मुख्यमन्त्री पाण्डेले लिए विश्वासको मत

काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले विश्वासको मत लिएका छन् । मुख्यमन्त्री पाण्डेले सोमबार बसेकाे प्रदेश सभा बैठकबाट विश्वासको मत लिएका हुन् ।

पाण्डेले ‘विश्वासकाे मत पाउँ’ भनी राखेकाे प्रस्तावकाे पक्षमा ५९ मत पर्‍याे भने विपक्षमा ४३ मत परेकाे छ । यस्तै २ जना सांसदले मत दिएनन् अर्थात् उनीहरू तटस्थ रहे । आजकाे प्रदेश सभा बैठकमा १०४ जना सांसद उपस्थित थिए । पाण्डेलाई सरकारकाे निरन्तरताका लागि ५५ मत आवश्यक पर्थ्याे । तर उनले ५९ मत पाए । याेसँगै  पाण्डे नेतृत्वको सरकार कायम रहने भएकाे छ ।

मुख्यमन्त्री पाण्डेलाई एकीकृत समाजवादीको अतिरिक्त माओवादी केन्द्र, नेपाली कांग्रेस, र जनता समाजवादी पार्टीले मत दिएका हुन् । उनी केन्द्रीय गठबन्धनअनुसार मुख्यमन्त्री बनेका हुन् । माधवकुमार नेपालले एमाले फुटाएर एकीकृत समाजवादी गठन गरेपछि बागमतीमा पाण्डे मुख्यमन्त्री बनेका हुन् ।

यसअघि प्रदेशमा एमाले नेतृत्वको सरकार थियो । एमालेको तर्फबाट डोरमणी पौडेल र अष्टलक्ष्मी शाक्य मुख्यमन्त्री बनेका थिए । नेपालले एमाले फुटाएसँगै अल्पमतमा परेकी शाक्यले गत कात्तिक १० गते पदबाट राजीनामा दिएकी थिइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *