कांग्रेस महाधिवेशन प्रतिनिधिमा पूर्वमन्त्री र सांसद नै पराजित, मोरङमा कोइराला पक्ष हाबी

विराटनगर । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत मोरङको संघीय निर्वाचन क्षेत्रको निर्वाचन परिणामले संस्थापन पक्ष कमजोर देखिएको छ । संघीय ६ वटा निर्वाचन क्षेत्रमा पौडेल–कोइराला पक्षको पकड बलियो देखिएको हो । निर्वाचन क्षेत्र नम्बर ५ मा बाहेक अन्य सबैमा पौडेल–कोइराला पक्षका सभापति निर्वाचित भएका छन् ।

निर्वाचन क्षेत्र नम्बर १ मा शंकर राई विजयी भएका छन् । उनी सर्वसम्मत चयन भएका हुन् । यसैगरी २ मा नागेश्वर सिंह, ३ मा गणेश खड्का र क्षेत्र नम्बर ५ मा जिवक्ष गच्छदार निर्वाचित भएका छन् । गच्छदार सर्वसम्मत निर्वाचित भएका हुन् । उनलाई संस्थापनतर्फका केन्द्रीय सदस्य अमृत अर्यालले साथ दिएका थिए ।

उनलाई विजयकुमार गच्छदारलेको दबाबमा सभापति बनाइएको छ । निर्वाचन क्षेत्र नम्बर ४ मा मत गणना जारी छ। निर्वाचन क्षेत्र नं ४ मा विनोद बस्नेतले अग्रता लिई रहेको निर्वचन समितिले जनाएको छ । उनी नेता महेश आचार्यको समर्थनमा उम्मेदवार बनेका हुन् ।  यो क्षेत्रमा अझै करिब ३ सय मत गणना हुन बाँकी रहेको छ।

निर्वाचन क्षेत्र नम्बर ६ मा सभापतिसहित सबै पदाधिकारी डा. शेखर कोइराला पक्षका उम्मेदवार विजयी भएका छन् ।  क्षेत्रीय सभापति देवराज तामाङले जितेका छन् ।

यो क्षेत्रमा महाधिवेशन प्रतिनिधिमा समेत कोइराला पक्षको पकड देखिएको छ । क्षेत्र नम्बर २ मा  नागेश्वर प्रसाद सिंह क्षेत्रीय सभापतिमा विजयी भएका छन् । उनी पनि कोइराला निकटका सभापति हुन् ।

ठूलाको पराजय

कांग्रेस निर्वाचनमा प्रदेश नं १ का सांसदसहित पूर्वमन्त्री र अग्र भागका नेताहरू समेत पराजित बनेका छन् । प्रदेश सांसदहरू बिन्दिया कार्की, शेखरचन्द्र थापा र शान्ता पौडेल पराजित भए । नेतृ मृदुला कोइराला, नेविसंघका पूर्वनेता बाबुराम कोइराला, दीपक लोहनी, महिला संघ मोरङकी सचिव प्रमीला थापा, दामोदर कोइराला लगायत पराजित भएका छन् ।

महाधिवेशनमार्फत केन्द्रीय पदाधिकारी चयन गर्ने प्रतिनिधिमा समेत संस्थापनभन्दा पौडेल–कोइराला पक्ष अधिक विजयी भएको बताइएको छ । मतदानको सम्पूर्ण विवरण आउन र अद्यावधिक हुन अझै समय लाग्ने पार्टी उपसभापति शिवनारायण सिंह गनगाईले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *