संस्थापनइतर कांग्रेस:

सिंह सहमत भए पौडेल साझा उम्मेदवार

सिंहमा अड्कियाे साझा उम्मेदवारकाे हलाे

काठमाडौँ । आसन्न १४औं महाधिवेशनमा साझा उम्मेदवार उठाउने कसरत गरिरहेको नेपाली कांग्रेसको संस्थापनइतर पक्ष अझै अनिर्णित नै छ । महाधिवेशन शुरू हुन १ दिन मात्रै बाँकी छँदा पनि सभापति पदका आकांक्षीहरूबीचको रस्साकस्सी बढेकाे बढ्यै छ ।

संस्थापनइतर पक्षबाट पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्वमहामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य डा. शेखर कोइराला सभापतिका आकांक्षी छन् ।  उनीहरूबीच महाधिवेशनकाे पूर्वसन्ध्यामा सहमति हुनुकाे साटाे झनै रस्साकस्सी चलेकाे छ । खासगरी युवा नेताहरूले दबाब बढाएपछि नेतृत्वकर्ता नेताहरू सकसमा परेका छन् । त्यसो त प्रादेशिक मतपरिणाम हेरेर संस्थापनइतर पक्षका नेतृत्वकर्ता नेताहरूलाई नै पनि ‘साझा उम्मेदवार नबनाए हारिन्छ’ भन्ने लागेको पार्टीका महामन्त्री शशांक कोइराला बताउँछन् । सभापतिमा आफ्नो दाबी छाडेका कोइरालाले भने, ‘साझा उम्मेदवार उठाउनुको कुनै विकल्प नै छैन । यो हामीलाई पनि लागेकै हो । यसमा सकस भयो । तर, अब टुङ्गिन्छ ।’

नेता कोइरालाले पौडेललाई सभापतिको उम्मेदवार बनाउन प्रस्ताव गर्दै मंगलबार नै आफूले सभापतिको दाबी छोडेको जानकारी गराएका थिए । त्यसयता पनि पौडेल, सिंह र शेखरबीच कडा प्रतिस्पर्धा चलेकाे छ ।

सभापतिका आकांक्षीमध्येका नेता शेखरले भने सर्तका साथ दाबी छाड्छु भनेर भनेका छन् । आज अपराह्न शेखर पौडेलनिवास बोहराटार पुगेका थिए । त्यसक्रममा उनीहरूबीच साझा उम्मेदवार छान्ने विषयमै बातचीत भएको थियो । कुराकानीको क्रममा शेखरले पौडेललाई आफूले छाड्नुपरे सिंहले पनि दाबी छाड्नुपर्ने सर्त राखेका छन् ।

तर, सिंहले भने कुनै पनि हालतमा आफूले ‘ब्याक गियर’ नलगाउने दाेहाेर्‍याउँदै आएका छन् । सिंहदरबारअगाडि सम्पर्क कार्यालयसमेत खडा गरेर पछाडि नहट्ने सन्देश इतर पक्षलाई दिएका उनले बरू आफ्नै नाममा इतर पक्षमा सहमति जुट्नुपर्ने बताएका छन् ।  आज दिउँसो बसेको संस्थापनइतर पक्षको बैठकमा सिंहले ‘मेरो नाममा सहमति जुटाउनुस्’ भनेर भनेका थिए । ‘उहाँ साह्रो नेता निस्किनुभयो,’ पौडेलनिकट एक नेताले भने, ‘उहाँले बैठकमै मेरो नाममा सहमति जुटाउनुस् भनेर भन्नुभयो ।’

दुई कोइराला (शंशाक र शेखर) आफ्नो दाबी छाड्ने बताएसँगै साझा उम्मेदवारको ‘हलो’ सिंहमा अड्किएको छ विश्लेषण हुन थालेकाे छ । उनको एकसूत्रीय माग आफैँ सभापतिको उम्मेदवार बन्ने छ । साझा उम्मेदवार छान्ने अधिकार केन्द्रीय सदस्यहरूलाई दिने प्रस्ताव लिएर नेताहरू अर्जुननरसिंह केसी, बलबहादुर केसी र महेश आचार्य सिंहनिवास चाक्सीबारी पुगेका थिए । त्यसक्रममा सिंहले भनेका थिए, ‘सहमति खोज्नुपर्छ । त्यसमा मेरौ नाममा सहमति गरौँ न ।’

उता इतर पक्षका केन्द्रीय सदस्यहरूकाे बैठकले कसलाई साझा उम्मेदवार बनाउँदा हुन्छ भन्नेबारे छलफल गरेकाे छ । सभापतिका ४ आकांक्षीहरूलाई नबोलाइएको बैठकमा नेताहरूले साझा उम्मेदवारकाे रूपमा रामचन्द्रलाई उठाउनुपर्ने निष्कर्ष निकालेका छन् । एक केन्द्रीय सदस्यले भने, ‘रामचन्द्र दाइ नै साझा उम्मेदवार हुन सक्नुहुन्छ भनेर हामीले भनेका छौँ । त्यसमा नेताहरूले विभिन्न कोणबाट कुरा राख्नुभयो । अन्तमा हामी यही निष्कर्षका साथ उठेका छौँ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *