गगनको निष्कर्ष : ओलीले अस्थिरता ल्याए
काठमाडौँ । नेपाली कांग्रेसको १४ औँ महाधिवेसन आजदेखि सुरु हुँदैछ । नेतृत्व छनोटमा केन्द्रित यो महाधिवेशनमा उम्मेदवारहरु आ–आफ्नै तयारीमा व्यस्त छन् । कोही चुनावी प्रचार सामग्री बनाएर पोलपोलमा टाँस्दैछन् भने कोही सामाजिक सञ्जालमा व्यस्त छन् ।
केही मात्रै आकाङ्क्षीहरू कांग्रेसको भावी कार्यदिशा सहित नीतिगत स्पष्टता खोजिरहेका छन् । महामन्त्री पदका आकाङ्क्षी गगनकुमार थापाले आफ्नो राजनीतिक प्रस्ताव सार्वजनिक गरेका छन् । आउँदो २०८२ सम्म कांग्रेसलाई कुन अवस्थामा पु-याउने र कांग्रेसले लिने नीति के हुने भन्ने बारे उनले घोत्लिएर कार्यपत्र तयार गरेका छन् ।
थापाले समुन्नत नेपाल, सम्मानित नेपाली नारा सहित कांग्रेसको पुनर्जागरण र रूपान्तरणको प्रस्ताव अघि सारेका हुन् । ‘आफ्नै सक्रिय जीवनकालमा प्रत्येक नेपाली समुन्नत नेपालको नागरिक भएर सम्मानित जीवन बाँच्ने र विश्वसामु सुखी राष्ट्रको प्रतिष्ठित नागरिकको रूपमा चिनाउन मेरो राजनीति यही उद्देश्य प्राप्तिका लागि समर्पित रहने छ,’ उनले भनेका छन् ।
थापाले तयार गरेको ६१ पृष्ठ लामो कार्यनीतिमा यसअघिका राजनीतिक घटनाक्रमको व्याख्या मात्रै छैन, नेपाली कांग्रेसको आगामी बाटो पनि खोजिएको छ । उनले माओवादीले चलाएको जनयुद्ध र २०६२/०६३ को जनयुद्ध र जनआन्दोलन भने स्वीकारेका छैनन् । देशमा आएको राजनीतिक अस्थिरताको मूल कारक नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० लाई देखाएका छन् भने कांग्रेसलाई पानीमाथिको ओभानो बनाएका छन् ।
‘२०६० सालको सेरोफेरोमा एकातिर लोकतान्त्रिक अधिकारहरू कुण्ठित र प्रतिबन्धित थिए भने अर्कोतिर माओवादी चरम हिंसाबाट देश भयभीत र आक्रान्त थियो,’ उनले प्रस्तावमा लेखेका छन्, ‘राजाको निरंकुशता र माओवादी आतङ्कको अन्त्य गर्दै शान्ति र लोकतन्त्रको स्थापना गर्ने भरोसासहित नेपाली कांग्रेसकै नेतृत्वमा लोकतान्त्रिक आन्दोलन सुरु भयो ।’ उनले २०६२ सालको भदौमा भएको ११ औँ महाधिवेशनले तय गरेको कार्यदिशा अनुसार नै मुलुक अघि बढेको र लोकतन्त्र स्थापना भएको दाबी गरेका छन् ।
‘माओवादीलाई हिंसा त्याग्न, राजालाई दरबार छाड्न र जनतालाई शान्ति र लोकतन्त्रका लागि आन्दोलनमा भाग लिन कांग्रेस पार्टीले आह्वान ग-यो,’ उनले लेखेका छन्, ‘‘राजाको निरकुंश शासनदेखि माओवादी हिंसाको अन्त्यसम्म, संविधानसभादेखि आम निर्वाचनसम्मको नेतृत्व नेपाली कांग्रेसले गरेको हो र यसमा हामीलाई ठूलो गौरव छ ।’ २०६२ देखि २०७२ सम्म नेपाली कांग्रेसको कार्यदिशा अनुसार मुलुक हिँडेको र त्यसपछि भने देश अस्थिरता तर्फ धकेलिएको उनको तर्क छ ।
‘जनादेश र मतादेश दुवै पाएको नेपाल कम्युनिष्ट पार्टीले तीन वर्षभन्दा लामो समय सरकारमा रहेर संविधानको मर्मअनुसार आफुलाई प्राप्त जनादेशको खतरनाक दुरुपयोग गरेको छ । सत्ता र शक्तिको केन्द्रीकरण गर्ने एउटा व्यक्तिको अति महत्वकांक्षाले यो व्यवस्थालाई तहसनहस बनाएको छ,’ उनले भने, ‘नेकपा सरकारले मुलुकलाई झन् भयङ्कर अस्थिरताको चक्रमा फस्ने जोखिम बढाएको छ ।
ओली सरकारले बीजारोपण गरेको अस्थिरताको त्यो विषवृक्ष झाँगिएर यतिखेर प्रष्ट रूपमा सरकार, संसद्, न्यायालय, संवैधानिक निकाय आदी राज्यको मूल अङ्गहरूको आँगनसम्मै पुगेको छ ।’ उनले नेपालको सैद्धान्तिक रूपरेखा १५ बुँदामा कोरेका छन् ।
राजनीतिक प्रणाली, आर्थिक प्रणाली, सामाजिक र राजनीतिक स्वरूप लगायत विषय त्यसमा उल्लेख छ । १४ औँ महाधिवेशनपछि कांग्रेसले सामाजिक लोकतन्त्रको सैद्धान्तिक खाका बनाएर समुन्नत नेपालको सङ्कल्पसहित राष्ट्रिय अभियान प्रारम्भ गर्नुपर्ने उनले बताए ।
‘कम्युनिष्ट पार्टीको गैर जिम्मेवार सरकारका कदमले ‘डिरेल’ भएको राजनीतिलाई पुनः सही बाटोमा ल्याएर यो संविधान र हाम्रो लामो राजनीतिक संघर्षबाट प्राप्त लोकतान्त्रिक उपलब्धिलाई कांग्रेसले जोगाउने छ,’ उनले भनेका छन्, ‘संवैधानिक र राजनीतिक गतिरोधलाई सुझबुझपूर्ण ढङ्गले हटाएर मुलुक फेरि एकचोटी सही बाटोमा फर्किएको आभास दिलाउँदै आम नागरिकको व्यवस्थाप्रतिको भरोसालाई पुनर्स्थापित गर्नेछ ।’
थापा १२ औँ महाधिवेशनमा महामन्त्रीमा पराजित भएका थिए ।