द्वन्द्वकालीन घटनाका पीडितलाई न्याय दिलाउँछौँ : प्रधानमन्त्री देउवा
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले द्वन्द्वकालीन घटनाका पीडितहरूलाई चाँडै न्याय दिलाउने प्रतिबद्धता व्यक्त गरेका छन् । राष्ट्रिय मानव अधिकार आयोग नेपालले शुक्रबार काठमाडौँमा आयोजना गरेको ७३ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले द्वन्द्वकालीन घटनाका पीडितलाई न्याय दिलाउने बताएका हुन् ।
उनले पीडितहरूलाई क्षतिपूर्ति दिएर भए पनि द्वन्द्वकालीन घटनाका पीडितहरूलाई न्याय दिलाउने प्रतिबद्धता व्यक्त गरे । नेपालले गरिरहेको कामको प्रशंसा विश्व जगतले गरिरहेको भन्दै प्रधानमन्त्री देउवाले मानवअधिकारसम्बन्धी आवश्यक काम गर्न सरकार तयार रहेको बताए ।
उनले भने, ‘मानव अधिकारसम्बन्धी धेरै अधिकार हामीले दिएका छौँ । पछाडि परेका, महिला, दलित, जनजाति सबैलाई हामीले आरक्षण दिएका छौँ, अधिकार दिएका छौँ । मानव अधिकारसम्बन्धी धेरै कुराहरू नेपालमा भएको छ । जुन द्वन्द्व पीडितहरू, द्वन्द्वबाट जो मानिस दुःखी छन्, अहिलेसम्म पनि टीआरसी, सत्यनिरुपण लगायतका कुराहरूमा पनि हामीले अवश्य नै न्याय गर्नेछौँ । रामोसँग क्षतिपूर्ति दिएर भए पनि द्वन्द्व पीडितहरूको परिवार, सदस्यहरूलाई न्याय दिने प्रयास गरिरहेका छौँ । हाम्रो कामको संसारले नै तारिफ गरेको छ । नेपालमा यत्रो द्वन्द्व भए आफैँ नेतृत्व गरेर वार्ता सुरु गरेर हामीले हिजो इमर्जेन्सीमा लागेका मित्रहरु आज मिनिस्ट्रीमा आएका छन् । सबैलाई हामीले आश्वस्त पार्नुपरेको छ । नेपाल आफैँले पनि धेरै कामहरू गर्न सक्छ भन्ने कुरा प्रमाणित भएको छ । केही कुरा छन् भने त्यसमा पनि हामी हेर्ने नै छौँ ।’