पर्यटन प्रवर्द्धनका लागि सुदूरपश्चिममा साइकल यात्रा हुने
धनगढी । पर्यटन प्रवर्द्धनका लागि सुदूरपश्चिममा पर्यटन साइकल यात्रा गरिने भएको छ । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको पर्यटन विकास कार्यक्रम कार्यान्वयन इकाईको आयोजनामा आगामी पुस ३ गतेदेखि ५ गतेसम्म सुदूरपश्चिम पर्यटन साइकल यात्रा २०७८ हुन लागेको हो ।
मन्त्रालयले शुक्रबार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै साइकल यात्रा आयोजनाबारे जानकारी दिएको हो । ७० जनाभन्दा बढी साइकल यात्रीहरु प्रदेश बाहिरबाट आउने र ३० जना बढी सुदूरपश्चिमकै यात्री गरेर एक सयभन्दा बढी यात्रीले साइकल यात्रामा सहभागिता जनाउने पर्यटन विकास कार्यक्रम कार्यान्वयन इकाईका प्रमुख भोजराज पाठकले बताए ।
उनले भारतको उत्तर प्रदेश, उत्तराखण्ड र पटना, बरेलीलगायतबाबाट साइकल यात्रीहरू धनगढी आउने जानकारी दिए । नेपालको काठमाडौँ, पोखरा, नेपालगन्ज दाङलगायतबाट साइकल यात्रीहरू सहभागी हुने अपेक्षा गरिएको उनले बताए ।
उनका अनुसार साइलक यात्रालाई दुई भागमा विभाजन गरिएको छ । जसअनुसार पहिलो दिन धनगढीदेखि अत्तरियासम्म साइकल यात्रा गरिनेछ‚ जसमा जोसुकैले पनि सहभागिता जनाउन सक्नेछन् । दोस्रो चरणमा धनगढीदेखि जोरायलको बुडरसम्मको यात्रा हुनेछ । तीन दिनसम्म हुने यात्रामा देश भित्र र बाहिरबाट आएका साइकल यात्रीहरूले सहभागिता जनाउनेछन् ।
साइकल यात्राले यहाँको पर्यटन प्रवर्द्धनमा ठूलो टेवा पुर्याउने पर्यटन विकास कार्यक्रम कार्यान्वयन इकाई प्रमुख पाठकले बताए । उनले साइकल यात्रा तराई, चुरे पहाड र उच्चो पहाडसम्म हुने भएकाले यसले यहाँको प्रकृतिको पनि अवलोकन गर्न सकिने बताए ।
‘साइकल यात्रामा देशभित्र र बाहिरका थुप्रै साइकल यात्रीहरू आइरहेका छन्,’ उनले भने, ‘साइकल यात्रामा सहभागी हुने हरेकले सुदूरपश्चिम प्रदेशको भौगोलिक छटाको पनि अवलोकन गर्न पाउनेछन् । यसले यहाँको पर्यटन विकासमा भूमिका खेल्छ ।’ उनले यहाँ सहभागिता जनाउन आउने यात्रीहरू बडिमालिक, खप्तडलगायतका पर्यटकीय क्षेत्रमा जान इच्छुक रहेको बताए ।
नेपालमा पहिलो पटक नेपाल र भारतबाट ठूलो संख्यमा साइकल यात्री ल्याएर कार्यक्रम आयोजना गर्न लागिएको फारवेस्टर्न राइडरका अध्यक्ष भरतविक्रम शाहले जानकारी दिए । साइकल यात्रामा करिब चार लाख रुपैयाँ लागत अनुमान गरिएको छ ।