अमरेशकुमार सिंह कांग्रेस महाधिवेशन प्रतिनिधिमै पराजित

काठमाडाैँ । सांसद तथा नेपाली कांग्रेसका नेता अमरेशकुमार सिंह पार्टीको महाधिवेशन प्रतिनिधि चुनावमा हारेका छन् । सर्लाही निर्वाचन क्षेत्र नम्बर-४ बाट प्रतिनिधित्व गर्ने उनी कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत महाधिवेशन प्रतिनिधिमा हारेका हुन् ।

आज बिहान सार्वजनिक मत परिणामअनुसार उनले २४८ मत मात्र प्राप्त गरेको जनाइएको छ । उनी वरिष्ठ नेता रामचन्द्र पौडेल समूह निकट मानिन्छन् । पराजयसँगै सिंहले अब केन्द्रीय महाधिवेशनमा भाग लिन नपाउने भएका छन् । प्रतिनिधि सभा क्षेत्रीय अधिवेशनमा सिंहको समूह नै हारेको हो ।

नेता सिंह पक्षका नेता/कार्यकर्ता क्षेत्रीय कार्यसमिति र महाधिवेशन प्रतिनिधिमा हारेका हुन् । सर्लाहीमा क्रियाशील सदस्यताको फाराम वितरणदेखि नै संस्थापन पक्षले एकलौटी गरेको आरोप थियो । उक्त विवादले उग्र रूप लिँदा त्यहाँ पटक-पटक कार्यकर्ताबीच झडप भएका थिए भने प्रहरीले हवाई फायर नै गर्नुपरेको थियो ।

सिंहले यसअघि क्रियाशील सदस्यता वितरणमा असन्तुष्टि जनाउँदै प्रतिनिधि सभा सदस्य पदबाट राजीनामा बुझाएका थिए । त्यसपछि उनकै जिल्लाका जनप्रतिनिधि तथा नेताहरूले कारबाही गर्न माग गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *