एक नभई देउवालाई हराउन नसकिनेमा इतर समूह ‘कन्भिन्स’, सभापतिका दाबेदार नमिले युवा नेताले टिम बनाउने

काठमाडौँ । प्रदेश अधिवेशनको नतिजाले प्रधान मन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पक्ष केही उत्साहित बनेको छ । त्यसैकारण पनि हुन सक्छ, सोमबार सभापति देउवाले पत्रकारहरूसमक्ष आफूले जित्ने निश्चित भएको दाबी गरे । उनको स्पष्ट बहुमत देखिएको ‘सर्वेक्षण’ को नतिजा पनि आयो ।

बाहिर ‘अब जितिन्छ’ भन्ने सन्देश प्रवाह गर्न खोजेपनि यो पक्ष त्यति ढुक्कै भने छैन । प्रदेश अधिवेशनमा मतदान गरेका सबै मतदाता महाधिवेशन प्रतिनिधि नहुने, देउवाको सभापतित्वको कार्यकाल आशालाग्दो हुन नसकेको र उनको कार्यकाल देखिसकेकाले अब पुस्तान्तरण गर्नुपर्छ भन्ने मानसिकता भएका महाधिवेशन प्रतिनिधि बढी भएको आकलन इतर पक्षको छ ।

युवा नेता गगनकुमार थापा अहिलेको नेतृत्व नै दोहोर्‍याए २०८२/८३ सालसम्म कांग्रेस कसरी अघि बढ्न सक्ला वा त्यो कांग्रेसले पार्टिभित्रका मात्र होइन, देशकै राजनीतिलाई कसरी ‘लीड’ गर्न सक्छ भन्ने कुरा महाधिवेशन प्रतिनिधिले सोच्ने र त्यो नै निर्णायक हुने दाबी गर्छन् ।

नेता बद्री पाण्डे पनि प्रदेशको चुनावका आधारमा कुन पक्ष हाबी भयो भनेर आकलन गर्नु हतार हुने र महाधिवेशनमा त्यही अवस्था हुन्छ भन्नु गलत हुने औँल्याउँछन् ।

प्रदेश निर्वाचनको नतिजापछि संस्थापनइतर पक्ष भने एकजना मात्र उम्मेदवार नबनाए चुनाव जितिँदैन भन्ने कुरामा ‘कन्भिन्स’ भएको नेताहरू बताउँछन् । सभापतिमा एकमात्र उम्मेदवार कसलाई बनाउने भन्ने तय गर्न ‘महाभारत’ नै रहे पनि अहिले सभापतिका आकांक्षी सबै उम्मेदवार बनेमा देउवा पहिलै चरणबाट विजयी हुन्छन् भन्ने भय बढेकाले पनि एक मात्र उम्मेदवार बनाउन दबाब बढेको युवा नेताहरूको भनाइ छ ।

‘हामी निरन्तर छलफलमा छौँ, सहमतिमा पुग्छौँ’

सभापतिका आकांक्षी डा. शेखर कोइराला आफूहरूमध्ये एक मात्र उम्मेदवार नभए सभापति शेरबहादुर देउवालाई हराउन कठिन पर्नसक्ने कुरालाई सबैले महसुस गरेको र महाधिवेशनसम्ममा आफूहरूबाट एकजना मात्र उम्मेदवार बनाउने कोसिस भइरहेको बताउँछन् ।

‘यसबारेमा हामी निकै पहिलेदेखि नै छलफलमा छौँ । अब त्यो आवश्यकता झनै महसुस भएको छ । मैले आकांक्षी साथीहरूलाई कुनै न कुनै विधिबाट हामीमध्ये को उम्मेदवार हुने त भन्ने तय गरौँ भनेर विकल्प पनि दिएको छु । म सबैभन्दा बलियो उम्मेदवार हुँ भन्ने मेरो दाबी हो‚’ उनले भने‚ ‘कुनै न कुनै आन्तरिक विधि तय गरौँ, महाधिवेशन प्रतिनिधिलाई सोधेर हुन्छ कि वा कुन विधिबाट हुुन्छ त्यो तय गरौँ उहाँहरुले मभन्दा बलियो उम्मेदवार अर्को कोही हो भन्नुभयो भने म त्याग्न तयार छु ।’

युवा नेताहरूको दबाब

उम्मेदवार एकै बनाउन सभापतिका दाबेदार नेताहरूलाई युवा नेताहरूले निरन्तर दबाब पनि बढाइरहेका छन् ।

सभापतिका लागि दाबेदारी गरिरहेका नेताहरूले चुनाव लड्ने भनेको पनि युवा नेताहरूकै बलमा भएकाले कि त आफैँ मिल्नुपर्ने नसके आफूहरूले भनेको कुरा मान्नुको कुनै विकल्प नहुने उनीहरू बताउँछन् ।

नेता चन्द्र भण्डारी भन्छन्‚ ‘हामीले उहाँहरूलाई मिल्नुस् भनेका छौँ । उहाँहरूले पनि त्यो मनन पक्कै गर्नुभएको छ भन्ने लाग्छ । अन्तिम अवस्थासम्म पनि उहाँहरू मिल्नुभएन भने हामी सभापति भन्दा बाँकी पदाधिकारीको टिम बनाएर उहाँहरूलाई दबाब बढाउने रणनीति पनि बनाइरहेका छौँँ ।’

भण्डारीको यो भनाइमा अर्का नेता तथा महामन्त्रीका उम्मेदवार गगनकुमार थापा पनि सहमत छन् । ‘अहिलेको मूल सन्दर्भ भनेको कांग्रेसको नेतृत्व फेर्ने भन्ने हो, जुन आवश्यक छ भन्नेमा बहुसंख्यक महाधिवेन प्रतिनिधिहरू सहमत हुनुहुन्छ तर त्यसका लागि अहिलेको संस्थापनका उम्मेदवारलाई चुनौती दिन इतर समूहबाट पनि एकमात्र उम्मेदवार हुन जरुरी छ,’ उनले भनेका छन् ।

तर यो त्यति सजिलो भने नरहेको उनी बताउँछन् । उनले थपे, ‘यो सजिलो छैन तर यसको विकल्प पनि छैन ।’

सभापतिका आकांक्षीहरूबीच कुरा मिल्न सकेन भने तपाईंहरूकाे भूमिका चाहिँ कस्तो हुन्छ ? भन्ने प्रश्नमा थापाले भने, ‘यसका लागि हामी युवा नेताहरू निरन्तर छलफलमा छौँ । त्यसको योजना पनि हामीले बनाइरहेका छौँ । अन्तिम समयसम्म पनि उहाँहरू मिल्नुभएन भने हामी टिम बनाउँछौँ र हामी नै सभापतिको उम्मेदवार तपाईँहरूमध्येबाट फलानो हुनु यो यो कारणले उपयुक्त हो भनेर कारणसहित भन्छौँ ।’

योचाहिँ कहिलेसम्ममा टुंग्याउनुहुन्छ त भन्ने प्रश्नमा उनले भने‚ ‘२४ गते महाधिवेशन उद्घाटन हुने भएकाले उद्घाटनमा जाँदै गर्दा हाम्रो सभापतिको उम्मेदवार वहाँ हो भन्ने तय भइसक्नुपर्छ ।’

अर्का युवा नेता धनराज गुरुङ्ग महाधिवेशनको उद्घाटन सत्रअघि नै नेताहरूले इतर समूहबाट एकजना मात्र सभापतिका उम्मेदवार टुंग्याउनेमा आफूहरू आशावादी रहेको र यसको विकल्प पनि नभएको बताउँछन् । उनले भने, ‘हामीले दबाब दिइरहेका छौँ, उहाँहरूले पनि दबाब महसुस गर्नुभएको छ ।’

केही चलेन भने अन्तिममा आफ्नो पक्षका जिल्ला सभापति र प्रतिनिधिहरूलाई आकांक्षीमध्ये एकजनाको नाम तय गर्न लगाएर भए पनि एकजना मात्र सभापतिमा उम्मेदवार तयार गर्ने तयारी गरिएको बताउँछन् । थापा भन्छन्‚ ‘हामीले तपाईँहरूबीच कुरा मिल्दै नमिले जिल्ला सभापतिहरू र पूर्वसभापतिहरूलाई राखेर हामीमध्ये को उम्मेदवार बन्नु ठीक भनेर गोप्य मतदान गराउनुहोस्‚ जसले बढी मत ल्याउँछ उही उम्मेदवार बन्नुहोस पनि भनेका छौँ । जसरी भएपनि मिल्नुको विकल्प छैन ।’

अर्का नेता बद्री पाण्डे प्रदेश अधिवेशनकै आधारमा अहिलेको संस्थापन पक्षले जितिहाल्छ भन्ने आकलन गर्नु गलत हुने भन्दै तर इतरबाट एकै उम्मेदवार हुनुपर्ने कुराको भने विकल्प नभएको बताउँछन् ।

‘प्रदेश महाधिवेशन हामीले पहिलो पटक गरेका थियौँ त्यहाँ कुनै पुरानो नेतृत्वलाई विस्थापन गर्नुपर्छ भन्ने थिएन, तर महाधिवेशनमा अहिलेको नेतृत्वलाई विस्थापन गर्नुपर्छ भन्नेमा धेरै प्रतिनिधिको मत मिल्छ,’ पाण्डे भन्छन्‚ ‘अर्कातिर प्रदेशमा मतदान गरका सबै प्रतिनिधिले महाधिवेशनमा मतदान पनि नगर्ने भएकाले हामी एक भएर जाँदा जित्ने सम्भावना बलियो छ ।’

नेतृ सरिता प्रसाईँ पनि सभापतिका आकांक्षीहरूलाई मिलाउने प्रयत्नमा निरन्तर लागिरहेको बताउँछिन् । ‘हामीले दबाब बढाइरहेका छौँ,’ उनले भनिन्, ‘विभिन्न विकल्प पनि दिएका छौँ । उहाँहरूले महसुस पनि गर्नुभएको होला, जसरी प्रदेशको चुनावमा उहाँहरू एकै ठाउँमा आउनुभयो, त्यस्तै महाधिवेशनमा पनि एकै ठाउँमा आउनुहुनेछ भन्ने विश्वास छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *