महाधिवेशनमा ज्ञानेन्द्रको हस्तक्षेपले राजतन्त्रप्रतिको भ्रम टुट्यो : थापा

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का निवर्तमान अध्यक्ष कमल थापाले निर्मल निवासबाट महाधिवेशनमा भएको हस्तक्षेपपछि राजतन्त्रप्रतिको विश्वास नै डगमगाएको बताएका छन् । अध्यक्ष पदमा राजेन्द्र लिङ्देनसँग पराजित भएका थापाले औपचारिक रूपमा वक्तव्य जारी गरेरै यस्तो दाबी गरेका हुन् । ‘केन्द्रीय नेतृत्वको निर्वाचनमा निर्मल निवास र पूर्वराजा ज्ञानेन्द्रको नाङ्गो हस्तक्षेपको म घोर भर्त्सना र निन्दा गर्दछु । फेरि यो पहिलो घटना होइन, ०७४ सालमा पार्टी फुटाउन र विगत केही समययता तथाकथित भजन मण्डली खडा गरेर पार्टी नेतृत्वको चरित्र हत्या गर्ने र राप्रपाबारे भ्रम सिर्जना गर्ने गराउने कार्य निर्मल निवासबाट बारम्बार हुँदै आएको सर्वविदितै छ,’ वक्तव्यमा भनिएको छ ।

आफू एउटा खेलाडी भएको नाताले हार र जीत सामान्य कुरा रहेको उनले जिकिर गरेका छन् । ‘एउटा खेलाडी भएको नाताले हार वा जीतले मेरो लागि कुनै अर्थ राख्दैन’, उनले भनेका छन्, ‘हारलाई पनि सहर्ष स्वीकार गरेर फेरि अर्को प्रतिस्पर्धाको निम्ति तयार रहने संस्कार मेरो रगतमा रहेको छ ।’

थापाले वक्तव्यमा दोहो¥याएर निर्मल निवासको अवान्छित र अमर्यादित हस्तक्षेप भएको पनि उल्लेख गरेका छन् । ‘पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धामा निर्मल निवासको अवान्छित र अमर्यादित हस्तक्षेपले राजसंस्थासम्बन्धी मेरो र राप्रपाको आधारभूत मान्यतामाथि नै गम्भीर आघात पुगेको छ । नेपालको भूराजनीतिक अवस्था तथा धार्मिक, सामाजिक र सांस्कृतिक परिवेशमा राष्ट्रियता र एकताको प्रतीकका रूपमा राजनीतिभन्दा माथि उठेको साझा संस्थाका रूपमा राजसंस्था हुनु उपयुक्त हुन्छ भन्ने हाम्रो मान्यता हो र रहि रहने छ,’ थापाले भनेका छन् ।

उनले राजसंस्थालाई अभिभावकका रुपमा स्वीकारे पनि यो महाधिवेशनमा भएको हस्क्षेपले भ्रम टुटेको पनि बताएका छन् । ‘राप्रपाले परिकल्पना गरेको राजसंस्था एउटा आदर्श अभिभावकका रूपमा रहने सम्मानित संस्था हो । चुनावी राजनीति भन्दामाथि उठेको सम्पूर्ण नेपालीहरूको साझा र तटस्थ संस्थाको रूपमा हामीले राजसंस्थाको वकालत गरेका हौँ,’ थापाले भनेका छन्, ‘अहिले शतप्रतिशत राजावादीहरू भएको पार्टीमा त राजाको ठाडो र फोहोरी हस्तक्षेप हुन्छ भने भोलि राजसंस्था स्थापित हुँदा अन्य पार्टी र राजनीतिमा राजाको हस्तक्षेप हुँदैन भनेर भन्ने हाम्रो नैतिक धरातल समाप्त भएको छ ।’

थापाले राजसंस्थाबारे र पार्टीलाई रिमोट कन्ट्रोलबाट चलाउन चाहने निर्मल निवासको योजनाबारे अब राप्रपाभित्र बहस शुरू हुने पनि बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *