भागबन्डा मिलाउन मन्त्रालयको संख्या बढाइँदै
विराटनगर । प्रदेश १ सरकारले मन्त्रालय फुटाएर नयाँ मन्त्रालय बनाउने गृहकार्य थालेको छ । प्रदेश १ मा पाँच दलीय गठबन्धनमा बनेको प्रदेश १ सरकारले भागबन्डा मिलाउन मन्त्रालय सङ्ख्या बढाउने बारेमा अन्तिम गृहकार्यमा लागेको हो ।
पाँच दलीय गठबन्धनले मन्त्रालय विभाजनका लागि आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोको नेतृत्वमा कार्यदल बनाएको थियो । कार्यदलमा आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव र मुख्यमन्त्री कार्यालयका कानून सचिव सदस्यको रूपमा तोकिएको थियो । मन्त्री परिषद्को बैठकले मन्त्रालय विभाजन गर्नेबारे एक हप्ताअघि नै कार्यदल बनाएको थियो ।
प्रदेश १ मा हाल मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसहितका सात वटा मन्त्रालय छन् । भएका मन्त्रालय मध्ये ३ वटा मन्त्रालय फोड्ने तयारीमा गठबन्धन सरकार लागेको हाे । भौतिक पूर्वाधार विकास मन्त्रालय, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र सामाजिक विकास मन्त्रालय विभाजन गर्ने तयारी भएको गठबन्धनले जनाएको छ ।
अन्य प्रदेशमा भएको प्राक्टिस र आर्थिक व्ययभारलाई ध्यानमा राखेर मन्त्रालय विभाजन गर्ने तयारी भएको मन्त्री आङ्बोले बताउँदै आएका छन् । आर्थिक अवस्था, कामको प्रकृति, आवश्यकता र अन्य प्रदेशको अभ्यास हेरेर प्रतिवेदन तयार गर्ने मन्त्री आङ्बोले बताए ।
गठबन्धनमा भएका दलभित्रको आन्तरिक असन्तुष्टिलाई कम गर्नको लागि मन्त्रालय फुटाएर मन्त्री बनाउने तयारी गठबन्धनभित्र देखिन्छ । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले यसअघि नै प्रदेशमा ११ मन्त्रालय हुने आवश्यकता अनुसार बढ्न पनि सक्ने बताएका थिए ।