गुरु घिमिरे भन्छन्ः

‘म सत्य हुँ, सत्ताले सत्य मन पराउँदैन’

काठमाडौँ । प्रदेश नं. १ को कांग्रेस सभापतिमा पराजित भएपछि पुनः मतगणना गर्न माग गरिरहेका नेता गुरुराज घिमिरेले आफूमाथि पुनः राजनीतिक हिंसा भएको टिप्पणी गरेका छन् । प्रदेश नं. १ को चुनाव मूल्यमान्यताको राजनीतिको स्खलनको जीवन्त दृष्टान्त भएको भन्दै उनले भने, ‘मूल्य मान्यता र आदर्श कुल्चिएर निर्वाचनमा सत्ताको दुरुपयोग भयो ।’

आफू सत्य भएको उनको दाबी थियो, थपे— ‘सत्यलाई सत्ताले स्वीकार्दैन, म पराउँदैन ।’ उनी सभापति शेरबहादुर देउवा र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाको समूहका उम्मेदवार उद्धव थापासँग दुई मतान्तरले पराजित भएका थिए । घिमिरे रामचन्द्र पौडेल समूहका उम्मेदवार थिए ।

प्रतिनिधि सभा निर्वाचनमा आफूलाई टिकट नदिएर पार्टी सभापति शेरबहादुर देउवाले राजनीतिक हिंसा गरेको आरोप लगाउँदै उनले भने, ‘अहिले फेरि राजनीतिक हिंसा भयो । सत्ताको चरम दुरुपयोग भयो ।’

१,६३४ मत गणना हुँदासम्म आफ्नो अग्रता रहेको तर, ११५ मत गन्दा चमत्कारिक रूपमा २ भोटले हारेको देखाइएको भन्दै उनले पुनः मतगणना गर्न माग गरेका थिए । त्यसका लागि आफूले प्रदेश निर्वाचन समितिमा निवेदनसमेत दिएको, तर केन्द्रले आलटाल गरेको उनले बताए ।

कांग्रेसको प्रदेश निर्वाचन समितिले त्यो केन्द्रीय निर्वाचन समितिले भनेबमोजिम हुने बताएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *