२७ वर्षमै मन्त्री बनेका सुब्बाले कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी दिने

काठमाडौँ ।  कांग्रेस नेता तुलसी सुब्बाले कांग्रेसको केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन् । तेह्रथुमका सुब्बाले पार्टीको केन्द्रीय कार्यसमितिमा आदिवासी जनजातितर्फ केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने निर्णय गरेको जानकारी दिए ।

२७ वर्षको उमेरमै राज्यमन्त्री बनेका सुब्बा तेह्रथुमबाट ०६४ सालमा प्रत्यक्षतर्फ निर्वाचित संविधानसभा सदस्य पनि हुन् । तेह्रथुममा ०१५ सालपछि कांग्रेसले चुनाव जित्न सकेको थिएन । सुब्बा ०५६ सालमा मात्रै कांग्रेस प्रवेश गरेका हुन् । त्यसअघि उनी राप्रपामा थिए । उनको व्यक्तिगत प्रभावका कारण तेह्रथुममा कांग्रेस संगठन पनि बलियो भएको थियो । त्यसैको परिणामस्वरुप कांग्रेसले ५० बर्षपछि तेह्रथुममा कम्युनिष्ट दललाई हराउन सकेको थियो ।

त्यसबेला आमनिर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट असन्तुष्ट बनेर  स्वतन्त्र उम्मेदवारी दिँदा सुब्बाले ११ हजारभन्दा धेरै मत प्राप्त गरेका थिए ।  सुब्बालाई तत्कालीन कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाले  १० हजार कार्यकर्तासहित कांग्रेसमा भित्र्याएका थिए ।

त्यसयता सुब्बा निरन्तर कोइराला परिवारको निकट रहेर संगठन गर्दै आएका छन् । तेह्रथुममा पार्टीको संगठनमा सुब्बाको प्रभुत्व  छ । सुब्बा २३ वर्षमै जिल्ला पञ्चायतको उपसभापति बनेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *