अपराजित रहँदै मनाङ शीर्ष स्थानमा

काठमाडौँ । शहीद स्मारक ए डिभिजन लिग फुटबलमा मनाङ मर्स्याङ्दी क्लबले आफ्नो अपराजित यात्रा जारी राखेको छ । चौथो चरणअन्तर्गत शुक्रबार दशरथ रंगशालामा भएको खेलमा फ्रेन्ड्स क्लबलाई २-० ले पराजित गर्दै मनाङ शीर्ष स्थानमा उक्लिएको हो । फ्रेन्ड्स क्लबको जितविहीन यात्रा भने जारी रह्यो । प्रतियोगितामा फ्रेन्ड्सको यो दोस्रो हार हो ।

मनाङले ४१औँ मिनेटमा अग्रता बनाएको थियो । अञ्जन विष्टले दिएको पासलाई ओलावाले आफिजले हेडर गोल गरे । ७३औँ मिनेटमा पुजन उपरकोटीको फ्रिकिकमा दिनेश राजवंशीले हेडर गोल गरेपछि मनाङले सहज जित निकाल्यो ।

त्यसअघि पहिलो हाफ र दोस्रो हाफमा अधिकांश समय मनाङले खेल आफ्नो नियन्त्रणमा राखेको थियो । आठौँ मिनेटमानै डिबक्सभित्रको फ्रिकिकलाई सरोज योन्जनले बचाए । त्यसपछि पनि मनाङले निकै राम्रा प्रहारहरू गरेको थियो ।

दोस्रो हाफमा पनि मनाङले लगातार दबाब बनायो । ६०औँ मिनेटमा ओलावाले आफिजले गोलको राम्रो मौका चुकाए । त्यस्तै ८१औँ मिनेटमा एडिलाज सोमिडेले गरेको प्रहार पनि सफल हुन सकेन । फ्रेन्ड्सले भने खेलको अन्तिम समयमा गोलको अवसर पाएको थियो तर सफल हुन सकेन । फ्रेन्ड्सले खेल सकिन ३ मिनेट बाँकि हुँदा गरेको गोल अफसाइड हुँदा फ्रेन्ड्सले अग्रता घटाउने मौका चुकायो ।

जितपछि मनाङ १० अंकका साथ शीर्ष स्थानमा उक्लिएको छ । मनाङको ४ खेलबाट ३ जित र १ बराबरीसहित १० अंक हुँदा फ्रेन्ड भने चार खेलबाट दुई बराबरी र दुई हारका साथमा २ अंक बटुल्दै १२औँ स्थानमा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *