रेको पुस्तक काठमाडौँ डिलेमा : सम्बन्ध सुधार्न लेखिएको नोट
अन्तरराष्ट्रिय राजनीति र कूटनीतिमा सानो सानो कदम र घटनाले पनि ठूलो मान्यता राख्छ । नेपालको हकमा भारतसँग सम्बन्धित ‘साना’ कुराले पनि ‘ठूलो’ मान्यता राख्ने गरेको पाइन्छ । यसै क्रममा पछिल्लो समय नेपालका लागि भारतका पूर्व राजदूत रञ्जित रेले लेखेका पुस्तक ‘काठमाडौँ डिलेमा : रिसेटिङ्ग इन्डिया नेपाल टाइज’ बजारमा आएको छ । सुरुमा त उनको पुस्तकको एक ‘खुलासा’ले नेपाली राजनीतिमा छोटो तरङ्ग पनि ल्यायो । तर, पुस्तक पढिसक्दा लाग्छ‚ पुस्तकमा त्यस्ता जानकारीभन्दा अरू धेरै कुरा छन्‚ जसमा नेपालका लागि भारतले सन्देश छाडेको छ ।
भन्नलाई लेखकले उक्त पुस्तक कुनै पनि सोध अनुसन्धान नगरी लेखिएको र यसमा भएका जानकारीहरू भेटघाट र अनुभवका आधारमा तयार पारिएको भनेका त छन्‚ तर पनि उनले विभिन्न अध्यायमा तथ्य र आँकडाले आफ्नो बहस बलियो बनाउन भरमग्दुर प्रयत्न गरेका छन् । लेखकले व्यक्तिगत डायरी कहिले नराख्ने‚ तर पनि आफ्नो स्मरण शक्ति बलियो भएकाले जानकारीहरूमा पूर्ण विश्वास भएको उल्लेख गरेका छन् ।
उनले नेपालमा भारतविरोधी भावना कतिसम्म गढेर बसेको छ भन्नेबारे धेरै ठाउँमा चर्चा गरेका छन् । उनले केही आफ्ना व्यक्तिगत अनुभवबारे पनि लेखेर नेपालमा भारतविरोधी भावना र नेपालको राष्ट्रवाद कसरी भारत विरोधी वचन र कदम हो भनेर चर्चा गरेका छन् ।
आफ्नो पुस्तकको सुरुवातमै लेखक रेले नेपालीहरूले किन भारतलाई मन पराउँदैनन् भनेर त्यसको उत्तर खोज्ने प्रयास गरेका छन् । मोदीले रेलाई प्रश्न गर्न सन् २०१५ को भूकम्पको बेला भारतले नेपाललाई दिल खोलेर सहयोग गरे पनि भारतीय सञ्चार माध्यमलाई नेपालीले घर फर्किन भनेको व्यवहारबारे पनि उल्लेख गरेका छन् । उनले भारतीय मिडियाको बचाव त गरेका छैनन्‚ तर पनि नेपालीहरू धन्यवाद भन्नधरि किन अनुदार भए भन्ने जस्तो कुरा राखेका छन् ।
उनले नेपालमा भारतविरोधी भावना कतिसम्म गढेर बसेको छ भन्नेबारे धेरै ठाउँमा चर्चा गरेका छन् । उनले केही आफ्ना व्यक्तिगत अनुभवबारे पनि लेखेर नेपालमा भारतविरोधी भावना र नेपालको राष्ट्रवाद कसरी भारत विरोधी वचन र कदम हो भनेर चर्चा गरेका छन् । हृतिक रोशन र माधुरी दीक्षित हुँदै अहिले अयोध्या नेपालमा पर्ने केपी शर्मा ओलीको जिकिरसम्म नेपालीहरूको राष्ट्रवाद र त्यसमा भारतविरोधी कारणबारे उनले आफ्नो अनुभवहरू समेटेका छन् । उनले केपी शर्मा ओलीको सत्तारोहणको एउटा प्रमुख कारण नै उनको भारतविरोधी छवि भएको भनेर पनि उल्लेख गरेका छन् । राष्ट्रवादकै कुरा गर्दै गर्दा उनले राजा महेन्द्रको उस बेलाको कदमले पहाडे राष्ट्रवाद कसरी मौलायो भनेर पनि प्रशस्त चर्चा गर्न भ्याएका छन् ।
तुलसी गिरि र केशरजंग रायमाझीबारे केही रोचक तथ्य पनि पाठकहरू (विशेष गरी नयाँ पुस्ता)लाई नयाँ लाग्न सक्छ । भारतविरोधी कथनमा उनले धेरै समय खर्चेको भान हुन्छ । नेपाली राजनीतिज्ञहरूको ढोँगबारे पनि उनले खुलासा गरेका छन् । भारतीय राजदूतलाई लुकेर भेट्न खोज्ने, आफ्नो निर्वाचन क्षेत्रमा पूर्वाधारको सहयोग माग्ने‚ तर त्यसलाई बाहिर नआओस् भन्ने चाहना नेपाली नेताहरूमा रहेको उनको दाबी छ ।
उसो त लेखक रेले भारतबारे यस्तो हुनुमा नेपाललाई मात्र दोष लगाएका भने छैनन् । उनले भारतीय (विशेषगरी पढेलेखेका) हरूलाई नेपालबारे अज्ञानी भएको भनेर आक्रोश पनि पोखेका छन् । भारतीय नेताहरूले नेपालको मधेश मूलका नेताहरूलाई भारत छाडेर कहिले नेपाल गएको भनेर सोध्ने गरेको कुराको आलोचना गरेका छन् ।
उनले जनकपुरमा मोदीले भाषण गरेका समुदायलाई भारतीय भनेर स्वर्गीय सुष्मा स्वराजले गरेको ट्विट हटाउनुपरेको र माफी मागेको किस्सा पनि लेखेका छन् । नेपालीहरूप्रति अधिकांश भारतीय संवेदनशील नभएको पनि उनको ठम्याइ पुस्तकमा छ । यस्ता विषयहरूमा कममात्र चर्चा गरिएको छ । यी विषयमा बढी चर्चा गरेको भए शायद लेखकले भनेजस्तै नेपाल-भारत सम्बन्ध रिसेट हुन मद्दत पनि पुग्न सक्ने थियो । यसबारेमा धेरैपटक उनले विषयहरू उठान गर्ने क्रममा यस्ता समीक्षा गरेको भए हुने थियो भन्ने पाठकलाई लाग्न सक्छ । जति नै भारत नेपाल सम्बन्धको कुरा गरे पनि वास्तविकता फरक भएकाले पनि यसमा थप बहस र चर्चाको आवश्यकता खट्किन्छ ।
पुस्तक पढ्दै जाँदा कतै यो त ठिक भनेका रहेछन् भनेजस्तो लाग्छ भने कतै यो त एकतर्फी बहस गरेका छन् भन्ने भान हुन्छ । अन्तमा: रेले नेपाल युवा (कान्छो) देश भएको र नेपाल भारतसँग साथीको सम्बन्ध राख्न चाहन्छ भनेर खुलेरै लेखेका छन् ।
दोस्रो अध्यायदेखि त रेले नेपालको दोस्रो जन आन्दोलनको सेरोफेरोमा रहेर विकसित भएको राजनीतिक घटनाक्रमलाई लिपिबद्ध गर्ने काम गरेका छन् । त्यसमा पनि विशेषगरी नेपालको राजनीतिक परिवर्तनमा भारतले खेलेको भूमिकाबारे उनले चर्चा गरेका छन् । उनले बेला बेला नेपालसँग चीन नजिकिएको कुरा पनि उठाउँदै भारत नै नेपालको असल मित्र हो भनेर कहिले घुमाउरो त कहिले सिधै पनि सन्देश दिन बिर्सिएका छैनन् । नेपालमा सशस्त्र प्रहरी स्थापना गर्दा भारतले सहयोग गरेको र अहिले सशस्त्रका लागि सहयोग चीनले गर्ने गरेको कुरा उठान गर्दा उनी सशङ्कित भएको भान हुन्छ । त्यस्तै, रेले नयाँ संविधानबारे व्याख्या गर्दा सीमान्तकृत समुदाय विशेषगरी मधेसको मुद्दालाई उनले उठाएका छन् र भारतको चाहनाबारे पनि प्रस्ट पारेका छन् ।
पुस्तकमा उनले संविधानमा भारतको चासो र चिन्ताबारे लामो कुरा लेखेका छन् । तर उनले नाकाबन्दीको कारण र त्यसबारेको चर्चा भने खासै गरेका छैनन् । नाकाबन्दीका कारण नेपालमा उत्पन्न भएको मानवीय सङ्कटबारे केही पाना खर्चेको भए उनको व्यक्तित्वलाई शायद घाटा हुँदैन थियो । नयाँ संविधान, संविधानपछिको नतिजाजस्ता अध्यायहरूमा, पूर्व राजदूत तथा लेखक रेले कथित ‘२०१५ नाकाबन्दी’ मा विवरणहरूको सन्दर्भमा आफ्ना पाठकहरूलाई थप अन्तरदृष्टि दिन सक्थे भन्ने खट्किन्छ । उनले नेपाली भूमिमा भएका जनआकाङ्क्षाबारे खासै चासो दिएको देखिँदैन । उनले संविधान संशोधनको पक्षमा रहेको भारतले नेपालको संविधानलाई स्वागत नगरेको कारण पनि खुलाएका छन् ।
यस पुस्तकमा उठान गर्न खोजिएको नेपाल-भारतबीचको सन्धि-सम्झौता पुनरावलोकन पनि हो । यसमा रेले समय दिएर सन्धि संशोधन गरी दुई देशले यसलाई टुङ्ग्याउनुको विकल्प नभएको मत जाहेर गरेका छन् । त्यस्तै नेपाल र भारतबीच भएका सन्धि-सम्झौता पुनरावलोकन हुन सक्ने भनेर रेले नेपाल सार्वभौम राष्ट्र भएकाले आफ्नो परराष्ट्र नीति अभ्यास गर्न पाउनु उचित भएको मत दिएका छन् । तर सँगै उनले भुटान र भारतको १९४९ को सन्धि संशोधन हुन सकेको‚ तर नेपाल त्यसमा किन सफल नभएको भन्ने प्रश्न उठाएका छन्, जुन जायज पनि लाग्छ । भुटान भारतको असल मित्र भएको र चीनसँग सम्बन्ध नराखेको तर नेपाल-भारत सम्बन्धमा नेपाल त्यति गम्भीर नभएको आरोप पनि रेले लगाएका छन् । यस विषयको संवेदनशीलता हेर्दा उनले देशको सार्वभौमिकतामाथि नै प्रश्न गर्ने धृष्टता गरेजस्तो आभास पनि हुन्छ‚ पुस्तक अध्ययनका क्रममा । लेखकको यो विचार पढ्ने क्रममा भारतको ठुलो दाइवाला मनोवृत्ति हाबी भएको देखिन्छ । यो कुरा शायद विवादित हुने पनि छ ।
त्यस्तै आर्थिक साझेदारी गर्दै नेपाल र भारतले सँगै फाइदा लिन सक्नेबारे रेले पुस्तकमा लामो चर्चा गरेका छन् । नयाँ विषय उठान भएका छैनन्‚ तर यस शीर्षकअन्तर्गत लेखकले भारतले नेपाललाई गरेको सहयोगहरूलाई लिपिबद्ध भने गरेका छन् । कतै कतै लेखकले नेपालमा भारतले नै लगानी गर्यो भने अन्य मुलुकहरूलाई नेपाल आएर लगानी गर्न सहज हुने भनेर आकलन पनि गरेका छन् । पुस्तकमा नेपालमा ठुला ठुला लगानीका लागि भारत र चीन आउनुमा नेपालको सत्ता बागडोर कसको हातमा हुन्छ भन्ने कुराले निर्धारण गर्ने भनेर पनि बहस गर्न खोजेका छन् । यसमा भारतविरोधी मान्यताले ठाउँ पाउने र कसरी भारतले जितेको टेन्डर पनि रद्द भयो भनेर उदाहरण पनि पेश गरेका छन् ।
समग्रमा आलोचना गर्ने प्रशस्त स्थान भेटिएता पनि यो पुस्तक नीतिनिर्माता, कूटनीतिक समुदाय, सञ्चारकर्मी र नेपाल-भारत राजनीतिक, सामाजिक सम्बन्धमा चासो राख्ने अनुसन्धानकर्ताहरूका लागि ‘राम्रो सामग्री’ हुन सक्ने भने देखिन्छ ।
त्यस्तै सीमा विवादबारे पनि रेले तथ्याङ्कहरूको सहारा लिँदै धेरै कुरा लेखेका त छन्‚ तर ती सबै एकतर्फी छन् । पुस्तक पढ्दै जाँदा कतै यो त ठिक भनेका रहेछन् भनेजस्तो लाग्छ भने कतै यो त एकतर्फी बहस गरेका छन् भन्ने भान हुन्छ । अन्तमा: रेले नेपाल युवा (कान्छो) देश भएको र नेपाल भारतसँग साथीको सम्बन्ध राख्न चाहन्छ भनेर खुलेरै लेखेका छन् । उनको बुझाइमा नेपालले चीनसँग शक्ति सन्तुलन गर्न होइन कि आर्थिक साझेदारीका लागि हात बढाउन चाहन्छ भन्ने रहेको पुस्तक पढ्दा स्पष्ट हुन्छ । नेपालले भोगेका केही व्यावहारिक कठिनाइलाई समाधान गर्न भारतले पहल गर्नुपर्ने मान्यता पनि रेले राखेका छन् ।
मूलतः ‘काठमाडौँ डिलेमा: रिसेटिंग इन्डिया नेपाल टाइज’ पुस्तकले काठमाडौँस्थित सम्भ्रान्त वर्गको धारणालाई विश्लेषण गरेको छ र पहाडी ब्राह्मणहरूले देश चलाउने क्रममा अरू समुदायलाई कसरी उपेक्षित गरिएको छ भन्नेबारे लेखिएको छ । केही पाठकहरूलाई सीमान्तकृत समुदाय‚ विशेषगरी मधेशको पक्ष लिएर बोलेको भान हुन सक्छ‚ तर पनि समग्रमा त्यो भाष्य नेपालको पत्रपत्रिका र विचार समूहहरूमा बहस हुँदै आएकाले सामान्य भने लाग्न सक्छ । समग्रमा आलोचना गर्ने प्रशस्त स्थान भेटिएता पनि यो पुस्तक नीति निर्माता, कूटनीतिक समुदाय, सञ्चारकर्मी र नेपाल–भारत राजनीतिक, सामाजिक सम्बन्धमा चासो राख्ने अनुसन्धानकर्ताहरूका लागि ‘राम्रो सामग्री’ हुन सक्ने भने देखिन्छ ।