नेपालमा सेवा विस्तार गर्न अल्ट बालाजीको सहकार्य टेलिनेटसँग

काठमाडौँ । लोकप्रिय भारतीय ओटीटी प्लेटफर्म अल्ट बालाजीले नेपाली बजारमा आफ्नो सेवा प्रवद्र्धन र वितरण गर्न टेलिनेट प्रालिसँग साझेदारी गरेको छ । नेपालमा यसको प्रवद्र्धन र वितरण टेलिनेट प्रालिले सुनिश्चित गर्नेछ । डिजिटल वालेट, टेलिकम अपरेटर र पेमेन्ट गेटवे जस्ता स्थानीय बिलिङ च्यानलहरुमार्फत भुक्तानी गरी प्रयोगकर्ताले घरमै बसेर आनन्द लिन सक्ने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार अल्ट बालाजीमा रहेको रोमाञ्चक कार्यक्रमहरु हेर्न चाहने नयाँ प्रयोगकर्ताका लागि यो सहकार्य महत्वपूर्ण मानिएको छ । टेलिनेट प्रालि अल्ट बालाजीको एक आधिकारिक–पुनः विक्रेता हो । यसको माध्यमबाट प्रयोगकर्ताले एकल प्लेफर्ममा सबै ओरिजिनल, वेब सिरिज, चलचित्र र अन्य सामाग्रीमा निरन्तर पहुँच पाउनेछन् ।

प्रयोगकर्ताले यी सामाग्रीहरु मोवाइल, ल्यापटप, स्मार्ट टीभी र एण्ड्रोइडमा हेर्न सक्नेछन् भने कुनै एक सदस्यले पाँचवटासम्म प्रोफाइल बनाउन सक्नेछन् । साथै, नेपाली प्रयोगकर्ताले www.gfsarena.com/Altbalaji मा गएर ई–सेवा, खल्ती, आइएमई पे र सेल पे जस्ता डिजिटल वालेटहरु प्रयोग गरी सदस्यता लिन सक्नेछन् ।

टेलिनेटको प्रमुख कार्यकारी अधिकृत नभंकर सुद भन्छन्– ‘मनोरञ्जनमा रमाउनेका लागि ओटीटी प्लेटफर्म अहिलेको नयाँ लहर हो । विभिन्न व्यापार मोडलमार्फत प्रयोगकर्तालाई मनोरञ्जनका सामाग्रीमा निर्बाध पहुँच प्रदान गर्ने हाम्रो रणनीतिले नेपाल बजारका लागि सहकार्यमा नयाँ आयाम सुनिश्चित गर्नेछ भने अल्ट बालाजीले नेपाली दर्शकका लागि निरन्तर उच्च गुणस्तरको आकर्षक सामग्री प्रवाह सुनिश्चित गर्नेछ ।’

रमेश कर्पको सहायक कम्पनी टेलिनेट प्रालि एक स्थापित आइटी कम्पनी हो । ८९ भन्दा धेरै भारतीय ब्लकबस्टर ओरिजिनल रहेको अल्ट बालाजीले दर्शकलाई मनोरञ्जनको दैनिक खुराक प्रदान गर्दछ । दर्शकको विविध स्वाद अनुसारको विभिन्न विधाका सामाग्रीहरु यस प्लेटफर्ममा हेर्न सकिने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *