बारको अल्टिमेटम आज सकिँदै, जबराले देलान् राजीनामा ?

काठमाडौँ । प्रधान न्यायाधीश चोलेन्द्रशमशेर जबरालाई राजीनामा दिन  नेपाल बार एसोसिएसनले दिएको अल्टिमेटम आज (शुक्रबार) सकिँदैछ । प्रधान न्यायाधीश जबराले शुक्रबार दिउँसो ३ बजेसम्म राजीनामा नदिए बारले आन्दोलन थप सशक्त बनाउने चेतावनी दिएको छ । तर प्रधान न्यायाधीश जबरा भने राजीनामा नदिने अडानमा छन् ।

सर्बोच्चका सहकर्मी न्यायाधीसको दबाब र कानून व्यवसायीको निरन्तरको धर्ना र प्रदर्शनबीच उनी दैनिक सर्वोच्च अदालतमा पुगेर सबै प्रकारका मुद्दाको पेसी  तोक्दै आएका छन् ।  जबराले विवाद समाधानका लागि छलफलमा आउन आह्वान गरेपनि बारले अस्वीकार गर्दै आएको छ ।  बार अध्यक्ष चण्डेश्वर श्रेष्ठ प्रधान न्यायाधीश जबराले जारी गरेको विज्ञप्ति आँखामा धुलो हाल्न ल्याइएको बताउँछन् ।

प्रधान न्यायाधीशको राजीनामा नै अन्तिम विकल्प भएको भन्दै बारले आन्दोलन गरिरहेको छ । बिहीबार सर्वोच्च अदालत परिसरमा कानुन व्यवसायी र प्रहरीबीच केहीबेर घम्साघम्सी परेको थियो । सो क्रममा बारका अध्यक्ष श्रेष्ठलगायत १२ जना कानून व्यवसायीहरू घाइते भएपछि स्थिति तनावपूर्ण बनेको थियो । शान्तिपूर्ण आन्दोलनमाथि बल प्रयोग गरेको भन्दै बार थप आक्रोशित भएकोछ । बिहीबार दिउँसो आकस्मिक बैठक नै बोलाएर बारले घटनाको भर्त्सना गरेको छ ।

कानून व्यवसायीहरूको लगातारको आन्दोलन, प्रधान न्यायाधीशको राजीनामा नदिने अडान र राजनीतिक दलहरूको बेवास्ताका कारण अवस्था झनै जटिल बन्दै गएको छ । सर्वाेच्च अदालतमा लामो समयदेखिको विवाद समाधानका लागि सरकार र राजनीतिक दलले कुनै प्रयत्न नगरेको भन्दै आलोचना हुन थालेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *