अदालतको असंवैधानिक फैसलाले न्याय मर्‍यो : ओली

विराटनगर । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अदालतको असंवैधानिक फैसलाले न्याय मरेको बताएका छन् । विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै ओलीले संसद् पुनःस्थापनासँगै प्रधानमन्त्रीमा शेरबहादुर देउवाको नियुक्ति परमादेशबाट गरिएकाले यस्तो फैसलाले न्याय मरेको बताएका हुन् ।

अध्यक्ष ओलीले दुनियाँमा नभएको, संविधानमा नभएको, कुनै देशमा अभ्यास नभएको, जनताको सार्वभौमसत्ता खोसेर अदालतमा लिने खालका असंवैधानिक र अन्यायपूर्ण फैसला भएकाले त्योबेला देखि नै न्याय मरेको बताएका हुन् ।

‘जनताको सार्वभौमसत्ता खोसेर अदालतमा लिने खालका असंवैधानिक र अन्यायपूर्ण फैसला भएर न्याय त मरेकै थियो नि ! तपाईँहरूले थाहा पाउनु भएन ?’ उनले भने, ‘त्योबेला तपाईँहरूले थाहा पाउनुभएनछ, अहिले अलिअलि छताछुल्ल भएपछि थाहा पाउन थाल्नुभएछ ।’ उनले अदालतको असंवैधानिक कदमको एमालेले अहिले पनि विरोध गरिरहेको बताए ।

त्यो बेलाको फैसलामा सहभागी जो जो छन्‚ सबैले राजीनामा दिनुपर्ने ओलीले बताए । ‘अदालतमा सबै राजीनामा दिने खालका हुनुहुन्छ, अदालतको मर्यादा कसैले पनि पूरा गरेको छैन,’ उनले भने, ‘संविधानको व्याख्यातासम्म हो अदालत, संविधानको परिवर्तनकारी, संविधान संशोधन गर्ने, संविधान हेरफेर गर्ने अदालतले होइन ।’

अदालतले आफैँ संविधानका अनेक धाराहरू सिर्जना गरेको ओलीको आरोप छ । ‘राजीनामा दिनुपर्नेमा प्रधानन्यायाधीशमात्र होइनन्,’ उनले भने, ‘जो जससँग सम्बन्धित छ/छन् सबै हुन् ।’

एमसीसीको बारेमा गरिएको प्रश्नमा ओलीले  देउवा र प्रचण्डलाई सोध्न भनेका छन् । दुवै जनामध्ये एक जनाले जनतालाई झुक्याउने काम गरेको उनले बताए । ‘एमसीसीको बारेमा सरकारलाई सोध्नुस् न,’ उनले भने, ‘शेरबहादुर जी हस्ताक्षर गरेर पठाएको भन्नुहुन्छ, प्रचण्ड जी होइन भन्नुहुन्छ । दुईवटामध्ये एउटाले त झुट बोलेको हो नि, होइन ?’ एमालेले अहिले नै एमसीसीको बारेमा केही नबोल्ने बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *