कांग्रेस केन्द्रीय सदस्यमा सांसद रसाइलीको उम्मेदवारी घोषणा

काठमाडौँ । नेपाली  कांग्रेस सांसद प्रकाश रसाइली ‘स्नेही’ले १४औँ महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका छन् । बझाङबाट महाधिवेशन प्रतिनिधि बनेका उनले बुधबार नयाँ बानेश्वरमा पत्रकार सम्मेलन गर्दै समावेशी दलिततर्फ केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

‘मैले ७७ वटै जिल्ला पुगेर पार्टीका नेता र साथीहरूसँग छलफल गरेको छु, समस्या, गुनासा र पार्टीको राजनीतिक कार्यदिशाबारे संवाद गरेको छु,’ उनले भने, ‘त्यही आधारमा आफूले पार्टीको केन्द्रीय कार्यसमितिमा बसेर योगदान गर्न सक्छु भन्ने हिसाबले उम्मेदवारी दिने निधो गरेको हुँ ।’ उनले आफू संस्थापन इत्तर समूहबाट उम्मेदवार रहेको समेत बताए ।

नेता रसाइलीले कांग्रेसमा सामान्य नागरिकका मुद्दा उठाउनका लागि आफूले उम्मेदवारी दिएको बताए । ‘म आफैँ यो समाजको पिँधबाट उठेर आएको व्यक्ति हुँ । डेमोक्रेसीमा समाजका हरेक व्यक्तिको मत समान हुन्छ । चाहे त्यो विलिनियर होस् वा भरिया‚’ उनले भने‚ ‘तिनाउ नदी किनारको सुकुम्बासी होस् वा रुपन्देहीका जमिनदार नै किन नहोऊन् । सबैको मतको अधिकार उति नै हो । डेमोक्रेसीमा त्यो मतको कदर हुनुपर्छ ।’

त्यहाँको मतको कदर कांग्रेसले गर्ने तर अझै पनि ती सबै समुदायका मुद्दा कांग्रेसमा छलफल हुन नसकेको भन्दै रसाइलीले त्यो समाजको पिँधमा रहेका समुदायको मुद्दा उठाउन आफ्नो उम्मेदवारी भएको बताए ।

नेपाल दलित संघका पूर्व केन्द्रीय महासचिव रसाइली नेपाल विद्यार्थी संघको केन्द्रीय सदस्य पनि भएका थिए । उनी १३औँ महाधिवेशनमा पनि केन्द्रीय सदस्यको उम्मेदवार थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *