रमिते स्थानीय सरकार, बस्ती नै उठिबास लाग्ने डर
विराटनगर । सुनसरी र मोरङ जिल्लाको बीचबाट बुढिखोला बग्छ । बुढिखोला आकारमा सानो छ, तर यसले पुर्याउने क्षति भने सानो छैन । बेलाबेला यसले ठूलै क्षति गर्दै आएकाे छ । त्यसको कारण भने आसपासमा हुने गरेकाे उत्खनन नै हो । निजी तथा सार्वजनिक जग्गाबाट भएको मनपरी उत्खननले अहिले खोला कुरूप मात्रै बनेकाे छैन, यसकाे असरले सिङ्गाे मानवबस्ती नै जाेखिममा परेकाे छ ।
त्यसाे त नजिक रहेका सरकारी संरचनाहरूमा क्षति पुग्ने खतरा बढ्बने भइहाल्याे । बिहीबार बिहान पनि साेही दृश्य दाेहाेरियाे । कोशी राजमार्गको दुहबी बजार र नेमुवाको बीचमा पर्ने बुढिखोलामा पुल छ । त्यहाँबाट करिब २ किलोमिटर दक्षिणमा एउटा नयाँ पुल बनेको छ। त्यो पुल करिब २ वर्षअघि मात्र निर्माण सम्पन्न भएकाे हाे । जसले सर्वसाधारणकाे आवतजावतलाई सजिलो बनाएकाे छ ।
दुहबी नगरपालिका वडा नम्बर ७ मा जोडिएको त्यो पुल मोरङको बुढिगंगा गाउँपालिकाको वडा नम्बर ४ र ३ को सिमानाको जीतभान टोल भएर कोशी राजमार्गमा निस्कन्छ ।
बिहीबार बिहान त्यहाँ टिपरका लाम लागेर खोलामा पस्ने तयारी गर्दै थिए । केही टिप्पर खोलाबाट निस्कँदै थिए । पुलको दक्षिण तर्फको भाग सुनसरी तर्फबाट खनिएको थियो भने पुल उत्तरको भाग मोरङ तर्फबाट खनिँदै थियो । लाईन लागेर वारपार गरेका टिप्परहरू त्यहाँबाट खोलामा प्रवेश गर्थे । त्यहाँ भएको जेसीबी तथा एस्काभेटरले खनेर टिप्परमा हालेको दृश्य भयावह देखिन्थ्यो ।
बाहिरबाट जाने जोकोहीलाई त्यहाँको अवस्थाले निकै भावुक बनाउँथ्याे । पुलसँगै जोडिएर त्यसरी भएको उत्खननले कुन दिन पुल ढल्ने हो भन्ने चिन्ता जाेकाेहीलाई पनि हुन्थ्याे । सुनसरीको दुहबीको भलुवाका स्थानीय एकवाल तेलीले दुई वर्ष अगाडी निर्माण भएको पुल कुन दिन ढल्ने हो भन्ने चिन्ता लागेको बताए । लामो प्रतीक्षा गरेर बनाएको पुल भत्काउने अवस्थामा पुग्दासमेत स्थानीय प्रशासनले चासो नदेखाएको उनको भनाइ छ । ‘दक्षिण तर्फ मरुभूमिजस्तै पारेर खनिएको छ,’ उनले भने, ‘उत्तरतिरकाे अवस्था पनि उस्तै नै छ । यस्तै अवस्था लामाे समयसम्म रहने हो भने कुन दिन पुल ढलेको सुन्नुपर्ने हो ।’
हिउँदभरी खन्ने, वर्षा लागेपछि बाढी आएर क्षति गर्दै आएकोले पक्की संरचना त नासिँदै जान्छ नैै बस्ती पनि जोखिममा पर्ने उनले बताए ।
बुढिगंगा गाउँपालिका वडा नम्बर ३ का बहुरलाल सरदारले जीतभान टोलको पक्कीपुल र करिब २ सय मिटर दक्षिण बजरंगी टोलमा पनि अर्को पुल बन्दै गरेको अवस्थामा बीचकाे भागमा जेसिबी लगाएर कटान भइरहेकाे बताए । पहिला पनि यसैगरी खोला उत्खनन गरिदिँदा गाउँ डुबानमा परेको गुनासो गर्दै उनले यसरी अहिले भएको कटानले क्षति पुग्ने सुनाए । खोला कटान गर्दै माटो अन्यत्र लग्ने हो भने गाउँ बगाउने उनको चिन्ता छ । सुनसरी क्षेत्रमा खोलाको सार्वनिक ऐलानी जग्गा र केही व्यक्तिकाे उत्खनन भएको र मोरङ तर्फको व्यक्तिकाे जग्गा खोलाको बीचसम्म पर्ने भएकोले त्यहीँबाट दैनिक सयौँ टिप्पर माटो निकासी हुने गरेको स्थानीयको भनाइ छ ।
सेटिङ्गमा चल्छ सबै थाेक
बुढिखाेला भएको उत्खननकाे बारेमा स्थानीयले कहिले प्रहरी गुहारे त कहिले स्थानीय सरकारलाई जानकारी गराए । तर कुनै पहल नभएकाे उनीहरूकाे भनाइ छ । कहिलेकाहीँ गएर ट्याक्टर र टिप्पर समाउने काम भएपनि अर्को दिनदेखि कुरा मिल्ने गरेको उनीहरूकाे भनाइ छ ।
स्थानीयहरूले खोला उत्खननबारे रिपार्टिङ्ग सुनसरी प्रहरीका प्रमुख एसपी सञ्जयसिंह थापालाई समेत गरेका थिए । तर आफूहरूकाे रिपाेर्टिङ्गअनुसार पहल नभएकाे उनीहरूकाे भनाइ छ । दुबही नगरपालिकाले यसअघि स्थानीयले दिएकाे जानकारीका आधारमा केही ट्याक्टर नियन्त्रणमा लिएको दाबी गरेपनि स्थानीयकै कारण समस्या भएको प्रमुख प्रशासकीय अधिकृत विनोद न्यौपानेले बताउँछन् ।
दुहबी तर्फ बुढिखोलाको समस्या भनेको अधिकांशको जग्गा खोलामा रहेकोले त्यहाँबाट उत्खनन गर्ने क्रम देखिएको स्वीकार गरे । त्यसलाई नियन्त्रणमा लिनका लागि प्रहरीसँग समन्वय गरिरहेको उनले बताए । दुहबी नगरपालिकाले चालू आर्थिक वर्षमा ४ वटा घाटबाट मात्र उत्खननकाे अनुमति दिएको छ। ती घाटहरूमा दुहबी नगरपालिका वडा नम्बर ३ कोे कदमगाछी, वसन्तपुर, वडा नम्बर १ को प्रास्टुकी र वडा नम्बर १२ को बुण्डहरी नाका खुला गरेको छ ।
ती नाकाहरूमा दैनिक १२७ घन उत्खननकाे लागि अनुमति दिइएकाे दुबही नगरपालिकाले जनाएको छ । तीबाहेकका कुनै पनि नाकाबाट कुनै पनि उत्खनन गर्न नपाइने नगरपालिकाले जनाएको छ ।
अहिले उत्खनन भएको क्षेत्रलाई रोक्ने बारेमा प्रहरीसम्म जानकारी पुगेको देखिँदैन । अहिले भइरहेकाे उत्खननलाई प्रहरी प्रशाससनको संरक्षणमा भएको स्थानीय बताउँछन् । दुहबीले क्षेत्र निर्धारण गरेर काम गरेकोजस्तो देखिए पनि बुढिगंगा गाउँपालिकाले भने कुनै नीति र विधिमा काम गरेको आरोप स्थानीयको छ ।
यसअघि भएका उत्खननमा नीति र विधिमा पूरा गरेको भन्दै ठेकेदारलाई रकम तिराउन महालेखाले भनेको छ । बुढिखोलामा भएको अवैध उत्खननको बारेमा बुढिगंगा गाउँपालिकाका अध्यक्ष बालचन्द माझीले आईई गरेको ठाउँबाहेक कतैपनि उत्खनन नभएको दाबी गरे । ‘पुल नै क्षति हुनेगरी भएको उत्खननकाे बारेमा उनले कुनै जवाफ दिएनन् । ‘हामीले अनुगमन गरेर कतिपय ठाउँमा रोकेका छौँ’, उनले भने, ‘यदि अहिले पनि त्यस्तो पाइएको हो भने मैले प्रहरी लगाएर तत्काल रोक्छु ।’
कानून मिच्दै उत्खनन
कानूनले कुनै पनि संरचनाको १ किलोमिटर आसपासमा उत्खनन गर्न नपाउने व्यवस्था गरेको छ । नियमानुसार पानी बगेर आउने क्षेत्रतर्फ ५ सय मिटर र पानी बगेर जाने क्षेत्रको १ किलोमिटरको आसपासमा उत्खनन गर्न नपाउने भनिएको छ । यस्तो ठाउँमा उत्खनन गर्नको लागि निजी व्यक्तिकाे जग्गा भएपनि नपाउने व्यवस्था रहेको छ ।
यदि निजी जग्गाको हकमा नम्मबरी जग्गाबाट उत्खनन गर्नुपर्ने अवस्था आएमा स्थानीय तहमा निवेदन दिनुपर्ने र स्थानीय तहले त्याहाँकोे अवस्था अध्ययन गरेपछि त्यसको सिफारिसको आधारमा मात्र निकाल्न पाउने व्यवस्था छ । अहिलेसम्म निजी जग्गाबाट उत्खननकाे लागि दुहबी र बुढिगंगामा समेत निवेदन परेकाे छैन ।
मोरङका प्रमुख जिल्ला अधिकारी काँशीराज दाहालले गिटी, बालुवा, माटो उत्खनन र ठेक्का लगाउने अधिकार स्थानीय तहको भएको बताए । अवैध उत्खनन भएको बारेमा उनीहरु नै जिम्मेवार र अग्रसर हुनुपर्ने तर्क उनको छ। ‘हामीले दिने भनेको सुरक्षा हो,’ प्रमुख जिल्ला अधिकारी दाहाललले भने, ‘कुनै समस्या आयो वा रोक्नका लागि सुरक्षाकर्मी आवश्यक पर्याे भने तत्काल उपलब्ध गराउने छौँ, त्यसको लागि स्थानीय तहले लिखित रूपमा पठाउनुपर्छ ।’
दाहालकाअनुसार प्रशासनले पनि अफ्नो तर्फबाट अनुगमनहरू गरिरहेको छ । यसभन्दा अघि पनि बुढिगंगा क्षेत्रमा अवैध उत्खनन भएका उजुरीहरू आएको दाहालले बताए । उनले सुनसरीसँग समन्वय गरेर अघि बढ्ने दाबी गरे ।