उम्मेदवार छान्न देउवालाई हम्मे, को-को पर्लान् ?

काठमाडौँ । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालाई पदाधिकारीका आकांक्षी मिलाउन सकस देखिएको छ । खासगरी महामन्त्रीमा उनलाई उम्मेदवार छान्न सकस परेको हाे । महामन्त्रीमा ज्ञानेन्द्रबहादुर कार्की, बालकृष्ण खाँण, डा. प्रकाशशरण महत, विश्वप्रकाश शर्मा र एनपी साउदलगायत नेता आकांक्षी छन् ।

उनीहरूमध्येबाट दुई जनालाई महामन्त्रीमा उम्मेदवार बनाउन देउवालाई सकस परेको उनीनिकट नेताहरू नै बताउँछन् । शर्माले यसअघि नै महामन्त्रीको उम्मेदवारी घाेषणा गरिसकेका छन् । बुढ्यौली वयमा पनि सभापतिको उम्मेदवार बन्ने रहर गरिरहेको भन्दै आलोचना खेपिरहेका देउवाले बाँकी टिमलाई युवा र समावेशी बनाउनुपर्ने दबाब छ ।

अर्कोतिर रामचन्द्र पौडेल र कोइराला पक्षबाट गगनकुमार थापा एक महामन्त्रीको उम्मेदवार हुने निश्चित भएकाले पनि उनले महामन्त्रीमा लोकप्रिय अनुहारलाई छान्नुपर्ने दबाब छ । यति मात्र होइन देउवालाई कृष्ण सिटौला पक्षलाई व्यवस्थापन गर्नुपर्ने तनाव पनि छ ।

सिटौला पक्षबाट प्रदीप पौडेल महामन्त्रीको आकांक्षी छन् । केही दिनअघिको कार्यक्रममा सिटौलाले पार्टी प्रवक्तासमेत रहेका शर्मा र सहमहामन्त्री महतसमेत उपस्थित कार्यक्रममा अहिल्यै हतार नगर्न सुझाव दिँदै पर्खिए पालो आइहाल्ने बताएका थिए । टिम छनोट चुस्त हुन नसके टिमका नेता विमलेन्द्र निधिको पक्षमा जानसक्ने खतरा पनि रहेकाले देउवा दबाबमा छन् ।

अर्कातिर पौडेल कोइराला पक्षले पनि सिटौला पक्षलाई सहकार्यको औपचारिक प्रस्ताव गरिसकेको छ । सिटौलालाई आफ्नै टिममा राखिराख्न पनि उनले सिटौलाले मागेको पद दिनुपर्ने बाध्यता छ । सिटौलाले कम्तिमा एक महामन्त्री चाहिने बताइसकेका छन । थप पदहरूकाे पनि बाँडफाँट गर्नुपर्ने उनको माग छ ।

यसो गर्दा देउवाले एक महामन्त्री मात्र आफ्नो पक्षमा राख्न सक्ने अवस्था रहेको नेताहरु बताउँछन् । यस्तै उपसभापति तथा सहमहामन्त्री मिलाउन पनि सभापति देउवालाई सकस परेकाे छ । काेषाध्यक्ष भने कांग्रेसमा मनाेनीत हुनेछ ।

यी यावत् विषयहरूलाई एजेन्डा बनाएर देउवाले आफ्नाे निजी निवास बूढानीलकण्ठमा बैठक बसिरहेकाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *