विश्वप्रकाश जी हतार नगर्नुस् : देउवा (भिडिओ)

काठमाडौँ । प्रधान मन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी प्रवक्ता विश्वप्रकाश शर्मालाई पदमा पुग्न हतार नगर्न आग्रह गरेका छन् । कांग्रेसका संस्थापक नेताहरूले पनि पदमा पुग्न हतार नगरेको भन्दै उनले हतार नगरे पालो आउने बताए ।

काठमाडौँको राष्ट्रिय सभागृहमा आयोजित रामचन्द्र घिमिरेद्वारा लिखित ‘राजनेता सुवर्णशमशेर’ नामक पुस्तक लोकार्पण समारोहमा प्रधानमन्त्री देउवाले पार्टीका प्रवक्ता शर्मालाई हतार नगर्न सुझाव दिए । ‘हाम्रा अग्रजहरू कसैले पनि हतार गरेनन्‚ हतार किन गर्ने हतार नगरे पालो आइहाल्छ नि‚’ देउवाले भने ।

प्रवक्ता शर्माले मन्तव्यका क्रममा आफूले महामन्त्रीको उम्मेदवारी घोषणा गरेपछि राखेको राजनीतिक प्रस्तावको व्याख्या गर्दै १ पटकभन्दा बढी राष्ट्रपति, २ पटकभन्दा बढी प्रधानमन्त्री, ३ पटकभन्दा बढी मन्त्री र ४ पटकभन्दा बढी सांसद बन्न नपाउने प्रस्ताव आफ्नो पुस्ताका लागि गरेको बताएका थिए ।

उनले देउवालाई सल्लाह दिन चाहेको भन्दै यो कुरा बताएको सन्दर्भको जवाफ दिँदै देउवाले अर्ती दिने काम बुढापाकाको भएको बताए । ‘बुढापाकालाई अर्ति दिने होइन, बुढापाकाको अर्ती सुन्ने हो, हतार नगर्नुस्,’ देउवाले भने‚ ‘अर्ती दिने होइन‚ लिनुस् ।’ देउवाले शर्माको प्रस्ताव भन्न सजिलो तर गर्न गाह्रो’ रहेको टिप्पणी पनि गरे ।’

कार्यक्रममा सह-महामन्त्री डा. प्रकाशशरण महतले पार्टीमा सहमतिका नाममा निर्णय ढिलो हुँदा पार्टीमा समस्या आएको बताएका थिए । यसप्रति जवाफ दिँदै देउवाले आफू हतारमा निर्णय गरेर फुर्सदमा पछुताउने नेता नभएको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *