नारायणकाजीको प्रस्ताव- पार्टी बाहिरका सक्षम व्यक्तिलाई राजदूत बनाऔँ

काठमाडौँ । सत्तारुढ माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले सत्ता गठबन्धन दलको नभइ शीर्षस्थ नेताहरूको ‘गठबन्धन’ जस्तो बनेको आरोप लगाएका छन् । ‘मेरो नेतृत्वमा गठबन्धनको सरकारमा सहभागी हुनुपर्छ’ भन्दै आएका नेता श्रेष्ठ सरकारमा सहभागी हुन नपाएपछि पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग रुष्ट छन् । यसपछि नेता श्रेष्ठले गठबन्धनको कामकाे आलोचना गरेका हुन् ।

शुरूका दिनका सबै बैठकहरूमा आफू पनि सधैँ उपस्थित भएकाे र संघर्ष सफलपछिका कतिपय बैठकहरूबारे आफूलाई जानकारी भएको भन्दै नेता श्रेष्ठले असन्तुष्टि जाहेर गर्दै आएका छन् । यसबीचमा गठबन्धनको बैठकमा अघिल्लो सरकारले नियुक्त गरेका सबै राजदूतलाई फिर्ता बोलाउनेबारे छलफल भएको थियो । उक्त बैठकमा नेता श्रेष्ठले सबै राजदूतहरूलाई बोलाउन नहुने अडान लिएका थिए । त्यसपछि अर्को बैठकमा भएको छलफल तथा निष्कर्षबमोजिम सरकारले असोज ५ गते १२ देशका राजदूतहरूलाई फिर्ता बोलाउने निर्णय गरेको थियो ।

नेता श्रेष्ठले यसप्रति आपत्ति जनाउँदै यसकाे विपक्षमा उभिएका छन् । सबै राजदूतहरूलाई फिर्ता बोलाउँदा अघिल्लो सरकारले नियुक्त गरेको सबै राजदूतहरूलाई फिर्ता बोलाउने नजिर बस्ने र त्यो लोकतान्त्रिक नहुने जिकिर नेता श्रेष्ठको छ । ‘कुनै पार्टीमा नलागेका देशभक्त, स्वच्छ, योग्य र प्रतिभावान् व्यक्तिहरूले राष्ट्रसेवाको अवसर कहिल्यै नपाउने अवस्था बन्छ,’ नेता श्रेष्ठले आफ्नो फेसबूकमार्फत भनेका छन्, ‘अन्यथा यो देश र व्यक्ति दुवैका लागि अन्यया हुन्छ । पार्टी बाहिरका याेग्य र सक्षम व्यक्तिहरूलाई राजदूतमा नियुक्त गराैँ ।’

नेता श्रेष्ठले तीन देशका लागि राजदूत नियुक्त गरिसकिएको भए पनि बाँकी देशहरूका लागि नियुक्त गरिँदा पार्टी बाहिरबाट याेग्य व्यक्ति छानिनुपर्ने बताएका छन् । उनले भनेका छन् , ‘बाँकी राजदूतहरू नियुक्तिको सम्बन्धमा मेरो समयमै अनुरोध छ । कम्तीमा पनि केही संख्या पार्टीहरूको भागबण्डा भन्दा छुट्टै साझा सूची बनाऔँ ।’

यसअघि सरकारले भारतका लागि डा शंकर शर्मा, बेलायतका लागि ज्ञानचन्द्र आचार्य र अमेरिकाका लागि प्रा श्रीधर खत्रीलाई राजदूतमा सिफारिस गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *