न्यायापालिकाबारे बोल्न दलहरूलाई दबाब बढ्दै

काठमाडौँ । नेपाल बार एशोसिएशनका पूर्वसदस्य रमनकुमार कर्णले राजनीतिक दलहरूले न्यायालयका विषयमा अब बोल्नुपर्ने बताएका छन् । कानून व्यवसायीहरूको विरोध सभालाई सम्बोधन गर्दै कर्णले आफूहरूको एजेण्डा प्रधान न्यायाधीशको राजीनामा मात्रै नभएको उल्लेख गर्दै भने, ‘राजनीतिक दलहरूले चाहिँ न्यायापालिकाको शुद्धीकरण चाहने कि नचाहने ? प्रमुख राजनीतिक दलहरूले बोल्नुपर्‍याे । के हामीले यत्तिकै यसो भनिरहेका छौँ ?’ राजनीतिक दलहरूले नबोले आफूहरूको आन्दोलन राजनीतिक दलतर्फ सोझिने उनले चेतावनीसमेत दिए ।

उनले प्रधान न्यायाधीश चोलेन्द्रशमशेर जबरा न्यायापालिकाको बाधक बनेको आरोप पनि लगाए । कर्णले भने, ‘यो कुरा एकाएक आएको होइन । यी विगत २ वर्षयता आएको कुराहरू हुन् । न्यायापालिकाको गरिमा बचाउनको लागि भएपनि अब तपाईंले राजीनामा दिनुपर्छ । तपाईं न्यायालयको बाधक बन्नुभयो ।’

बारले २ वर्षपहिले नै १९ बुँदे ध्यानाकर्षण पत्र बुझाएको र त्यसलाई प्रधान न्यायाधीश जबराले बेवास्ता गरेको उल्लेख गर्दै कर्णले थपे, ‘न्यायाधीशहरूको नियुक्तिमा विकृति भयो । न्याय सम्पादनमा विसंगति देखियो । हामीले सुद्धीकरणका लागि यसो भनिरहेका छौँ । न्यायालय सुध्रिन्छ कि भनेर धेरै धैर्यधारण गर्यौँ । तर, भएन । अबको निकास तपाईं (प्रधान न्यायाधीश) ले दिनुपर्छ ।’

यस्तै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले नेपालको न्यायापालिकाको इतिहासमा चोलेन्द्रशमशेर जबराजत्तिको भ्रष्ट प्रधान न्यायाधीश कोही नभएको ठोकुवा गरे । ‘उहाँ (चोलेन्द्र) भन्दा असक्षम, अयोग्य र भ्रष्ट प्रधान न्यायाधीश कोही भएनन्,’ अधिवक्ता त्रिपाठीले भने, ‘यो न्यायापालिकाकै अनुहारमा कालो भयो ।’

प्रधान न्यायाधीशलाई आफ्नै सहकर्मीले समेत विश्वास नगरेको दृष्टान्त सुनाउँदै त्रिपाठीले भने, ‘आफ्नै सहकर्मीहरूले राजीनामा दिनुस् भनेका छन् । आफ्नै न्याधीशहरूले राजीनामा मागेका छन् । योभन्दा दुखद् के हुन्छ ? तर, उहाँले राजीनामा दिन सक्नुभएको छैन । तर, राजीनामाको विकल्प छैन ।’

न्यायापालिकामा जबरा पूरै असफल भइसकेको त्रिपाठीको दाबी थियो । ‘उहाँ न्यायापालिकामा पूरै असफल भइसक्नुभो । अब अर्को नेतृत्व नआई न्यायापालिकामा सुधार हुँदैन,’ उनले भनेका छन् ।

यस्तै अधिवक्ता ईश्वरीप्रसाद भट्टराईले प्रधान न्यायाधीशसँग राजीनामाबाहेक कुनै विकल्प र सर्त नभएको बताए । राजीनामाबाहेकका अन्य विकल्प बार र बेन्चलाई स्वीकार्य नहुने दोहोर्‍याउँदै अधिवक्ता भट्टराईले भने, ‘राजीनामाको विकल्प छैन । अहिल्यै राजीनामा दिनुस् । हामी तपाईंलाई सम्मानका साथ बालुवाटारसम्म छोड्न तयार छौँ । तर, राजीनामा नगरीकन आलटाल गर्ने कुरा नगर्नुस् ।’

बार र बेन्च दुवैले प्रधान न्यायाधीशको राजीनामा माग्नु सानो कुरा नभएको भट्टराईले औंल्याए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *