सभामुखसँगै अर्थमन्त्रीले गरे बाह्रबिसे तातोपानी सडक र नाका क्षेत्रको अवलोकन

काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले अरनिको राजमार्ग अन्तरगत सिन्धुपाल्चोकको बाह्रबिसे तातोपानी सडक खण्डको अवलोकन गरेका छन् । अवलोकनमा सभामुख सापकोटासँगै अर्थमन्त्री जनार्दन शर्मा पनि सहभागी थिए । उनीहरूले तातोपानी भन्सार र मितेरी पुल सम्मको अवलोकन भ्रमण गरी त्यहाँको वर्तमान अवस्थाबारे जानकारी समेत लिएका छन् ।

अवलोकनपछि सभामुख सापकोटा र मन्त्री शर्मा तातोपानी भन्सार कार्यालयमा आयोजित सडक पूर्वाधार तथा वाणिज्य व्यापार सम्बन्धी छलफलमा सहभागी भएका थिए । छलफलमा सभामुख सापकोटाले बाह्रबिसेदेखि तातोपानी नाका सम्मको सडकको पुनर्निर्माण लगायतका विकास कार्यलाई बहुवर्षिय योजनाको रूपमा लैजानु पर्ने आवश्यकता औँल्याए ।

उनले त्यसका लागि तत्कालीन, अल्पकालीन र दीर्घकालीन खाका बनाएर अगाडी बढ्नुपर्नेमा जोड दिए । नेपाल चीन सम्बन्धमा ऐतिहासिक महत्त्व बोकेको, जन्ती मार्ग समेत भनिने यो नाकालाई अन्य नाकासँग तुलना गर्न नमिल्ने भन्दै उहाँले सो क्षेत्रको सुधारबाट राज्यले ठूलो फाइदा लिन सक्ने बताए ।

भूकम्प, बाढी र पहिरो जस्ता विपत्तिका कारण बाह्रबिसे देखि तातोपानी सम्मको सडक व्यवस्थित गर्न चुनौती भएको उनको भनाइ थियो । सभामुख सापकोटाले सीमा नाकाबाट आयात निर्यात सहजीकरणका लागि चिनियाँ अधिकारीहरूसँग छलफल भइरहेको जानकारी दिँदै छिट्टै थप सहज हुने विश्वास व्यक्त गरे ।

उनले सो सडक खण्ड सुधारका लागि सरकारी प्रतिबद्धता अनुसार परिणाम आउने गरी काम अघि बढ्नुपर्ने बताए । अवलोकनमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रविन्द्र नाथ श्रेष्ठलगायतका सरकारी अधिकारीहरू, राजनीतिक दलका नेताहरू, सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी, जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरू, भोटेकोसी गाउँपालिकाका अध्यक्षलगायत जनप्रतिनिधिहरू, उद्योगी, व्यवसायीहरू र स्थानीयको उपस्थिति थियो ।

सभामुख सापकोटाले तातोपानी नाकाबाट हुने आयात निर्यात एवं सडक मार्गलाई व्यवस्थित गर्ने विषयमा लगातार पहल गर्दै आएका छन् । भूकम्प, भोटेकोसी बाढी र विभिन्न समयमा आएका ठूला पहिरोका कारण केही वर्षयता अरनिको राजमार्ग अन्तरगतको बाह्रबिसे तातोपानी  सडक खण्डमा सहज आवागमन हुन सकिरहेको छैन । कोभिड–१९ महामारीका कारण सीमा क्षेत्रमा गरिएको कडाईका कारण तातोपानी नाकाबाट हुने आयात निर्यात समेत पूर्ववत् अवस्थामा फर्कन सकेको छैन ।

सभामुख सापकोटाको निर्वाचन क्षेत्र समेत रहेको सो क्षेत्रमा २०७१ सालमा आएको जुरे पहिरो, २०७२ सालको महाभूकम्प, २०७३ को भोटेकोसी बाढी, २०७४ मा लार्चा पुल नै पहिरोमा परी बगेको, २०७५ मा साधी खोलाले पक्की पुल बगाएको, २०७७ सालमा बाह्रबिसे नगरपालिकाको जम्बु, खागदल र भोटेकोसी गाउँपालिकाको लार्चामा आएको बाढी, पहिरोका कारण राजमार्गमा ठूलो क्षति पुगेको थियो ।

२०७६ सालको अन्त्यबाट विश्वव्यापी रूपमा देखा परेको कोभिड १९ महामारीका कारण लामो समयसम्म उत्तरी सीमा नाका बन्द रहेको थियो । भूकम्पपछि सभामुखको पहलमा खुलेको तातोपानी नाका व्यवस्थित गर्न र राजमार्गमा आइपर्ने व्यवधान हटाइ राजमार्ग सुचारु  गर्न सभामुखकै पहलमा  काम हुँदै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *