कांग्रेस महाधिवेशन:

मनोनयनको समय शुरू, नेताहरूबीच सहमति अझै जुटेन

काठमाडौँ । नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत शनिवार (आज) दोस्रो दिनको बन्दसत्रको कार्यक्रम जारी छ । कांग्रेसको निर्वाचन समितिले आज बिहान १० बजेदेखि ५ बजेसम्म मनोनयन दर्ताका लागि समय छुटाएको छ । यो समयसीमाभित्र कांग्रेसको पदाधिकारीका आकांक्षी नेताहरूले आफ्नो उम्मेदवारी दर्ता गर्न सक्छन् ।

तर, मनोनयनको समय शुरू भइसक्दा पनि नेताहरूबीच भने सहमति जुटेको छैन । अन्य पदाधिकारीहरूको त कुरै छोडौँ, नेताहरूबीच सभापतिको उम्मेदवार को भन्नेबारे पनि सहमति जुटिसकेको छैन । खासगरी यो समस्याले संस्थापनइतर पक्षलाई गिजाेलेकाे छ । पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्वमहामन्त्री प्रकाशमान सिंह, महामन्त्री शशांक कोइराला र केन्द्रीय सदस्य डा. शेखर कोइरालाबीच को सभापतिको उम्मेदवार बन्ने भन्नेबारे सहमति जुटेकाे छैन ।

रामचन्द्र र शशांक जसरी भएपनि सहमति जुटाएर साझा उम्मेदवार तय गर्नुपर्ने निष्कर्षमा पुगेका छन् भने प्रकाशमान र शेखर बरु एक्लाएक्लै भएपनि उम्मेदवार बन्ने ‘लाइन्’ मा देखिन्छन् । ‘साझा उम्मेदवार तयार नगरे हारिन्छ’ भन्ने बकैदा विश्लेषण गरेको इतर पक्ष साझा उम्मेदवार तय गर्नमा भने चुकिरहेको छ ।

साझा उम्मेदवार चुन्ने अन्तिम प्रयासस्वरूप अहिले नेताहरू रामचन्द्रनिवास बोहराटारमा बसिरहेको छन् । नेता गुरु घिमिरले भने, ‘सहमति खोज्दै हामी बसिरहेका छौँ । कुरा सकारात्मकतातिर जान खोज्दै छ । आशा छ हामीले सकारात्मक रीजल्ट निकाल्नेछाैँ ।’

संस्थापन पक्षमा पनि समस्या ज्यूँका त्यूँ छ । सभापतिमा दोहोरिने पक्का भइसकेका बहालवाला सभापति शेरबहादुर देउवालाई उनकै टीमका उपसभापति विमलेन्द्र निधिले चुनौती दिएका छन् । दुई महिनाअगावै सभापतिको उम्मेदवारको हैसियतमा सम्पर्क कार्यालय खडा गरेर आफूले ‘ब्याक गियर’ नलगाउने सन्देश देउवालाई दिएका उनी पनि कुनै पनि हालतमा पछाडि नहट्ने बताएका छन् ।

यद्यपि उनले सर्वसम्मतिबाट रामचन्द्र पौडेल सभापति बनाइए आफू ‘ब्याक’ हुने भने बताएका छन् । उनले भनेका छन्, ‘पार्टी बाहिर र भित्रै पनि राम्रो सन्देश पनि जान्छ । उहाँ (पौडैल) लाई सर्वसम्मतिबाट सभापति बनऔँ ।’ निधिको यो सुझाव र प्रस्तावलाई देउवाले टेरपुच्छर लगाएका छैनन् । यसाे हुँदा झनै समस्या घट्नुकाे साटाे बढेकाे बढ्यै छ ।

जसै देउवा र निधि दुवै सभापतिको उम्मेदवार बन्ने सम्भावना बढेको नेताहरू नै स्वीकार्छन् । निधिनिकट एक नेता भन्छन्— ‘सहमतिमा जाउँ भन्दा नमानेपछि के गर्नु र आफूले पनि आफूलाई सुरक्षित त गर्नैपर्‍याे नि ।’ देउवालाई आफ्नो टीम खडा गर्नुपर्ने चुनाैती पनि छ । खासगरी सभापतिपछिको कार्यकारी पद महामन्त्रीमा नेताहरूबीच रस्साकस्सी देखिन्छ । २ महामन्त्रीका लागि संस्थापन पक्षबाटै ५/६ जनाले दाबी गरिरहेका छन् ।

उता तेस्रो धार कृष्णप्रसाद सिटौला पक्ष पनि आन्तरिक छलफलमा जुटेको छ । यसअघि सिटौलाले संस्थापन पक्षलाई नै साथ दिने बताइए पनि यसबारे अझै छलफल भइरहेको नेताहरूले बताएका छन् । एक नेताले मकालुखबरसँग भने, ‘कुरा त त्यही हाे । तर, अझै छलफल चाहिँ भइरहेको छ । अन्तिममा गएर निर्णय अर्कै पनि हुनसक्छ ।’

यसरी नेताहरूबीच अन्योलता बढिरहेको छ । निर्वाचन समितिले मनोनयनका लागि भनेर तोकेको समयसीमा शुरू भइसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *