कांग्रेस संस्थापनइतर पक्षको बैठक शुरू, साझा उम्मेदवार चुन्ने प्रयास

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापनइतर पक्षको बैठक शुरू भएको छ । बैठक नेता प्रकाशमान सिंहनिवास चाक्सीबारीमा शुरू भएको हो । यसअघि बुधबार बिहान नै एकपटक बसेका नेताहरू तीन बजेपछि अर्को बैठक बसेर सभापतिकाे साझा उम्मेदवार चुन्ने निष्कर्षसहित उठेका थिए । अहिलेको बैठकले साझा उम्मेदवार छान्ने प्रयास गर्ने नेता बद्री पाण्डेले बताए ।

संस्थापनइतर पक्षमा पूर्वमहामन्त्रीसमेत रहेका नेता प्रकाशमान सिंह र नेता डा. शेखर कोइराला सभापतिको आफ्नो अडानबाट ‘ब्याक’ भएका छैनन् । सभापतिकै आकांक्षीद्वय पार्टीका महामन्त्री शशांक कोइराला र वरिष्ठ नेता रामचन्द्र पौडेलले आफ्नो दाबी छाड्ने बताएका छन् । उनीहरूले नेतृत्वमा पुस्तान्तरण आवश्यक रहेकाे औ‌ंल्याउँदै आफ्नाे अडान छाडेकाे बताएका छन् ।

खासगरी सभापतिका आकांक्षी चार नेताहरूलाई १२ जनाभन्दा बढी युवा नेताहरूले साझा उम्मेदवार तय गर्न दबाब बढाएका छन् । साझा उम्मेदवार नछानिए आफूहरूले नै हस्तक्षेप गरी उम्मेदवार टुङ्ग्याउने युवा नेताहरूको चेतावनी छ ।

प्रदेश र त्यसभन्दा तल्लो तहका मतपरिणामलाई हेरेर संस्थापनइतर पक्षले ‘नमिले हारिन्छ’ भन्ने विश्लेषण गरेपनि साझा उमेदवार छान्न सकेकाे छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *