राप्रपा पदाधिकारीमा कमल थापा प्यानलको वर्चस्व

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को पदाधिकारीमा कमल थापा समूहको वर्चस्व देखिएको छ । भर्खरै घोषणा भएको परिणाम अनुसार उपाध्यक्ष र महामन्त्रीमा थापा पक्षधर उम्मेदवारहरू विजयी भएका हुन् ।

पार्टीको खुल्ला उपाध्यक्षमा विक्रम पाण्डे सर्वाधिक मत ल्याएर विजयी भएका छन् । दुवै प्यानलमा समेटिएका उनले २५२१ भोट ल्याए । अध्यक्षमा कमल थापा पराजित भएपनि उनको प्यानलबाट उठेका उपाध्यक्षमा बुद्धिमान तामाङ, ध्रुवबहादुर प्रधान र महिला उपाध्यक्षमा रोशन कार्की विजयी भएका छन् ।

थापा प्यानलबाट उठेका बुद्धिमान तामाङ १९४४ भोट ल्याएर विजयी भएका छन् भन् सोही प्यानलमा ध्रुवबहादुर प्रधान १८१४ भोट ल्याएर विजयी भएका छन् । महिला उपाध्यक्षमा रोशन कार्की १६८९ भोट ल्याएर विजयी भएकी छन् । उनी पनि कमल थापा पक्षकी हुन् ।

महामन्त्रीको प्रतिस्पर्धामा लिङदेन पक्षका धवलशम्शेर राणाले २२२१ भोट ल्याएर विजयी भएका छन् । थापा पक्षकै भुवन पाठकले १८०५ भोट ल्याएर विजयी भए । महिला महामन्त्रीतर्फ थापा समूहकी कुन्ती शाही विजयी भइन् । उनले २००८ मत ल्याएकी छन् । महिला महामन्त्रीमा रेखा थापा पराजित भएकी छन् । उनले १६४० भोट ल्याइन् ।

राप्रपामा अध्यक्ष ४ उपाध्यक्ष र तीन महामन्त्रीसहित १४८ जना केन्द्रीय सदस्यका लागि निर्वाचन भएको हो । सात सह महामन्त्री, कोषाध्यक्ष, सह कोषाध्यक्ष, प्रवक्ता, सह प्रवक्तासहित २५ प्रतिशत निर्वाचित अध्यक्षले मनोनीत गर्ने व्यवस्था छ ।

राप्रपाको शनिबार अबेर रातिसम्म सम्पन्न भएको मतदानमा ३ हजार ८ सय ६५ जनाले मतदान गरेका थिए । ४ हजार ३ सय ७९ महाधिवेशन प्रतिनिधि मध्ये ५१४ जनाले मतदानमा भाग नलिएको निर्वाचन समितिले जनाएको छ ।

सम्बन्धित समाचार
-थापालाई पराजित गर्दै राप्रपा अध्यक्षमा लिङ्देन विजयी
-लिङ्देन : गाडी चालकदेखि राप्रपा अध्यक्षसम्म
-पराजित भएपछि कमल थापाले भने- ‘निर्मल निवासको नाङ्गो हस्तक्षेपको भत्सर्ना गर्दछु’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *