यस्ता रहे कट्रिना-विक्की बिहेका रोचक पक्ष
एजेन्सी । विक्की कौशल र कट्रिना कैफले विवाह गरेका छन् । दुवैले बिहीबार सवाई माधोपुरको फोर्ट बरवाडा होटेलमा ‘सात फेरा’ लिएका हुन् ।
पहिलो तस्बिर विक्कीले सेयर गरे
यो जोडीले आफ्नो विवाह गोप्य नै राख्न चाहेको थियो । यसका लागि सबै सावधानी अपनाइएको थियो । यसमा वर-वधु दुवै निकै सजग थिए । उनीहरूको विवाहको गोप्यता कायम राख्न दिनभर प्रयत्न जारी रह्यो । दुलही र दुलहीको फोटो, भिडिओ नबाहिरियोस् भनेर सुरक्षा गार्डले विवाहस्थल र झ्याललाई कालो कपडाले छोपेका थिए । त्यसैले अरूले तस्बिर सार्वजनिक गर्न नपाउँदै हिजो साँझ विक्कीले आफ्नो इन्स्टाग्राम अकाउन्टबाट विवाहको तस्बिर सेयर गरे ।
तस्बिरहरूसँगै विक्कीले एउटा नोट पनि लेखेका छन्- ‘हाम्रो हृदयमा माया र कृतज्ञता मात्र छ‚ जसले हामीलाई आजको यो घडीमा ल्याएको छ । तपाईँहरू सबैको माया र आशीर्वादको कामना गर्दै हामी नयाँ यात्रा सुरु गर्दैछौँ ।’ त्यसपछि नवविवाहित जोडीका तस्बिर सामाजिक सञ्जालमा भाइरल भएका छन् ।
विवाहमा कट्रिनाले जुरो बनाएर गजरा लगाएकी थिइन् । उनी रातो लेहेङ्गामा थिइन् । त्यस्तै विक्कीले सेतो शेरवानी लगाएका थिए । विवाहपछि होटेलले गाउँलेलाई मिठाइसमेत पठाएको थियो ।
विवाह समारोह
विवाहमा परिवारका सदस्य र केही विशेष पाहुनामात्र सहभागी थिए । बिहीबार बिहान १०:३० बजेसम्म कोर्टिल रेस्टुरेन्टमा बिहेमा आउने विशेष अतिथिका लागि ब्रेकफास्ट राखिएको थियो । दिउँसो १२ बजेदेखि राजपुत ठाँटसहित बिहेको विधि सुरु भएको थियो । दिउँसो १ बजे सेहराबन्दी भएको थियो, त्यसपछि भिन्टेज कारमा जन्ती आएका थिए । विक्की घोडामा चढेर विवाहस्थल पुगेका थिए । दिउँसो करिब ३ बजेबाट विवाहका अन्य कार्यक्रम सुरु भएको थियो । साँझ करिब ५ बजे विवाह सम्पन्न भएको थियो । सात फेरा लिएपछि विक्की र कट्रिनाले परिवारका अग्रजहरूबाट आशीर्वाद लिएका थिए ।
बहुप्रतिक्षित सेलिब्रेटी विवाहमा अर्जुन कपूर, करिका कपूर, गुरदासमान, करण जोहर, फराह खान, निन्दी कौर, आस्था गिल र डिजे चेतसलगायत सेलिब्रेटी उपस्थित थिए । विराट, अनुष्का, शाहरुख खान र अम्बानी परिवारका कुनै सदस्यको तस्बिर भने हालसम्म सार्वजनिक भएको छैन ।
बुधबार हल्दी र संगीत
विक्की-कट्रिनाको हल्दी समारोह बुधबार बिहान ११ बजे भएको थियो । यस समारोहमा दुवैले पहेँलो लुगा लगाएका थिए । साँझ ७ बजे खरबुजा महलमुनिको लेनमा संगीत कार्यक्रम भएको थियो । यहाँ चट्टानमा मञ्च बनाइएको थियो । समारोहमा राजस्थानी र पन्जाबी विषयवस्तुहरू पनि थिए । सञ्चार माध्यमहरूका अनुसार विक्की र कट्रिनाले पन्जाबी र राजस्थानी गीतमा पनि प्रस्तुति दिएका थिए । फराहले नृत्य गरेको भिडिओ पोस्ट गरेकी थिइन् । डिसेम्बर ७ मा चलचित्र निर्माता करण जोहर र कोरियोग्राफर फराह खान विवाहमा सहभागी हुन सवाई माधोपुरस्थित होटेल ताज पुगेका थिए ।
त्यसपछि दुवैले होटेलको कोठाबाहिर चलचित्र ‘कभी खुसी कभी गम’ को गीतमा नाच्दै भिडिओ सामाजिक सञ्जालमा पोस्ट गरेका थिए ।
फूल सजाउनमात्रै ८० कालिगड
विवाहका लागि दिल्लीको गाजीपुरबाट फूल ल्याएका ट्रक चालकले विभिन्न जातका साढे पाँच टन फूल ल्याएको बताएका छन् । सेहराबन्दीदेखि रात्रिभोजस्थलसम्म थरिथरिका फूल सजाइएको थियो । फूल लिएर तीनवटा ट्रक विवाहस्थल पुगेका थिए ।
ट्रक बिहीबार बिहान बर्वारा किल्लामा पुगेको थियो‚ यसमा ५ देखि ७ थरीका फूल थिए । मण्डप सजाउन सुनाखरी, सयपत्री, चमेलीका साथै संसारकै सबैभन्दा सुन्दर मानिने फूलहरू अर्डर गरिएको थियो । मण्डप र होटेल सजाउन करिब ८० कालिगडले काम गरेका थिए ।
केही समयअघिसम्म खण्डहर थियो विवाह स्थल
यी दुईको विवाहपछि चर्चामा आएको राजस्थानको ‘फोर्ट बरवाडा र सिक्स सेन्सेस’ होटेल कुनै समय भग्नावशेषमात्रै थियो । त्यहाँ पुनर्निर्माणपछि भएको यहि विवाह नै पहिलो ‘शाही विवाह’ हो । यसलाई पाँचतारे होटेलको रूप दिन १० वर्षको समय र करिब १ सय ५० करोड खर्च गरिएको थियो । यस किल्लाको वास्तविक नाम चौथका बरवाडा हो । यो सवाई माधोपुरबाट करिब २५ किलोमिटरको दूरीमा छ । यस किल्लाका मालिक पृथ्वीराज सिंह हुन्, जो बरवडा परिवारका राजा मानसिंहको परिवारकै पुस्तैनी सदस्य हुन् । पृथ्वीराजले यो किल्ला भाडामा दिएर एक भागमा भव्य होटेल बनाएका छन् । यो होटेल अक्टोबरमा मात्रै सञ्चालनमा आएको हो । यसलाई एलिमेन्टल स्टुडियोद्वारा डिजाइन गरिएको थियो ।
विवाहको भिडिओलाई ८० करोड
मङ्गलबारदेखि सुरु भएको विवाह कार्यक्रम बिहीबार सकिएको छ । कट्रिना र विक्कीले आफ्नो विवाहको भिडिओ महँगो रकममा अमेजन प्राइमलाई बेचेका छन् । भिडिओका लागि अमेजनले ८० करोड भारतीय रुपैयाँ तिरेको छ । त्यसैले पनि विक्की र कट्रिना आफ्नो विवाहको भिडिओ सामाजिक सञ्जालमा पहिला नै भाइरल नहोस् भन्ने चाहेका हुन् । यसका लागि उनीहरूले विवाहमा उपस्थित अतिथिलाई पनि भिडिओ नखिच्न आग्रह गरेका थिए । उनीहरूको विवाहमा मोबाइल लैजानसमेत प्रतिबन्ध लगाइएको थियो । कट्रिना-विक्कीको विवाहको दृश्य अमेजनले अर्को वर्ष सार्वजनिक गर्नेछ ।
हनिमुन सारेर छायांकनको तयारी
विवाहको दोस्रो दिन आज १० डिसेम्बरमा कट्रिना र विक्की कौशल रणथंभौरबाट डबल इन्जिनको हेलिकप्टरमा जयपुर विमानस्थलमा अवतरण हुनेछन् । त्यसपछि अर्को उडान लिएर मुम्बई फर्किने छन् । यो जोडीले आफ्नो हनिमुनलाई केही पछि सारेर चलचित्र छायाङ्कनमा सरिक हुने बताइसकेको छ ।