् । बिहान त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलका पत्रकारसँग कुरा गर्दै उनले एमसीसी ऋण नभई अनुदान भएकाले यसलाई प्रक्रिया पूरा गरेर अगाडि बढाउने बताएका हुन् ।

प्रधान मन्त्री देउवाले एमसीसीलाई नआत्तिन आग्रह गरेको बताएका छन् । पत्रकारको जिज्ञासा देउवाले भने, ‘सहमति गरेर हामी एमसीसी हामी पास गर्छौँ, संसद् अधिवेशन अर्कै कारणले बन्द गरेका हौँ, आत्तिन पर्दैन भनेको छु ।’​

बेलायतमा मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी)की डेपुटी सीईओ एलेक्सिया लाटोर्टुले प्रधान मन्त्री देउवासँग भेट गरी नेपाललाई प्रदान गरेको एमसिसी कम्प्याक्ट अनुदानका विषयमा छलफल गरेकी थिइन् । यस अगाडि एमसीसीले विज्ञप्ति जारी गर्दै सम्झौतालाई अघि बढाउने-नबढाउनु अब नेपालकै हातमा रहेको स्पष्ट पारेको थियो । एमसीसी सम्झौता अनुमोदन नगरी संसद् अधिवेशन अन्त्य गरिएको भन्दै एमसीसी मुख्यालयले निराशा व्यक्त गरेको थियो ।

अर्को प्रसङ्गमा देउवाले पाँच दलीय सत्ता गठबन्धन आगामी चुनावसम्मै कायम रहने सङ्केत गरे । ‘गठबन्धन पुरै समयसम्म रहन्छ । गठबन्धनबारे कुनै किसिमको शङ्का नगर्नु भए हुन्छ,’ उनले भने ।

देउवा संयुक्त अधिराज्यको ग्लास्गोमा जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको पक्ष राष्ट्रको २६औँ सम्मेलन (कोप–२६) अन्तर्गत दुई दिने विश्व नेताहरूको शिखर सम्मेलनमा सहभागी भएर बेलायतबाट फर्किएका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *