राजासँग रुष्ट कमल थापाले अब के गर्लान् ?

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीको ‘एकता महाधविशेन’बाट राजेन्द्र लिङ्देन अध्यक्षमा निर्वाचित भएका छन् । तर केन्द्रीय समितिमा बहुमत भने थापा पक्षले ल्याएको छ । पराजित थापाले लिङदेनलाई बधाई दिँदै आफू पराजित हुनुको कारण निर्मल निवासलाई देखाएका छन् ।

अध्यक्षमा पराजित भए लगत्तै लिङ्देनलाई बधाई दिएका उनले निर्मल निवास अर्थात् पूर्व राजा ज्ञानेन्द्र शाहप्रति चर्को आक्रोश पोखे । आफू पराजित हुनुमा निर्मल निवासको नाङ्गो हस्तक्षेप कारण रहेको भन्दै उनले प्रतिकुल अवस्थामा पनि राजसंस्थाको समर्थनमा कफन बाँधेर हिँडेको कामको पुरस्कार पाएको भन्दै व्यङ्ग्य पनि गरे ।

‘प्रतिकूल परिस्थितिमा समेत हामीमाथि विश्वास र भरोसा गर्ने पार्टीका सम्पूर्ण साथीहरूमा आभारी छु । पार्टीको आन्तरिक प्रतिस्पर्धामा निर्मल निवासको नाङ्गो हस्तक्षेपको भर्त्सना गर्दछु । बधाई जीबीबी शाह धन्यवाद ।’, उनले फेसबुक र ट्वीटरमा लेखेका छन् ।

त्यस लगत्तै दरबारमार्गमा रहेको पाँचतारे ‘होटल याक एन्ड यति’मा आफू पक्षका नेताहरूसँग बैठक गरेका उनले अब के गर्ने भन्ने बारेमा छलफल गरेका छन् । राप्रपाको नतिजामा बहुमत थापा पक्षका आउने तर थापाले हार्नुमा दरबारकै मुख्य भूमिका रहेको निष्कर्ष निकालेको थापा पक्षले अब के गर्ला भन्ने सर्वत्र चासोको विषय बनेको छ ।

कतिपयले थापा पद बिना बस्न नसक्ने भन्दै उनले अर्को दल खोल्ने दाबी गरेका छन् । यससँगै पटकपटक विभाजनको पीडा भोग्दै आएको राप्रपा फेरि फुट्ने सम्भावना बढेको आँकलन गरेका छन् । त्यसलाई बल पुर्‍याएको छ अध्यक्षमा पराजित कमल थापाको लगत्तैको टिप्पणी र आयोजना गरिएको आफू पक्षका नेतासँगको भेटघाटले ।

बैठकमा सहभागी एक नेताले दिएको जानकारीअनुसार अब राजसंस्थालाई काँध थापेर नहिँड्ने निष्कर्ष निकालिएको छ । ‘अहिले नै आधिकारिक निर्णय नै त गरिएको होइन तर यो नतिजा आउनुमा निर्मल निवासको मुख्य हात रहेकाले अब राजसंस्थालाई बोकेर नहिँड्ने भन्ने कुरामा मोटामोटी सहमति भने भएको छ,’ उनले भने ।

बैठकमा अहिलेको राप्रपामै आफू पक्षका पदाधिकारीको बहुमत रहेकाले राप्रपालाई नै त्यही बाटोमा हिँडाउन सकिन्छ कि भन्ने बारेमा पनि केही छलफल भएको तर त्यो सम्भावना कम मात्र रहेको र अर्कोतिर थापाले अध्यक्ष हारेको र लिङ्देनले राजसंस्थालाई नछोड्ने निष्कर्ष पनि निकालिएको उनले बताए ।

अध्यक्ष लिङदेन, उपाध्यक्ष विक्रम पाण्डे र महामन्त्री धवल शमशेर राणाबाहेकका विजयी पदाधिकारीसहित अधिकांश केन्द्रीय सदस्य उपस्थित रहेको भनिएको प्रारम्भिक समीक्षा बैठकमा सबैजसोले पूर्वराजा शाहले धोका दिएको भन्दै उनलाई पनि ‘सबक सिकाउनुपर्ने’ बताएको उनको भनाइ छ ।

तर, बैठकमा संवैधानिक राजतन्त्रको वकालत गर्ने कि नगर्ने भन्ने बारेमा भने मतभेद देखिएको अर्का सहभागीले बताए । थापाले राप्रपाको ‘एकता महाधिवशेन’को उद्घाटनमा यो राप्रपाको अन्तिम एकता महाधिवेशन रहेको र अब कहिल्यै राप्रपा नफुट्ने जिकिर गरेका छन् । तर अध्यक्षमा पराजित भए लगत्तै उनले आफ्ना निकटवर्तीसँग गरेको छलफलले उनी राप्रपामै बसिइरहने संकेत गरेको टिप्पणी विश्लेषकहरूको छ ।

पूर्वराजा शाहको सचिवालयका सचिवहरू पशुपतिभक्त महर्जन, सागर तिमल्सिना र फणिराज पाठकलगायतले थापालाई मतदान नगर्न दबाब दिएको दाबी थापा पक्षको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *