…अनि बगर उब्जाउ बन्यो

कैलाली । कैलालीको धनगढी उपमहानगरपालिकाका दयावीर चौधरीले टाढैबाट देखाउँदै भने, ‘ऊ त्यहाँ अहिले उखु लगाएको छ नि, त्यहाँ केही वर्ष अघि नदीले खेतलाई बगर बनाइदिएको थियो ।’ दयावीरको अनुहारमा वर्षौँ बाँझो रहेको जमिनमा बाली लागेको खुशी देखिन्थ्यो । कैलालीको धनगढी उपमहानगरपालिका १९ को ललिपुर गाउँका धेरैजसो किसानका आँखामा अहिले दयावीरको जस्तै खुशी देख्न सकिन्छ ।

सधैँ धान र गहुँ लगाउँदै आएको खेतलाई छेउमै बग्ने मोहना नदीले कटान गरेर बगर बनाएको थियो । बर्सेनि बढ्दो कटानले किसान हैरान थिए । छाक टार्नै धौ हुन थालेको थियो । ‘अरू खेती त लगाउनै आउँथेन । लगाउने भनेको त्यही गहुँ र धान हो । बर्सेनि थुप्रिने बालुवाले खेतमै हुन्थ्यो । बिस्तारै बालुवामा उब्जाउ हुनै छोडेपछि धेरै किसानले यहाँ बाली नै लगाउन छोडिसकेका थिए” दयावीरले भने, ‘रेडक्रस कैलाली शाखाले उखु खेती लगाउन सिकाएपछि यहाँका किसानको जीवन नै फेरिन पुग्यो ।’

विसं २०६६ मा जिल्ला रेडक्रस शाखा कार्यालय कैलालीले बेलायती सहयोग नियोग युकेएडको सहयोगमा उत्थानशील नगर प्रवर्द्धन र सहभागिता कार्यक्रममार्फत उखु खेती गर्न सिकाएपछि ललिपुर बस्तीका बासिन्दाको जीवन नै फेरिएको उनीहरू नै बताउँछन् । किसानलाई उखु कसरी लगाउने ? कुन जातीको लगाउँदा कस्तो उत्पादन हुन्छ ? लगायत कुरा सिकाएपछि विसं २०६८ देखि किसानले बगरमा उखु खेती सुरु गरे । शुरुको वर्ष बस्तीका २२ परिवारले २८ बिघामा उखु खेती सुरु गरेका हुन् ।

‘हामीलाई उखु खेतीबारेमा धेरै केही जानकारी नै थिएन । खेतमा पुरै बालुवा भएकोले केही उब्जाउ हुन्छ भन्ने लागेको पनि थिएन ।’ सोही ठाउँकी रामदुलारी चौधरीले विगत सम्झिइन, ‘उखु खेतीले कटान पनि रोक्ने र आम्दानी पनि हुने भन्ने थाहा पाएपछि समूहबाट उखु खेती सुरु गर्‍यौँ ।’

धान गहुँ नजोगिने बगरमा उखुको राम्रै आम्दानी भएपछि किसान मख्ख परेका हुन् । पहिलो वर्षको उखु बेचेर आएको आम्दानीबाट किसानले समूहमै कृषि यन्त्रहरू किने । ‘बस्तीका सबै कृषिमा नै आबद्ध छन् । तर, बाहिरबाट जोत्ने मेशिन मगाउँदा महँगो पर्थ्यो । हामीले उखु बेचेर आएको आम्दानीले कृषि यन्त्र किन्ने निर्णय गर्‍यौँ,’ राम दुलारी भनिन् । अहिले स्थानीय किसानले खोलेको हरियाली मिलन कृषक समूहमा खेत जोत्ने, धान काट्ने, थ्रेसर लगायतका धेरै यन्त्र छन् ।

उखु खेती लगाएदेखि बगर फेरी खेत भएको छ । मोहना नदीले आफ्नो धार पुरानै ठाउँमा पुर्‍याएको छ । बरिखामा बाढी आएपनि उखु खेतीमा कुनै पनि असर नपुर्‍याउने गरेको यहाँका बासिन्दा बताउँछन् । ‘पहिले लगाएको धान गहुँलगायत बाली सबै मोहना नदीले बगाएर लैजान्थ्यो । त्यसमा पनि वर्षभरिको जोहो कसरी गर्ने भन्ने चिन्ता महिलालाई बढी थियो’ ललिपुरकै बिमला चौधरीले भनिन् ‘उखु खेतीबाट आम्दानी भएपछि घरको खर्च कसरी जुटाउने भन्ने तनावबाट महिलाहरूले मुक्ति पाएका छन् ।’ घर खर्चका साथै छोराछोरीको पढाइ खर्चको जोहो पनि कृषिबाटै गर्नुपर्ने भएकोले हिजोका दिनमा ऋण गरेरै धान्नुपरेकोमा अहिले आफ्नै खेतमा धान गहुँ फल्नुका साथै नदी किनारको जग्गामा लगाएको उखुबाट पनि राम्रै आम्दानी हुने गरेकाले सजिलो भएको उनले बताइन् ।

‘पहिले धान लगाउँदा मोहना नदीमा बाढी आएर सबै धान पटान गरेर काट्नै पाइँदैन थियो’ स्थानीय कृष्नी चौधरीले भनिन् ‘रेडक्रस संस्थाले उखु कसरी लगाउने भन्ने तालिम दियो र लगाउन सिकायो पनि । अहिले धेरै सजिलो छ ।’ विगतमा बाढीले धान बगाउने गरेपनि उखुलाई खासै असर नगर्ने स्थानीयबासिन्दाले बताए ।

यहाँको उखु कञ्चनपुरको पुनर्वास र बेल्डाँडीमा रहेको उखु मिललाई बेच्ने गरिएको छ । धान गहुँबाट मात्र वर्षभरि खान नपुगेपछि यहाँका धेरै महिला चर्को गर्मीमा ज्याला मजदुरी गर्न बाध्य थिए । उखु खेती लगाएदेखि नदीको कटान पनि रोकिएको छ । महिला व्यावसायिक तरकारी खेती पनि गर्न थालेका कृष्नीले बताइन् । धान गहुँ खेतीमा जस्तो धेरे समय दिनु नपर्दा महिलाहरू बचेको समयमा उत्पादनशील काममा व्यस्त हुन थालेका उनको अनुभव छ ।

युकेएडको सहयोगमा जिल्ला रेडक्रस शाखा कार्यालय कैलालीले ललिपुरका किसानलाई कसरी विपद्सँग सामना गर्दै जीवन सहज बनाउन सकिन्छ भन्ने मात्र होइन कसरी उत्पादन बढाउन सकिन्छ भन्ने पनि सिकाएको छ । अझ जिल्लाकै कतिपय ठाउँमा जैविक तटबन्ध गरेर त्यसबाट पनि कटान रोक्न र घाँस बेचेर आम्दानी गर्ने गरेका छन् ।

जलवायु परिवर्तन तथा विपद्का घटनाको विगतको अवस्था विश्लेषण गरी किसानलाई नगदे बालीतर्फ आकर्षित गर्न सहयोग गरिएको उत्थानशील नगर प्रवर्द्धन र सहभागिता कार्यक्रमले जनाएको छ । निरन्तर रूपमा आम्दानी समुदायले लिन सक्यो भने प्राकृतिक श्रोत माथिको निर्भरता कम हुँदै जाने र वातावरण संरक्षणमा सहयोग पनि पुग्ने भएपछि संस्थाले सहयोग गर्दै आएको जनाएको छ ।

भविष्यमा पार्न सक्ने असरलाई मध्यनजर गर्दै, जलवायु र विपद्को जोखिमबारेको बुझाई विकासको लागि र सम्भाव्य जोखिमको आङ्कलन गरेर काम गरिरहेको नेपाल रेडक्रस शाखा कैलालीका प्रमुख ईश्वर जोशीले बताए । ‘कुनैमा ५ लाख त कुनै परियोजनामा ६ लाख गरेर हामीले युकेएडको सहयोगमा स्थानीय तहसँग समन्वय गरेर विभिन्न ठाउँमा यो परियोजना लागू गरेका छौँ’ जोशीले भने, ‘यो परियोजनाले विपद्बाट हुने क्षति कम गर्नुका साथै त्यसमा आम्दानीलाई कसरी जोड्न सकिन्छ भन्ने कुरा पनि किसानलाई सिकाउने गरेको छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *