कांग्रेस सह महामन्त्रीमा सीता गुरुङको उम्मेदवारी घोषणा

काठमाडौँ । कांग्रेस नेतृ एवम् पूर्व राज्यमन्त्री सीता गुरुङले केन्द्रीय सह महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेकी छिन् । उनले आदिवासी जनजातितर्फ सह महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेकी हुन् ।

सभापति शेरबहादुर देउवानिकट नेतृ गुरुङ हाल केन्द्रीय आदिवासी जनजाति विभागकी प्रमुखसमेत हुन् । कांग्रेसले यसपटक खस आर्य, महिला, मधेशी, आदिवासी जनजाति र दलितसहित ८ वटा समावेशी समूहबाट सह महामन्त्री बन्ने व्यवस्था छ । ‘पार्टीको पदाधिकारीमा महिलाको सङ्ख्या बढ्नुपर्छ, मैले लामो समयदेखि पार्टी र आदिवासी जनजाति समुदायको कार्य गर्दै आएको छु,’ गुरुङ सञ्चारकर्मीसँग भनिन्, ‘त्यहीकारण पनि मैले महिलातर्फ होइन, आदिवासी जनजातितर्फ नै सह महामन्त्रीको दाबी गरेकी हुँ ।’

तेह्रथुमको आठराईमा जन्मिएकी नेतृ गुरुङ नेविसंघको जिल्ला तहको नेतृत्वमा थिइन् । नेपाल महिला संघको जिल्ला अध्यक्ष, केन्द्रीय सदस्य र केन्द्रीय महासचिव समेत भएर काम गरिन् । पार्टीको १२औँ महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएकी गुरुङ १३औँ महाधिवेशनबाट आदिवासी जनजाति महिलातर्फ सर्वाधिक भोटसहित निर्वाचित नेतृ हुन् ।

०७४ सालको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा कांग्रेसबाट प्रत्यक्षतर्फ ७ महिलाले चुनाव लडेका थिए । तीमध्ये गुरुङ प्रदेश १ कै एक्ली उम्मेदवार हुन् । बाम गठबन्धनका कारण उनी तेह्रथुममा झिनो मतले मात्रै पराजित भइन् । दुवै संविधानसभामा सदस्य रहेकी गुरुङ संविधान मस्यौदा समितिकी सदस्य समेत हुन् । उनी ०७४ को देउवा सरकारमा भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री बनेकी थिइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *