भारतीय क्रिकेट टीमको प्रमुख प्रशिक्षक बने द्रविड

काठमाडौँ । राहुल द्रविड भारतीय टीमको नयाँ प्रशिक्षक बनेका छन् । द्रविडलाई टी-ट्वेन्टी विश्वकप पछि टीमको जिम्मेवारी दिइने छ । न्युजिल्यान्डसँगको घरेलु सिरिज उनको यो भूमिकापछिको पहिलो प्रतियोगिताका रूपमा रहनेछ । वर्तमान प्रशिक्षक रवि शास्त्रीले यसअघि नै टी-ट्वेन्टी विश्वकप पछि भारतीय टीम छाड्ने घोषणा गरेका थिए ।

मुख्य प्रशिक्षक नियुक्त भएपछि द्रविडले भारतीय टीमको मुख्य प्रशिक्षकको जिम्मेवारी पाउनु गर्वको कुरा भएको बताएका छन् । उनले भने ‘भारतीय क्रिकेट टीमको मुख्य प्रशिक्षक बन्नु मेरो लागि निकै सम्मानको कुरा हो । म वास्तवमै यो भूमिकाका लागि खुसी छु र प्रतीक्षारत पनि।’ उनले शास्त्रीको प्रशिक्षणमा भारतले निकै राम्रो प्रदर्शन गरेको भन्दै टिमको यो लयलाई थप परिष्कृत गरेर अघि बढ्ने बताए ।

नेशनल क्रिकेट एकेडेमीको अध्यक्ष थिए राहुल
राहुल द्रविड यसअघि नेशनल क्रिकेट एकेडेमीका अध्यक्ष थिए। आईपीएल फेज-२ का क्रममा बीसीसीआईले द्रविडलाई मुख्य प्रशिक्षक बन्न प्रस्ताव गरेको थियो। त्यसपछि उनले एकेडेमीको अध्यक्षबाट राजीनामा दिँदै मुख्य प्रशिक्षकका लागि आधिकारिक रूपमा आवेदन दिएका थिए।
द्रविड केही समय अघि भारतको श्रीलङ्का भ्रमणका क्रममा प्रशिक्षक रहेका थिए । मुख्य टीम इंग्ल्यान्ड भ्रमणमा रहेका कारण बिसीसीआईले उनको प्रशिक्षणमा दोस्रो टीमलाई श्रीलङ्का पठाएको थियो।

कस्तो रह्यो शास्त्रीको कार्यकाल
टी-ट्वेन्टी विश्वकपपछि शास्त्रीसँगै बलिङ प्रशिक्षक भरत अरुण तथा फिल्डीङ प्रशिक्षक आर.श्रीधरको कार्यकाल पनि सकिँदै छ । रवि शास्त्रीले २०१७ मा भारतीय टीमको मुख्य प्रशिक्षकको जिम्मेवारी सम्हालेका थिए। २०१९ मा उनको करार थप गरिएको थियो।

रवि शास्त्रीको प्रशिक्षणमा विराट कोहलीको कप्तानीमा रहेको भारतीय टीमले विदेशी भूमिमा टेस्टमा निकै राम्रो सफलता हात पारेको थियो। अस्ट्रेलिया भ्रमणमा ऐतिहासिक रूपमा घरेलु टोलीलाई हराएर भारतले पहिलो पटक टेस्ट सिरिज जितेको थियो । पहिलो पटक आयोजित टेस्ट च्याम्पियनसिपमा भारत फाइनल पुगेको थियो । यद्यपि फाइनलमा न्युजिल्यान्डसँग भारत पराजित रह्यो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *